उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता देखिए राजीनामा दिने बताएका छन्।
शुक्रबार सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कागजात देखाउँदै गृहमन्त्री लामिछानेले सहकारीबाट निवेदन दिएर ऋण लिएको बताएका थिए। सोही भनाइलाई चुनौती दिँदै संसदबाहिर गृहमन्त्री लामिछानेले उक्त कुरा प्रमाणित गरे राजनीति छोड्ने बताएका हुन्।
'मैले कुनै ऋण माग्नका लागि निवेदन दिएको प्रमाण छ भन्नुभएको छ नि,' गृहमन्त्री लामिछानेले भने, 'यदि त्यो प्रमाण भए म राजनीति छोडिदिन्छु, यदि त्यो प्रमाणित गर्न सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ।'
यस्तै, संसदीय समिति बनाउन कुनै ठूलो कुरा नभएको तर त्यसको लागि प्रमाण दिनुपर्ने उनको भनाइ थियो। संसदीय समिति बनाउनुपूर्व सदनमा आफ्नो कुरा राख्न पाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो।
'संसदीय समिति पनि बनाउने, उहाँले त्यसमा सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाणित गरिदिनुपर्यो,' उनले भने, 'नेपाली जनताको अदालतमा उभिऔं र दुई जनाकै राजनीति दाउमा लगाऔं।'