रूसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेट्न मंगलबार प्योङयाङ पुगेका छन्।
किमले रूस भ्रमण गरेको नौ महिनापछि पुटिनले उत्तर कोरिया भ्रमण गरेका हुन्। त्यसअघि सन् २०१९ अप्रिलमा पनि किमले रूस भ्रमण गरेका थिए।
पुटिन भने २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा आएका हुन्। सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भए लगत्तै उनी उत्तर कोरिया गएका थिए। त्यति बेला त्यहाँ किमका बुवा किम जोङ इलको शासन थियो।
उत्तर कोरिया तत्कालीन सोभियत संघकै कारण बनेको थियो। तर कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेका थिएनन्।
कोरिया कब्जा गरेको जापानले दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजन भएको थियो। उत्तरपट्टिको भाग सोभियत संघको नियन्त्रणमा थियो भने दक्षिण अमेरिकाको। किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत संघकै भरमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेका थिए।
सोभियत संघले उत्तर कोरियालाई हतियार मात्रै दियो। केही पाइलट सहितका लडाकु विमानले युद्धमा भाग लिए। तर सोभियत संघले प्रत्यक्ष रूपमा सो युद्ध लडेन।
दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो। युद्ध क्रममा अमेरिकी सेना उत्तर कोरियाभित्र छिरेर कम्युनिस्ट चीनकै सीमा छेउ पुगेको थियो। त्यसपछि चीन पनि उत्तर कोरियाको पक्षमा युद्ध मैदानमा ओर्लिएको थियो।
सन् १९५३ मा अमेरिका, उत्तर कोरिया र चीनबीच युद्ध विराम भयो। दक्षिण कोरियाले भने युद्ध विराममा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन्।
दोस्रो विश्व युद्धपछि अमेरिका बराबरको महाशक्ति बनेको सोभियत संघका लागि उत्तर कोरिया आफूमा आश्रित सानो कम्युनिस्ट राष्ट्र मात्रै थियो। माओ त्सेतुङ नेतृत्वको गरिब चीनलाई समेत धनी र शक्तिशाली सोभियत संघले हेप्थ्यो भने उत्तर कोरियाको केही हैसियत हुने कुरै भएन!
सोभियत संघको विखण्डनपछि पनि उत्तर कोरिया भ्रमण गर्ने पहिलो रूसी राष्ट्रपति पुटिन नै भएका थिए। राष्ट्रपति हुनेबित्तिकै उनले भ्रमण गरे पनि रूसका लागि उत्तर कोरियाको हैसियत आफ्नो सहयोगको अपेक्षा गर्ने गरिब, तानाशाही राष्ट्रभन्दा धेरै थिएन। उत्तर कोरियाले आणविक हतियार बनाउन लाग्दा अमेरिकाले धेरैपटक आर्थिक नाकाबन्दी लगाएको थियो। त्यसरी नाकाबन्दी लगाउँदा रूसले पनि साथ दिएको थियो।
धनी हुँदै गएपछि उत्तर कोरियाका लागि सहायताको प्रमुख स्रोत बनेको चीन समेत अमेरिकाकै कित्तामा हुन्थ्यो।
अहिले अवस्था धेरै बदलिएको छ। उत्तर कोरिया शीत युद्धताकाको जस्तै गरिब भए पनि चीन र रूसको अवस्था लगभग उल्टिएको छ। माओका बेलामा चीनमा खान नपाएर भोकमरीले करोडौं मान्छे मरेका थिए। अहिले आर्थिक विकाससँगै सैन्य शक्ति सञ्चय गरेर चीनले अमेरिकालाई खुला टक्कर दिने हैसियत बनाएको छ।
त्यस्तै गरिब भएका बेला चीनले सोभियत संघसँग सहयोग माग्थ्यो, हेपिन्थ्यो। अहिले चीन नै रूसका लागि भरथेग गरिदिने सहारा भएको छ। रूसले युक्रेन आक्रमण गरेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले त्यहाँ आर्थिक नाकाबन्दी लगाए। त्यसयता रूस आर्थिक रूपमा चीनमाथि नै निर्भर जस्तै भएको छ।
अमेरिकाले उत्तर कोरियालाई हेर्ने दृष्टिकोण त खासै परिवर्तन भएको छैन। तर रूस र चीनलाई हेर्ने नजर बदलिएको छ।
शीत युद्धका बेलामा चीनलाई साथ लिएर अमेरिकाले आफ्नो प्रतिद्वन्द्वी सोभियत संघलाई एक्ल्याएको र कमजोर पारेको थियो।
अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पालाका राष्ट्रिय सुरक्षा सल्लाहकार र पछि विदेशमन्त्री रहेका हेनरी किसिन्जरले रूस र चीनको सम्बन्धबारे रोचक टिप्पणी गरेका थिए। किसिन्जरको गत नोभेम्बरमा सय वर्षको उमेरमा निधन भएको हो।
किसिन्जरले आधा शताब्दीभन्दा बढी समय चीन र रूस (सोभियत संघ) का नेतासँग सम्पर्क गरेका थिए। मृत्यु हुनुभन्दा केही समयअघि मात्र उनले द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भनेका थिए, 'मैले अहिलेसम्म कोही पनि रूसी नेता भेटेको छैन जसले चीनबारे केही राम्रो भनोस्। र, अहिलेसम्म कोही पनि चिनियाँ नेता भेटेको छैन जसले रूसबारे केही राम्रो भनोस्। यी दुबै देशमा राम्रो भन्नेहरूलाई एक प्रकारले तिरस्कार गरिन्छ।'
