नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नोटमा नेपालका नक्सा छाप्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपतिका सल्लाहकारबाट राष्ट्रियताको सवालमा अत्यन्तै खेलवाडपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका हुन्।
‘नेपालले आफ्नो नोटमा नेपालको नक्सा छाप्छ भन्ने एउटा खबर आयो। नेपाल सरकार र नेपालले आफ्नो नोटमा नेपालको नक्सा छाप्छ।अर्को देश कराएको छ! किन कराएको अर्को देश?,’ उनले भने, ‘नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको देशको त छापेको होइन। किन करायो होला भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू अर्को देशका कराएकाहरूसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर।’
अध्यक्ष ओलीले राष्ट्रपतिले कसका मानिसलाई जागिर खुवाएर राखेको भन्दै प्रश्न गरेका छन्।
‘यस्तै मानिस राष्ट्रपतिले राखेर तिनकै सल्लाहअनुसार....! नेपाल देशले नेपालकै नोटमा नेपालको नक्सा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, अर्को देशले कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरू उफ्रिन्छन् भने, यो तमासा होइन? त्यस्ता मानिस राष्ट्रपतिले राख्न मिल्छ? यो प्रश्न हामीले संसदमा गम्भीरताका साथ उठाउँछौं,’ उनले भने।
उनले यसबारे सरकारले जवाफ दिनुपर्ने बताए।
‘सरकार, प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ कि, राष्ट्रपतिले आफैं जवाफ दिनुहुन्छ कि? सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ कि! नेपाल सरकारले आफ्नो गुमेको भूभाग समेटेर नक्सा छाप्यो। त्यसलाई संविधानको अंग बनायो, त्यो नक्सा हाम्रो नक्सा हो। नेपालको नोट हाम्रो नोट हो। हामीले धरौटी धितो राखेर छाप्छौं। अनधिकृत कागजको खोस्टो होइन। त्यसमा हामी आफ्नो देशको नक्सा आफ्नो नोटमा राख्छौं। नेपालको नक्सामा नेपालको नोट छापिने भो भनेर राष्ट्रपति कार्यालय कराउँछ। कस्तो राष्ट्रपति? कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार? के भएको, हामी नेपालीहरू ट्वाँ परेर हेरेका छौं। यस्तो पनि हुन्छ?’
उनले राष्ट्रिय भावनामा यतिसम्म न्यूनतम वा विद्वेष भएकाहरू राष्ट्रपति निवासमा बसेर त्यहाँ गुँड बनाएको भन्दै कटाक्ष गरे।
‘राष्ट्रपतिले सुन्नुभएको छ कि छैन? सुन्नुभएको छैन भने सुन्नुस्, यो साधारण कुरा होइन,’ उनले भने।
राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार नेपालले भारतीय सञ्चार माध्यमहरूसँग नेपालले नयाँ नोटमा लिपुलेक सहितका भूभाग समेटेर छापिएको नक्सा राख्नुलाई उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए।
यस्तो अभिव्यक्तिको विरोध भएपछि नेपालले आफूले राष्ट्रपतिको सल्लाहकारको भूमिकामा नभई राष्ट्र बैंकका पूर्वगभर्नरको हैसियतमा प्रतिक्रिया दिएको बताएका थिए।