बिहीबार दिउँसो २ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।
नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन कसरी गर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सभामुखले दुई चरणमा प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख घिमिरेसँगको छलफलमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गर्न दिने र आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्न दिने कार्यक्रम तथा नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ।
सभामुखले सत्ता पक्षका प्रमुख सचेतकहरूसँग पनि छलफल गर्दैछन्। यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।
कांग्रेसले आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर अन्य नेताहरूलाई बोल्न नदिने नीति अख्तियार गरेको छ।
गृहमन्त्रीको जवाफ सुन्ने र लगत्तै संसदीय छानविन समिति माग गरेर अवरोध गर्ने नीति अख्तियार गर्न लागेको छ। तर सभामुख घिमिरे भने अधिवेशन सुरु भएको दिन भएकाले सबै दलका तर्फबाट एक जनालाई बोल्न दिनुपर्ने पक्षमा छन्।
कांग्रेस सांसद रामहरि खतिवडाले रवि लामिछानेमाथि छानबिनका लागि पर्याप्त प्रमाण भएकाले संसद बैठकमा आफूहरुले प्रमाण पेस गर्न लागेको बताए।
'अन्य व्यक्तिलाई किन बोल्न दिनुपर्यो, गृहमन्त्रीको सहकारी प्रकरणमा संलग्नताबारे ढाकछोपको प्रयास हुने देखिन्छ', खतिवडाले भने, 'हाम्रो माग संसदीय छानबिन समिति हो।'
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि को बोल्ने/नबोल्नेभन्दा पहिला सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागमा सहमति नभए सदन अवरुद्ध हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए।