नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन्।
मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए।
उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए।
उनले बैठकले आगामी संसदको बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताए।
उनले भने, ‘२८ गतेदेखि संसद बैठक आरम्भ हुँदैछ। त्यो बैठकलाई प्रारम्भदेखि नै व्यवस्थित र प्रभावकारी ढंगबाट सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी बैठकहरू व्यवस्थित ढंगले चलाउने संकल्प गर्ने लगायका विषयवस्तुहरू उठेका छन्। नेपाली कांग्रेसले केही विषयहरू राखेका छन्। कांग्रेसले राखेका विषयवस्तुहरू किन न्यायोचित छैन भने उहाँहरू अमुक व्यक्ति विशेष गरी गृहमन्त्री लक्षित गरी मात्रै समितिको कुरा राख्नुभएको छ, त्यो कुरा सम्भव छैन, समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत् काम गर्ने कुरा अस्वीकार्य छैन।’
उनले अगाडि भने, ‘फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिकेन्द्रित गरिएको छ, त्यसमा हाम्रो सहमति छैन। अरूलाई निषेध गर्ने तरिकाबाट उहाँहरूले प्रस्तुति दिइराख्नुभएको छ। पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली कांग्रेसलाई सुन्न मन छैन होला तर नेकपा एमालेलाई सत्य के हो सुन्न मन छ।’
उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए। —न्युज एजेन्सी नेपाल