कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको आरोपमा दुई महिनादेखि अनुसन्धान गरिरहेको प्रहरीले उनीविरूद्ध अहिलेसम्म कुनै ठोस प्रमाण भेट्टाउन सकेको छैन।
सिरोहियालाई धनुषा प्रहरीले जेठ ८ मा पक्राउ गरेर दस दिन हिरासतमा राखी छाडेको थियो। तर डेढ महिना हुन लाग्दा समेत अहिलेसम्म धनुषा प्रहरीले उनीविरूद्ध मुद्दा चलाउन ठोस सबुत फेला नपारेपछि अनुसन्धान प्रतिवेदन समेत तयार गर्न सकेको छैन।
२०५७ सालमा उमेर खुलाएर प्रतिलिपि नागरिकता जारी गर्ने अधिकारीको बयान, विभिन्न निकायमा सिरोहियाले पेस गरेका नागरिकताका प्रतिलिपि, सिरोहियाको बयान र उनको नागरिकता किर्ते गरिएको हो कि होइन भनेर फरेन्सिक ल्याबमा गरिएको जाँचको रिपोर्ट प्रहरीले संकलन गरिसकेको छ।
हामीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रञ्जन अवालाई सिरोहियाको नागरिकता प्रमाणपत्रबारे के के प्रमाण भेटिए भनेर सोधेका थियौं।
'त्यो बेला हामीले मालपोत, बैंक, जिल्ला प्रशासन, कम्पनी रजिस्टार लगायतका कार्यालयसँग कागजात र जबाफ मागेका थियौं। हामीले लेखेका पत्रहरूको जबाफ आउने क्रममा छ। केही आइसकेका छन्, केही आउन बाँकी छ। त्यसैले अनुसन्धान पूरा हुन सकेको छैन,' डिएसपी अवाले भने।
सिरोहियाको नागरिकताको फरेन्सिक जाँच गरिएकामा त्यसको रिपोर्टबारे पनि हामीले सोधेका थियौं। फरेन्सिक रिपोर्ट आजभन्दा १२ दिनअघि आइसकेको उनले बताए।
फरेन्सिक रिपोर्टमा के देखियो भन्ने प्रश्नको जबाफमा उनले भने, ‘अझै पनि अनुसन्धान नसकिएकाले तपाईंलाई भन्न मिल्दैन।’
प्रहरीले कहिलेसम्म उनीमाथिको अनुसन्धान सक्छ भन्ने प्रश्नमा अवाले भने, ‘नागरिकता सम्बन्धी कसुरमा हदम्याद असीमित हुन्छन्। कहिले के हुन्छ, हुन्न, त्यसै भन्न सकिने अवस्था छैन।’
अनुसन्धानमा संलग्न स्रोतले भने सिरोहियाविरूद्ध परेको जाहेरीमा उल्लिखित दाबी पुष्टि हुने कुनै ठोस प्रमाण फेला नपरेपछि अनुसन्धान प्रतिवेदन लेख्न समेत आफूहरूलाई हम्मे भएको बतायो।
‘जाहेरीमा जे जति दाबी थियो, ती कुरा प्रमाणित हुने देखिएको छैन। नागरिकतामा सिरोहियाले गल्ती गरेको केही कुरा भेटेकै छैनौं। बलियो प्रमाण भेटिएपछि न मुद्दा चलाउने हो। बरू उहाँको नागरिकतामा सिडिओ कार्यालयकै कमीकमजोरी देखिएको छ,’ प्रहरी स्रोतले भन्यो।
उक्त स्रोतका अनुसार फरेन्सिक ल्याबबाट आएको रिर्पोटमा समेत सिरोहियाले नागरिकतामा किर्ते गरेको प्रमाणित हुने कुरा उल्लेख छैन।
‘सिरोहियाको नागरिकतामा भएका औंठाछाप, अधिकृतको हस्ताक्षर, थपिएका अंक जस्ता मुख्य कुराहरू मिलेकै छन्,’ स्रोतले भन्यो, ‘त्यसमा किर्ते गरेको देखिँदैन।’
किर्ते गरेको हो कि होइन भनेर नागरिकता जाँच्न सिरोहियाले आफै फरेन्सिक ल्याबमा पठाइदिन अदालतसमक्ष माग गरेपछि नागरिकता लगायतका कागजात विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।
जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले पनि प्रहरीले अनुसन्धान नसकेकाले सिरोहियाविरूद्ध अहिलेसम्म मुद्दा दायर नभएको बताए। उनका अनुसार नागरिकता समबन्धी कसुरमा अनुसन्धान र मुद्दा दर्ताको हदम्याद छैन।
‘प्रहरीले अनुसन्धानको पाटो सकेको छैन। नागरिकता कसुरमा मुद्दा चलाउन हदम्याद पनि छैन। मानिस पक्राउ परेको भए २५ दिनभित्र मुद्दा चलाइसक्नु पर्थ्यो तर छुटिसकेको हकमा त्यसो हुँदैन,’ उनले भने।
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको, सिरोहियाका बुबा घासीराम मारवाडी (सिरोहिया) का सन्तान गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली भएको र कैलाश सिरोहियाको नागरिकता वंशजको नेपाली रहेको देखिएको, २०५७ असोज २९ मा उनले नागरिकता प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत नगरेको पाइएको, नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्ठकमा जन्म मिति २०१९ मंसिर २९ समेत लेखेको पाइएको, जन्ममितिमा उल्लिखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अकंको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले पछि कोष्ठकमा जन्ममिति थपी किर्ते गरेको देखिएको लगायत आधार देखाउँदै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरी अनुसन्धान गरेको थियो। तर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले जेठ १६ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।