भञ्ज्याङमा उभिएर दक्षिणतर्फ हेर्दा राप्ती नगरपालिकाको वडा नम्बर १२ र उत्तरतर्फ वडा नम्बर १३ को ठूलो भाग देखिएको थियो। भण्डारा–मलेखु चेपाङ मार्गको छेउमा गाडिएका बिजुलीका पोल देखिन्थे।
प्रेमबहादुर ग्लान भञ्ज्याङस्थित आफ्नो पसलको पेटीमा बसेर केही व्यक्तिसँग गफ गरिरहेका थिए।
अघिल्लो दिन वडा नम्बर १३ को कान्दा गाउँमा बसेपछि हामी भरतपुर फर्किदै थियौं। सडक बनेपनि नियमित सवारी साधन नचल्ने भएकाले हिँडेर भञ्ज्याङ आइपुग्न करिब ६ घन्टा लागेको थियो।
‘बिजुली भएको भए फ्रिजको चिसो पानी दिन हुन्थ्यो, यो बाह्र बजेको घाममा धारोमा पनि तातो पानी आउँछ,’ हामी थाकेको देखेर ग्लानले कुरा सुरू गरे, ‘घर अगाडि पोल गाडेको, तार टाँगेको दुई वर्ष हुन लागिसक्यो। बत्ती बाल्न पनि पाएको छैन। यो किन गाढेको रहेछ थाहा पाउन सकेका पनि छैनौं।’
२०८० सालको वैशाख १ गते राप्ती–१२ को यौरालीटार र वडा नम्बर १३ को कालिटारका पोलहरूमा बत्ती बलेको देख्दा यस क्षेत्रका बासिन्दा बेस्सरी खुसी भएका थिए। कालिटारका दुई र यौरालीटारको एउटा पोलमा बत्ती बालिएको थियो। बत्ती बाल्न आएका अतिथिहरूलाई स्थानीयबासीले चिउरीको पातका माला लगाएर स्वागत गरेका थिए।
चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि ढकालले पोलमा झुण्डिएको स्विच थिच्दा बत्ती बलेपछि स्थानीयले खुसीले ताली बजाएका थिए।
‘इतिहासमा नै पहिलो पटक राप्ती नगरपालिकाको वडा नम्बर १३ कालिटारमा बिजुली बत्ती बाल्दै हामीले आज नयाँ वर्ष २०८० मनायौं। आज चितवन जिल्लाको राप्ती नगरपालिकाको वडा नम्बर १३ को सिंगो वडामा पहिलो पटक बिजुली बत्ती बलेको छ। म गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित हुने बितिक्कै अहिलेसम्म बिजुली बत्तीसमेत नपुगेको र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको चितवनकै सबैभन्दा विकट वडामा २०८० वैशाख १ गते बत्ती बाहल्न म लाग्नेछु भनेको थिएँ। त्यसपछि लामो समयदेखि रोकिएको आयोजनालाई द्रुत गतिमा अघि बढाउन मैले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ज्यूसँग छलफल गरेर उक्त कार्य अघि बढाइयो र करिब ४ महिनामा हामी कालिटारमा बिजुली बाल्न सफल भयौं। यो कार्यमा महत्वपूर्ण योगदान दिनुहुने पार्टीका साथीहरू र नेपाल विद्युत प्राधिकरण रत्नननगर वितरण केन्द्रका कर्मचारी साथीहरूलाई विशेष धन्यवाद,’ पोलमा बिजुली बलेको दिन सांसद ढकालले फेसबुकमा लेखेका थिए।
बत्ती बालेर उनी गाउँबाट फर्किए। करिब एक घन्टापछि पोलको बत्ती निभ्यो। त्यसपछि कहिल्यै बलेन।
‘पोलमा बत्ती बलेको दिन त हामी बेस्सरी खुसी भएका थियौं नि। तर त्यो खुसी एक दिन पनि टिक्न पाएन,’ ग्लानले भने, ‘यही पोल र तार हेर्ने अन्धकारमा बस्ने भएको छ।’
एकछिन पोलमा बत्ती बालेर विद्युत प्राधिकरण र जनप्रतिनिधिले आफूहरूलाई झुक्याएको गुनासो स्थानीयबासी गर्छन्।
‘कालिटारसम्म बत्ती आएपछि अब बिस्तारै हाम्रो गाउँतिर पनि आउला भन्ने आशा पलाएको थियो तर उद्घाटनका लागि एक छिन बालेर बन्द भएको बत्ती यत्रो समयसम्म बलेको छैन,’ राप्ती–१३ कान्दाका कृष्णबहादुर प्रजा भन्छन्, ‘हाम्रो गाउँमा त हाम्रो पालामा बत्ती आउन्न होला।’
