लुम्बिनी प्रदेश सरकारको बैठक अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर शुक्रबारको बैठक अवरूद्ध पारेको हो।
बजेट जनतामैत्री र संघीयताविरोधी आएको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको छ। आधा घण्टाको लागि स्थगन गरिएको उक्त बैठक पुनः बस्न नसकेपछि असार ९ गते आइतबार बिहान ८ः०० बजे बस्ने गरी तय भएको छ।
बैठकको सुरूमा कांग्रेस संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफनो धारणा राखेका थिए।
त्यसलगतै काग्रेसले सदन अवरूद्ध गरेको हो। दल नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
बैठक सञ्चालन भएको पाँच मिनेट ५९ सेकेण्डमा सदन अवरुद्ध भएको हो। अहिले प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका दलहरूका बीचमा सदन खुलाउनेबारे छलफल भइरहेको छ।
त्यसअघि प्रदेशसभामा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा नराखेको तथा चालू वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको भन्दै अहिलेको बजेट किसानमैत्री नभएको भन्दै विरोध जनाएका थिए।
‘यो किसान विरोधी सरकार हो,’ उनले प्रश्न गरे ‘यस्तो कार्यले संघीयताको पुष्टि कसरी हुन्छ?’
आम जनतालाई मल बिउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथमिकता हो भनेर पनि प्रश्न गरेका थिए।
त्यस्तै कांग्रेस संसदीय दलका नेता चौधरीले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको दोषारोपण गरे। त्यस्तै उनले स्थानीय जनजातीहरूले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएको भए पनि त्यो अहिले काटेर अर्कै क्षेत्रमा राखिएको भन्दै असुन्तुष्टि जाहेर गरेका थिए।
‘के यो सरकार जनजातिविरोधी सरकार हो,’ उनले भने ‘यो सरकार गरिखाने वर्गहरूको लागि बनेको सरकार हैन? यो त महिला, गरिखाने वर्ग, युवाको विरोधी सरकार बनेको छ। नाराले मात्रै हैन, पैसा र काम गरौं अनी मात्रै नारा सफल हुन्छ।’
निवर्तमान मुख्यमन्त्री चौधरीले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौती गरेको र उनीहरूका लागि थप नयाँ कार्यक्रम केही पनि नलाल्याएको बताएका थिए। उनले युवा, महिला, ज्येष्ठ नागरिक, मधेसी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्त कमैया, जनजाती, वादी, गन्धर्भ, चमार, लोपोन्मुख, मुसहर, नटुवा माझी, कुसुन्डा, कोरी आदि सिमान्तकृत समुदायलाई बजेटले नछोएको बताए।
कस्का लागि बजेट ल्याएको भनेर कांग्रेस संसदीय दलका नेता चौधरीले प्रश्न गरेका थिए।
चालू आर्थिक वर्षमा धेरै योजना बन्द गरिएको तथा आयका कार्यक्रम सञ्चालन गर्न नदिएको उनले गुनासो गरेका थिए ।
संघीताविरोधी बजेट आएको उनले कथन छ। संघीयता विरोधी बजेट आएको भन्दै कांग्रेसले विरोध गर्नु परेको बताए।
घाटाको बजेट ल्याउने तथा पूरा नहुने राजस्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको भन्दै कांग्रेस दलका नेता चौधरीले आलोचना गरे।