जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूमाथि पार्टीका अन्य व्यक्तिलाई सांसद र मन्त्री दिएन भन्ने निराधार आरोप लगाइएको बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आफूमाथि कुरा नसुनेको र पद नदिएको भन्ने आरोप निराधार भएको बताएका हुन्।
' पार्टीमा केही बोलेका छैनन्। मिडियामा पनि आएको छैन। के सुन्ने हो,' उनले भने, ' म नभएको बेला कुरा कसले सुन्दिने? कार्यबाहक अध्यक्ष दिएर गएका उहाँले पो अरूले सुन्ने, हल गर्ने त।'
पार्टीका नेताहरूलाई आफूले सांसद र मन्त्री पनि बनाइदिएको यादवले बताए।
'मन्त्री बनाइदिएको हो। सांसद पनि बनाइदिएको हो। के बनाउन सक्ने थिएँ र नबनाइदिएको हो,' उनले भने।
यादवले मान्छेको महत्वकांक्षा र व्यक्तिगत स्वार्थ कहिल्यै पूरा गर्न नसकिने बताए। 'अतृप्त आत्माहरूलाई एकट्ठा गरेर पार्टी बन्दैन,' उनले अगाडि भने।
यादवले निर्वाचन आयोगमा गराइएको पार्टी दर्ता गलत रहेको बताउँदै त्यसको कानुनी रूपमा प्रतिवाद गर्ने जानकारी दिए।