दुबै कम्युनिस्ट मुलुक भए पनि चीन र सोभियत संघबीच कहिल्यै राम्रो सम्बन्ध थिएन।
कम्युनिस्टले चीनको गृहयुद्ध जित्नेबित्तिकै सन् १९४९ डिसेम्बरमा माओले सोभियत संघको भ्रमण गरेका थिए। त्यो बेला चीन अत्यन्त गरिब थियो भने सोभियत संघले केही समृद्धि हासिल गरिसकेको थियो। माओ आर्थिक सहयोग माग्न गएका थिए। पहिलो भेटमै स्तालिनले हेपेको माओले महसुस गरेका थिए। त्यही भ्रमणका बेला दोस्रो पटकको भेटमा माओले ठूलो अपमान बेहोरे। पछि सार्वजनिक भएका ऐतिहासिक अभिलेख अनुसार स्तालिनले उनलाई दोस्रो भेटका लागि रूसको मुटु छेड्ने जाडोमा हिटर पनि नभएको घरमा १७ दिन कुराएका थिए।
त्यसबारे पछि एक सोभियत कूटनीतिज्ञलाई उनले आफू ज्यादै रिसाएर टेबलमा बेस्सरी हानेको र कुरेर बस्दा आफूसँग केबल तीन काम मात्र भएको गुनासो गरेका थिए- खाने, सुत्ने र शौच गर्ने।
पहिलो भेटमै यति अपमानित भएपछि माओले नेतृत्व गरेको चीन र सोभियत संघको सम्बन्ध कहिल्यै हार्दिक बनेन।
त्यति बेला चीन र सोभियत संघको सम्बन्ध बिग्रिएको फाइदा उठाउँदै उत्तर कोरियाले दुबैबाट सहायता लिएको थियो।
शीत युद्ध सकिएपछि पनि अमेरिकाले आफूभन्दा धेरै कम विकसित चीनसँग व्यापार गरेर उसलाई धनी बन्न मद्दत गर्यो। तर चीनले आर्थिक विकाससँगै सैन्य शक्ति पनि सञ्चय गरेर अमेरिकालाई खुला टक्कर दिने हैसियत बनायो। त्यसैले पछिल्ला केही वर्षमा अमेरिका चीनलाई रोक्न लागेको छ।
कम्युनिस्टकै शब्दावली सापटी लिने हो भने अमेरिकाका लागि शीत युद्धका बेला सोभियत संघजस्तै अहिले चीन प्रधान शत्रु भएको छ। चीनसँग व्यापार युद्ध नै सुरू गरिसकेको छ।
अमेरिकासँग सम्बन्ध चिसिन थालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले रूससँग सम्बन्ध राम्रो बनाएका छन्।
युक्रेनमा आक्रमण गर्नुअघि पुटिन सन् २०२२ फेब्रुअरी सुरूमा बेइजिङ पुगेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि रूस र चीनले 'नो लिमिट्स फ्रेन्डशिप' घोषणा गरेका थिए। युक्रेनमा आक्रमण गर्नुभन्दा तीन साताअघि भएको उक्त भेटमा पुटिनले चीनलाई आक्रमणको योजनाबारे जानकारी दिएको पनि बताइन्छ। चीनले आक्रमणका लागि सहमति दिएको वा नदिएको विषय भने यकिन छैन।
अमेरिका लगायत पश्चिमा राष्ट्रले आर्थिक नाकाबन्दी लगाएपछि रूसी तेलको सबभन्दा ठूलो खरिदकर्ता पनि अहिले चीन नै हो। दुई देशबीच व्यापक व्यापार वृद्धि भएपछी रूसलाई भरथेग भएको छ।
चीनले रूसलाई हतियार नै त दिएको छैन। तर हतियार बनाउन चाहिने सामग्री दिइरहेको आरोप अमेरिकाले लगाउँदै आएको छ।अमेरिका सहितका पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिइरहेका छन् र ऊ त्यसकै भरमा लडिरहेको छ। अर्कातिर रूससँग गोलाबारूद कम हुँदै गएपछि पुटिनले इरान र उत्तर कोरियाबाट किनिरहेका छन्। रूसले उत्तर कोरियालाई खाद्यान्न र तेल दिइरहेको छ। पछिल्लो समय किमले रूसबाट अत्याधुनिक हतियार प्रविधि पनि पाउने आशा गर्न थालेका छन्।
यसरी आआफ्ना कारणले अमेरिकासँग खराब सम्बन्ध भएका पुटिन, सी चिनफिङ र किम अहिले धेरै नजिक भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालका 'प्रचण्ड' को शब्द सापटी लिने हो भने अहिले तीन जनाबीच 'लभ' परेको छ।
पुटिन सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुअघि बेइजिङ पुगेका थिए। अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि गत मे महिनामा पहिलो विदेश भ्रमण पनि चीनकै गरे।
युक्रेनमाथि आक्रमण गरेको एक वर्षपछि, सन् २०२३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि रूस भ्रमण गरेका थिए।
पछिल्लो चीन भ्रमण क्रममा पुटिनले रूस र चीनबीच सहकार्यको नयाँ युग सुरू भएको घोषणा गरेका थिए। पश्चिमा सञ्चारमाध्यमहरूका अनुसार पुटिन त्यति बेलै चीनबाट उत्तर कोरिया जान चाहन्थे। तर त्रिकोणात्मक प्रेमको इर्श्यालु तेस्रा सदस्य जस्तै सी चिनफिङले अहिले नै नजानु भन्दै रोकेका थिए।
त्यसको एक महिनापछि पुटिन अमेरिकाले लगाएको नाकाबन्दी मिलेर परास्त गर्ने वाचा गर्दै किमलाई भेट्न उत्तर कोरिया पुगेका हुन्।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)