डडेल्धुराका १७ वर्षीय विकास ऐर यू–१९ क्रिक्रेट खेल्न अजयमेरुबाट जोगबुढा आएका छन्।
कञ्चनपुरको झलारीमा बसेर उनले स्थानीय स्तरका खेलहरू धेरै खेलेका छन्। धनगढीको फाप्ला क्रिकेट मैदान र बझाङमा पनि खेलेको उनीसँग अनुभव छ। उनी बलिङ अलराउन्डर हुन्।
विकास अग्रज दाइहरूले राम्रो छ भनिदिएपछि आफू क्रिकेटमा लागेको बताउँछन्। उनले अहिलेसम्म २ वटा प्रदेशस्तरीय खेल खेलिसकेका छन्।
डडेल्धुराको परशुराम नगरपालिकास्थित रंग मैदानमा सञ्चालन हुने वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
नेपाल क्रिकेट संघको सहकार्य र परशुराम नगरपालिकाको समन्वयमा यो प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्र पारिएको हो।
यही प्रतियोगिता खेल्न विकास बन्द प्रशिक्षणमा छन्। उनी डडेल्धुराको टिमबाट प्रतियोगिता खेल्दैछन्।
बन्द प्रशिक्षणमा गाउँघरमा आफै जानेको अभ्यास गर्ने उनीहरूलाई अहिले प्रशिक्षकले सिकाउँछन् र म्यानेजरले सहयोग गर्छन्।
प्रशिक्षकले कसरी बलिङ गरे के हुन्छ भनेर सिकाइरहेको विकास बताउँछन्। सुरूमा उनीहरूले फिटनेशमा ध्यान दिनुपर्ने कुरा उनले सिकिसकेका छन्।
‘अब बलिङ र ब्याटिङ अभ्यास भइरहेको छ। यसबारे थप कुरा सिक्न पाइरहेका छौं,’ उनले भने।
विकास आफू पहिलोपटक टर्फ पिचमा खेल्न लागेको बताउँछन्।
क्षेत्रीय स्तरसम्म पुगेका उनले अहिलेसम्म म्याटमा मात्रै खेलेको उनले बताए।
नेपालमा राष्ट्रिय बाहेकका खेलहरू प्रायः टर्फ पिचमा हुँदैनन्। सुदूरपश्चिमको डडेलधुरामा टर्फमा खेलाउन लागेको प्रदेशस्तरको यो पहिलो प्रतियोगिता हो।
‘टर्फ पिचमा पहिलो पटक खेल्न पाउँदा म आफैलाई भाग्यमानी मानिरहेको छु,’ उनले भने।
उनका अनुसार म्याटमा खेल्दा बल स्कीड भइरहेको हुन्छ। टर्फमा दम लगाउनुपर्छ, यसपटक धेरै आवश्यक कुरा सिक्न मिल्नेमा पूर्ण आशावादी रहेको उनी बताउँछन्।
‘टर्फमा खेल्न पाएपछि करिअरमा सहयोग हुने छ। हामी यता म्याटमा खेलेका हुन्छौं, एक्कासी मूलपानी, टियुमा खेल्न जाँदा हामीलाई त्यसको अनुभव हुदैन। यसरी हामीले टर्फमा अहिलेदेखि खेल्न पायौं भने उता गएर पनि राम्रो खेल्न सहयोग पुग्छ,’ उनले भने।
बन्द प्रशिक्षणको काम पनि यसै मैदानमा भएकोले टर्फ पिच बनाउन उनी र उनका अरू साथीहरू आफै पनि सघाउँछन्। क्यान प्राविधिक संगै अभ्यासका लागि पुगेका उनीहरू पिचमा रोलर तान्ने, पानी हाल्ने जस्ता काममा सहयोग गरिरहेका देखिन्छन्।
सुदूरपश्चिममा क्रिक्रेट खेल्ने खेलाडीहरूको राष्ट्रिय टिममा खेल्ने उनको रहर छ।
८ वटा जिल्लाका सयौं खेलाडी जेठ २० गतेदेखि १३ सम्म दिनसम्म सञ्चालन हुने यू–१९ छनोट खेल खेल्न जोगबुडा आउँदैछन। राष्ट्रिय खेलका लागि छनोट हुन उनीहरू अहिले आ–आफ्नो जिल्ला–जिल्लामा मेहनत गरिरहेका छन्।
नेपाल क्रिक्रेट संघ क्यान सुदूरपश्चिमका अध्यक्ष बासुदेव जोशीले स्थानीय तहको सहयोग पाएपछि पहिलो पटक टर्फ पिच बनाएर पहाडी जिल्लामा क्रिकेट आयोजना गर्न लागेको बताए।
राष्ट्रिय टोलीमा सुदूरपश्चिमका खेलाडीको उपस्थिति राम्रो हुन यस प्रकारका अभ्यास सहयोगी बन्ने उनको अपेक्षा छ।
‘पर्यटकीय क्षेत्रको प्रचार गर्न पनि यस्ता खेलकुदले सहयोग पुगाउने छ,’ उनले भने।
डडेल्धुराको परशुराम नगरपालिकाले यस बर्षदेखि पालिकाको आफ्नै क्रिकेट टोली बनाएको छ।
खेलाडीलाई पालिका स्तरीय प्रतियोगितामा सहभागी गराउने, बन्द प्रशिक्षण दिने गरेको छ।
पहिलो पटक कैलाली प्रिमियर लिगमा सहभागी भएको नगरपालिकाको टोली उपविजेता बनेको थियो। यहाँको रंग मैदानलाई व्यवस्थित पारेर ठूला प्रतियोगिता आयोजना समेत गर्न क्यानसंग सहकार्य गरेको मेयर भरत बडायर जोशीले बताए।
यो प्रतियोगिताको एक दिवसीय फर्म्याटमा खेलाइने छ।
उद्घाटन खेल डडेल्धुरा र दार्चुलाबीच हुनेछ।
सुदूरपश्चिमका ८ जिल्लाका टीमलाई दुई समूहमा विभाजन गरिएको छ।
समुह (ए) मा डडेल्धुरा, डोटी, बैतडी र दार्चुला छन्। समुह बी मा कञ्चनपुर, अछाम, बझाङ र कैलाली छन्।