कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गर्दै प्रतिपक्षी दलहरूले प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।
उनीहरूले अहिले प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्।
‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ,‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’
पत्र बुझिसकेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आफू संविधान, ऐन र कानुन अनुसार अघि बढ्ने बताएका छन्।
‘माननीय ज्यूहरूले दिनुभएको पत्र प्राप्त गरेँ। हामीले ऐन कानुन अनुसार अध्ययन गर्छौं। यसको हामी अध्ययन गर्न संविधान ऐन कानुन अनुसार अघि बढ्छौं,’ उनले भने, ‘यसको अध्ययन गर्नुपर्ने भएकाले माननीय ज्यूहरूलाई चिया पनि नखुवाइ अहिले बिदा गर्छु।’
उनीहरूले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको पत्र पनि प्रदेश प्रमुख खापुङलाई बुझाएका छन्।
त्यसअघि उनीहरूले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए/नलिएको जानकारी मागेका थिए।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले सभामुख अम्बरबहादुर विष्टलाई संयुक्त पत्र लेखेर जानकारी मागेका हुन्। बुधबार बिहान पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर एमाले-माओवादीका नेताहरूले सरकार गठनको प्रक्रिया सुरू गर्न आग्रह गरेका थिए।
जबाफमा खापुङले अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए/नलिएको आफूले थाहा नपाएको र प्रदेश सभाबाटै त्यसको जानकारी हुनुपर्ने बताएका थिए।
त्यसपछि कार्की र आङ्बोले सभामुखलाई संयुक्त पत्र लेखेर गत वैशाख ७ गते प्रदेश सभाले पारित गरेको संकल्प प्रस्तावको निर्देशन अनुसार मुख्यमन्त्री केदार कार्कीले ३० दिन भित्रमा विश्वासको मत लिए/नलिएको जानकारी गराउन माग गरेका थिए।
जबाफमा सभामुख विष्टले मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्म विश्वासको मत पाऊँ भनी कुनै पनि प्रस्ताव नगरेको जानकारी उनीहरूलाई पत्रमार्फत् नै दिएका थिए।
कोशीमा एमाले र माओवादीले गत चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।