यस विषयमा जिज्ञासा राख्दा विद्युत प्राधिकरण रत्ननगर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीले उक्त क्षेत्रमा अझै २ वटा ट्रान्सफर्मर राख्न बाँकी रहेको बताए।
उनकाअनुसार राप्तीका वडा नम्बर १०, १२ र १३ मा विद्युतीकरणको ठेक्का जनमुखी कन्स्ट्रक्सनले पाएको थियो। ठेकेदारले काम ढिलो गरेपछि प्राधिकरणले ताकेता गरेर नयाँ वर्षमा पोलमा बत्ती बाल्न मिल्ने बनाएको थियो।
‘विकट क्षेत्र भएकाले त्यो बेलाको टेण्डरले १०, १२ र १३ नम्बर वडामा पूर्ण विद्युतीकरण गर्न सकिएन। ठेकेदार भागिसकेको थियो। फकाइ–फकाइ ल्याएर काम गराइयो। ठेकेदारले अझै २ वटा ट्रन्सफर राख्नै बाँकी छ। त्यो पनि छिटो लगेर जडान गर भनेको छौं,’ प्रमुख चौधरीले भने, ‘त्यो बेलाको टेण्डरको कामले त्यस क्षेत्रमा पूर्णरूपमा बत्ती बल्दैन भन्ने हामीले सर्भे गरेर देखिसक्यौं।’
उक्त क्षेत्रमा पूर्ण विद्युतीकरणका लागि भनेर फेरि ११ करोड रूपैयाँको स्टिमेट तयार पारेर केन्द्रमा पठाएको चौधरीले बताए। यस आर्थिक वर्षभित्रमा बजेट विनियोजन भयो भने आगामी वर्ष टेण्डर गरेर विद्युतीकरणको काम सुरू गर्ने उनले बताए।
‘हामीले स्टिमेट गरेर पठाइसकेका छौं। प्राधिकरणका एमडीको तोक लागेको छ। अर्थ विभागमा फाइल पुगेको छ,’ चौधरीले भने, ‘मैले जनप्रतिनिधिहरूलाई पनि भनेको छु कि तपाईंहरूको पहुँच एमडी सरसँग छ भने कुरा गर्नुहोला। त्यसो भयो भने काम छिटो हुन्छ। बजेट आयो भने गाउँमा पूर्ण विद्युतीकरण गरेर बत्ती बाल्न सकिन्छ।’
त्यसो भए एक छिन बत्ती बालेर स्थानीयलाई किन आशा देखाउनुभयो?
हाम्रो प्रश्नमा प्रमुख चौधरीले पोल गाडिएको ठाउँबाट नजिकका परिवारलाई मिटरबक्स राख्न आग्रह गरे पनि उनीहरूले नराखेको दाबी गरे।
‘लाइन बनेकै थियो। पुरै काम नसकिए पनि बत्ती बल्ने बनाएका थियौं। हामीले पोल नजिकका परिवारलाई प्राधिकरणमा पैसा बुझाएर मिटरबक्स लिनुहोला भनेका थियौं तर उहाँहरूले लिनुभएन,’ उनले भने, ‘मिटर नै नलिएपछि बत्ती बालिराख्न जरूरी भएन।’
यौरालीटारका अक्कलबहादुर तामाङले भने मिटरबक्स जोड्दा पनि प्राधिकरणले पोलबाट मिटरबक्ससम्म लाइन नजोडिदिएको बताए।
‘कोहीले मिटरबक्स जोड्ने बारे जानेनन् होला, कसैले तत्काल जोड्न चाहेनन् होला तर हामी जोडेकाले पनि त बत्ती पाल्न पाएनौं नि,’ मिटरबक्स देखाउँदै उनले भने, ‘ऊ त्यहाँ मिटर बक्स हेर्नुस्। अनि भित्र फ्रिज हेर्नुस्। लाइन आउँछ बाह्रैमास अनि फ्रिज चल्छ भन्ने आशा गरेको कामै लागेन।’
यौरालीटारमा लोथर खालाबाट निकालिएको लघु जलविद्युतबाट करिब एक सय घरले बिजुली बालिरहेका छन्। तर त्यहाँको बिजुली रातिमात्रै बल्छ। हिउँदा खोलामा पानी कम हुने र भएको पानी पनि घट्टको लागि प्रयोग हुने भएकाले कम क्षमतामा विद्युत उत्पादन हुन्छ।
तामाङले एकछिन बिजुली बालेर हिँडेका जनप्रतिनिधि र विद्युत प्राधिकरणका कर्मचारी त्यसपछि फर्किएर नआएको बताए।
