काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा वडाध्यक्षहरूले पहिलोपटक मेयर बालेन शाहको फेसबुक स्ट्याटसमा प्रश्न उठाएका छन्।
विभिन्न विषयमा फेसबुक स्ट्याटस लेखेर टिप्पणी जनाउँदै आएका मेयर बालेनले जेठ ३१ को स्ट्याटसप्रति वडाध्यक्षहरूको विरोध सामना गर्नुपरेको हो।
सोमबार राष्ट्रिय सभागृहमा बसेको १५औं नगरसभाको तेस्रो बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम छलफल र आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो। यसअघि असार २ को नगरसभामा सदस्यहरूले नीति तथा कार्यक्रममा संशोधन हालेपछि बैठक स्थगित भएको थियो।
सोमबार त्यही संशोधन हाल्ने क्रममा वडाध्यक्षहरूले पहिलोपटक पार्टीको नाम लिएर बोल्न सुरू गरेका थिए। यसअघि सिधै विषयवस्तुमा प्रवेश गर्ने वडाध्यक्षहरूले पहिलोपटक आ-आफ्नो पार्टीको इतिहासबारे लामो व्याख्या गरे र त्यसपछि मात्र नीति तथा कार्यक्रममा धारणा व्यक्त गरे।
बैठकको सुरूमा वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरले २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसायमा तीन वर्षसम्म शतप्रतिशत कर छुट दिने विषय स्पष्ट पारिदिन आग्रह गरे।
'विद्यार्थीले पढ्दै कमाउने नीति कस्तो अवस्थामा लागू हुने हो?' उनले भने, 'विद्यालयमा पढ्ने विद्यार्थी १५ वर्षभन्दा कम उमेरको हुने हुँदा बालश्रम आकर्षित हुन सक्छ।'
त्यस्तै, वडा ३२ का अध्यक्ष नवराज पराजुलीले असार ३ गते बालेनले तीन जना नेताले १६० जनाको बोल्न पाउने अधिकार खोसेको भनी स्ट्याटस लेखेकोमा आपत्ति जनाए।
बालेनले तीन नेता भनेर वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, ३२ का नवराज पराजुली र १७ का नवीन मानन्धरलाई इंगित गरेका थिए, जसलाई उनी स्वयंले नीति तथा कार्यक्रमको जिम्मेवारी दिएका थिए।
'के हामी तानाशाही नै भएका हौं मेयरसाब?' पराजुलीले नगरसभा बैठकमा भने, 'निरकुंश र अराजकताको विपक्षमा लडेकाहरू कसरी तानाशाही भयौं?'
आफूहरू दलको घोषणापत्र र चुनाव चिह्न लिएर जनतामाझ गएको र अहिले दल र जनताले चुनावमा गरेको बाचा पूरा गर भनेर भनिरहेको वडाध्यक्ष पराजुलीले बताए। उनले पिएल सिंह, केशव स्थापित र विद्यासुन्दर शाक्यको पालामा सधैं सर्वसम्मत निर्णय भएको उल्लेख गर्दै अहिले पनि सर्वसम्मत हुनुपर्ने धारणा राखेका थिए।
उनले मेयर बालेनलाई आफ्नो जिम्मेवारी ख्याल राख्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार नगर्न आग्रह गरेका थिए। नगरसभामा भएको घटना तोडमरोड गरेर वडाध्यक्षहरूलाई नै आरोपित गर्ने काम मेयरबाट भएको उनको भनाइ थियो।
पराजुलीले टुकुचा खोला खुला गर्ने विषयमा अदालतको फैसलाअनुसार हुनुपर्ने र सडक तथा फुटपाथ संघीय कानुनसँग नबाझिने गरी कार्यान्वयन हुनुपर्ने प्रस्ताव पेस गरे। त्यस्तै 'नो भेहिकल जोन' बनाउने विषयमा कार्यदल गठन गर्न उनले प्रस्ताव पेस गरे।
वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आफूहरू कुनै पार्टीभन्दा 'महानगरको झोले' भएको बताए।
'मेयरले तीन जनालाई इंगित गर्दै लेनदेन गरेको कुरा गर्नुभयो। कहाँ लेनदेन गर्यौं, त्यो खुलाइदिनुपर्यो,' उनले भने, 'हामीले गलत गर्छौं भनेर लाइभ गरेको होइन? तर लाइभ नगरेको बैठक पनि छ। आफ्नो आवश्यकताअनुसार गरिएको हो।'
अर्का वडाध्यक्ष चिनकाजी महर्जनले समेत कपोकल्पित पार्टीको झोले भनेर बालेनले भनेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
वडाध्यक्ष अनिता कार्कीले १६० जनाको बोल्ने अधिकार हनन् भयो भनेर स्ट्याटस लेख्ने मेयरले ४२ जना कार्यपालिका सदस्यसँग पनि छलफल नगरेको बताइन्।
'१६० जना नगरसभा सदस्यको अधिकार हननको कुरा गर्दै गर्दा तपाईंले त्यो नीति तथा कार्यक्रम कति जना सदस्यको बीचमा छलफल गरेर ल्याउनुभयो,' उनले प्रश्न गर्दै भनिन्, 'के तपाईंले १६० जनाको अधिकार हनन गर्नुभएन?'
उनले मेयर बालेनले सिंहदरबार जलाउँछु भनेर लेखेको स्ट्याटस पनि स्मरण गराइन्।
'अहिले तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईंलाई महानगरले दिएको जुन दरबार छ, त्यो दरबार भोलि महानगरवासीले जलाए भने त्यसको अवस्था के हुन सक्छ?' उनले प्रश्न गर्दै भनिन्, 'जुन दरबारमा बसेर तपाईं रजगज गरिरहनुभएको छ, त्यो नगरवासीको राजस्वबाट बनेको दरबार हो। यो भोलि महानगरवासीले जलाए भने अवस्था के हुन सक्छ?'
नगरसभा सदस्यहरूपछि उपमेयर सुनिता डंगोलले पनि आफ्नो धारणा राखेकी थिइन्। उनले बैठकमा समन्वयनकारी भूमिका खेलेकी थिइन्।
'पदमा बसेपछि पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ,' उनले भनिन्, 'एक जनाले जथाभाबी, कपोकल्पित बोल्ने हो भने त्यसले समाजमा राजनीतिक अराजकता निम्त्याउँछ। त्यसैले पनि पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ।'
'सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भने आज काठमाडौं महानगरको दरबार जलाउँछु भन्ने अभिव्यक्ति पनि ठिक होइन,' उनले भनिन्, 'जलाउने, भत्काउने, बिगार्नेतिर लाग्न हुँदैन।'
त्यसपछि मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए। नगरसभा सदस्यहरूले भने तीन जना वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावपछि मात्रै पास गर्ने बताए।
त्यसपछि केही समय मेयर बालेन, उपमेयर डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले छलफल गरेका थिए। बालेनले नीति तथा कार्यक्रम पास नभई बजेट ल्याउने जानकारी गराएका थिए।
प्रवक्ता मानन्धरले नीति तथा कार्यक्रम र बजेट एकैचोटि पास गर्न सक्ने बताएपछि उपमेयर डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्।