राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेका छन्।
पत्राचार गर्नेहरूमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ छन्।
उनीहरूले सोमबार छुट्टाछुट्टै पत्र लेखेर आ-आफ्नो सम्पत्ति विवरण नेपाली नागरिक र सञ्चार माध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन्।
उनीहरूको पत्रको बेहोरा छ, '...मन्त्रीका रूपमा नियुक्त भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मैले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु।'
सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक नभएकाले उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेको रास्वपाले जनाएको छ।