‘भोट फकाउने बेलामामात्रै विकासको कुरा गर्छन्। त्यसपछि नाकमुख देखाउँदैनन्,’ तामाङले भने, ‘पुराना दलको परा देखेर वाक्कै भएपछि गत चुनावमा नयाँलाई दिउँ न त भनेर दिएको थिएँ, अहिले बेकार लागिरहेको छ।’
राप्ती–१३ का वडाध्यक्ष अशोक प्रजाले सांसद हरि ढकालको जसरी पनि पोलमा बत्ती बाल्ने योजनाअनुसार गत वर्षको वैशाखमा उद्घाटन गरिएको बताए। कम्तिमा पोल भएबाट नजिकका घरहरूमा मिटरबक्स जडान गरेपछिमात्रै उद्घाटन गरौं भन्दा नसुनेर पोलमा बत्ती बालेर उद्घाटन गरिएको उनी बताउँछन्।
‘कालिटारमा १५–२० घर छन्। कम्तीमा यी घरमा मिटरबक्स जोडेपछि त्यहाँ बत्ती बालेर उद्घाटन गरौं न भनेको थिएँ तर उहाँहरूले हतार गरेर उद्घाटन गर्नुभयो। त्यो कुरामा चित्त नबुझेर म पोलको बत्ती बाल्ने कार्यक्रममा सहभागी पनि भइनँ। हतार हतारमा ट्रान्सफर्मरको चार्जले बत्ती बालेर, फोटो खिचेर हिँड्नुभयो,’ वडाध्यक्ष प्रजाले भने, ‘उहाँहरूले एकछिन बत्ती बालेर आफ्नो सपना पुरा गर्नुभयो। जनताको सपना त उस्तै छ।’
उक्त क्षेत्रमा धादिङतिरबाट पनि विद्युतीकरण भइरहेकाले कताबाट मिटरबक्स लिने भन्ने विषयमा पनि अन्योल रहेको प्रजाले बताए।
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले वैशाख १ गते उद्घाटन गर्न हतार हतार पुरानो ट्रान्सफर्मर राखिएको जानकारी पाएको बताए।
‘किन त्यस्तो गरियो भन्ने कुरामा म धेरै बोल्दिनँ। संघीय सरकारको योजनामा भएको काम भएकाले म यो विषयमा धेरै बोल्न चाहिनँ,’ लामाले भने।
सांसद हरि ढकाल भने उद्घाटनमा आफू जोडिएका कारण स्थानीय तहले सहयोग नगर्दा घरहरूमा बिजुली बल्न नसकेको दाबी गर्छन्। विजयी भएपछि लगातारको प्रयासले कालिटारसम्म विद्युत लाइन पुगेको तर वडाध्यक्षहरूले विपन्न स्थानीय बासिन्दालाई मिटरबक्स जडानमा प्रेरित नगरिदिँदा घरहरूमा बत्ती बल्न नसकेको दाबी उनको छ।
‘१२ किलोमिटर सडकमा बिजुलीका पोलहरू असरल्ल थिए। मैले नै पहल गरें। रत्ननगरको विद्युत प्राधिकरणका प्रमुख पनि निकै लाग्नुभयो। लाइन पुगेपछि घर–घरमा पुगेर मिटरबक्स राख्न आग्रह त स्थानीय तहले पनि गर्नुपर्थ्यो होला नि,’ ढकालले भने, ‘म जोडिएका कारण उहाँहरूले सहयोग गर्नै चाहनुभएन। मलाई त वडा नम्बर १३ बाट एक भोट पनि आएको थिएन। तैपनी यो विकट वडा हो यहाँका लागि मैले नै गर्नुपर्छ भनेर मन देखि काम गरेको थिएँ।’
उनले उक्त क्षेत्रबाट १५ वर्ष लगातार सांसद बनेकाले नगरेको काम गर्न आफूले अहिले पनि प्रयास गरिरहेको दाबी गरे।
‘मेरो क्षेत्रमा सबैभन्दा बढी पहाडी क्षेत्रलाई नै गर्नुपर्नेछ। चितवनको कर्णाली जस्तो लाग्ने दूरदराजका गाउँमा पूर्ण विद्युतीकरणका लागि बजेट ल्याउन मैले प्रयास गरिरहेको छु। म इमान्दार कोसिस गर्छु,’ उनले भने, ‘बजेटका लागि मैले प्रधानमन्त्री ज्यूलाई पनि भनेको छु। तर यसपाली बजेटको कन्त विजोग छ। कति ल्याउन सकिन्छ थाहा छैन। केही क्रमागत बजेट पारेर भने पनि आफ्नो क्षेत्रको लागि काम गर्छु।’
राप्ती–१२ र १३ मा १२ सय भन्दा बढी घरहरू छन्। जनसंख्या करिब ७ हजार रहेको नगरपालिकाको वेवसाइटमा रहेको वार्ड प्रोफाइलमा उल्लेख छ। यी दुई वडामा चेपाङ र तामाङ समुदायको बसोबास बढी छ।