प्रदेश सरकारहरूको सञ्चालन र गठन प्रक्रियाका सन्दर्भमा ‘प्याकेजमै सहमति चाहिने’ अडान लिएको नेकपा (एकीकृत समाजवादी) मधेस सरकारमा सहभागी बनेको छ। यद्यपि सरकार गठनको महिना दिन भइसक्दा पनि कोशीमा भने उसको ‘पोजिसन’ अन्योलमै छ।
एकीकृत समाजवादी कोशीका सांसदहरू ‘केन्द्रको नेतृत्वले देखाएको सम्झौतापरास्त रवैयाकै कारण’ कोशीमा अन्योल बढेको बताउँछन्।
केन्द्रीय नेतृत्वले अडान नदेखाएकोमा रूष्ट सांसदहरूले पार्टीको महाधिवेशनको मुखैमा नेतृत्वले कमजोरी देखाइरहेको आरोप लगाएका छन्।
‘भन्नलाई केन्द्रले प्याकेजमा सहमति गर्छु भन्ने तर सहमति कार्यान्वयनमा चासो नदेखाउने सम्झौतापरास्त रवैया देखायो,’ एकीकृत समाजवादी कोशीका एक सांसदले भने, ‘सुदूरपश्चिममा एमालेले अड्को थापिरहेको छ। मधेसमा हाम्रो दलले साथ दियो। यही चरित्रले कोशीमा अन्योल बढेको हो।’
ती सांसदका अनुसार सुदूरपश्चिमदेखि मधेस हुँदै कोशीसम्मको अवस्था प्रष्ट नहुँदासम्म मधेस सरकारमा सहभागी हुन नहुने अडान पार्टीले राख्नुपर्थ्यो।
‘तर, खै केन्द्रीय नेतृत्व डराएको हो कि रणनीतिक रूपमा अघि बढेको हो बुझ्नै सकिएन। आफू सहयोगी हुँदै जाने, आफूले चाहिँ सबैतिर असहयोग खेप्दै जाने कुरा सह्य हुनुहुँदैन,’ ती सांसदले भने।
एकातिर पार्टी केन्द्रप्रति सांसदहरू असन्तुष्ट छन् भने अर्कातिर कोशी सरकारका मुख्यमन्त्री हिक्मत कार्कीप्रति पनि उनीहरू सकारात्मक छैनन्।
एकीकृत समाजवादीका नेताहरूले प्रदेश सभामा दिएका अभिव्यक्ति, नीति तथा कार्यक्रमबारे उनीहरूको आलोचनात्मक टिप्पणीले यस्तो देखाउँछ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेताहरूको अभिव्यक्तिले पनि एकीकृत समाजवादी बेगरै एमाले र माओवादी कोशीमा अघि बढ्न चाहेको देखाएको सांसदहरू बताउँछन्।
‘हामीलाई चाहिएको ठाउँमा एमाले सकारात्मक नहुने तर उसको र माओवादीको हकमा भने हाम्रो पार्टी सकारात्मक हुने अवस्था चिर्न नेतृत्व नलाग्दा यस्तो अवस्था आएको हो’, ती सांसदले भने, ‘कसिलो अडान साथ नेतृत्व पेश नहुँदा प्रदेशहरूमा पार्टीको स्थिति अन्योलग्रस्त भयो।’
वैशाख २७ मा कोशीको मुख्यमन्त्री बनेका हिक्मत कार्कीले वैशाख ३१ मा विश्वासको मत लिएका थिए। त्यसबेला एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिएको थियो। त्यसअघि कार्कीलाई मुख्यमन्त्री बनाउने बेलामा भने एकीकृत समाजवादी सहभागी थिएन।
प्रदेश प्रमुखले केदार कार्कीलाई सोझै मुख्यमन्त्रीबाट हटाउने कुरा संवैधानिक नहुने भन्दै एकीकृत समाजवादी सरकार बनाउने प्रक्रियामा सामेल थिएन।
केही दिनअघि कोशीका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले प्रदेश सभामा बोल्ने क्रममा एकीकृत समाजवादीको पोजिसनबारे अन्योल भएको टिप्पणी गरेका थिए। सरकारलाई विश्वासको मत दिएको, समर्थन जनाएको तर विपक्षी लहरमा बसेको भन्दै मन्त्रीले एकीकृत समाजवादीको भूमिकाप्रति असन्तोष प्रकट गरेका थिए।
एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने कोशीमा आफ्नो दलको पोजिसनबारे सरकारको नेतृत्व गरिरहेको एमाले अन्योलमा भएको तर आफूहरू प्रष्ट रहेको बताए।
‘अर्थमन्त्रीले हाम्रो पोजिसनबारे अन्योल भएको कुरा गर्नुभयो, उहाँहरू अन्योलमा परेको कुरा हामीले बुझेका छौं,’ राईले सेतोपाटीसँग भने, ‘तर, हामी अन्योलमा छैनौं। हामी गठबन्धनमा छौं। त्यही भएर विश्वासको मत दिएका हौं, सरकारलाई समर्थन गरेका हौं। अन्योलमा उहाँहरू हुनुहुन्छ किन भनेको भने, नीति कार्यक्रम गठबन्धन दलहरूसित सल्लाह बेगरै आयो। बजेटको तयारी हामीसित सामान्य छलफल नगरी अघि बढ्दैछ। त्यसैले अन्योलमा हामी होइन, उहाँहरू पर्नुभएको छ।’
गठबन्धनमा आएको बद्लावले प्रदेश सरकारहरू फेरिने क्रम जारी छ। यही क्रममा शुक्रबार मधेसमा नयाँ सरकार गठन भएको छ।
जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री बनाउने खेलमा सहभागी बनेर एकीकृत समाजवादीले दुई वटा मन्त्रालय पाएको छ। तर, नयाँ सरकार बनेको महिना दिन बित्दासम्म कोशीमा भने उसको भूमिका अन्योलमै छ।
‘कम्तीमा चाहेर वा नचाहेरै भए पनि आजका मितिसम्म हामी कोशीमा गठबन्धनमै छौं,’ पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले भने, ‘तर, सरकारले त्यसको आभाष दिएको छैन। विपक्षी दलदेखि गठबन्धन सम्मलाई मिलाएर अघि लैजाने दायित्व मुख्यमन्त्रीको हो। उहाँले गठबन्धनलाई नै मिलाउने संकेत देखिएको छैन।’
मुख्यमन्त्री कार्कीले भने सार्वजनिक रूपमा दलहरूसित छलफल भइरहेको दाबी गर्दै आएका छन्। सार्वजनिक मञ्चदेखि सदनसम्म र पत्रकारहरूसित बोल्ने क्रममा उनले सबैलाई मिलाएर अघि लैजाने बताउने गरेका छन्।
‘बाम गठबन्धन कायम गर्नु मेरो मुख्य लक्ष्य हो,’ मुख्यमन्त्री नियुक्त हुनासाथ उनले भनेका थिए।