सरकारले प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापना गरेको हो।
सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन्।
सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको पनि बताइन्।
उनले भनिन्, ‘प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने र पदस्थापना गर्ने निर्णय भएको छ।’
समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने, भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन्।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय भएको समेत उनले बताइन्।
सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ।—न्युज एजेन्सी नेपाल