नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार अपराह्न कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्यो।
नेविसंघ, नेपाल तरूण दललगायत भ्रातृ संस्थाका तदर्थ समितिको म्याद समाप्त भएकोले थप गर्ने कि नयाँ गठन गर्ने र बीआरआईलगायत विषयमा धारणा बनाउन कांग्रेसले यो बैठक राखेको थियो।
तर यसबीचमा गत शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवा र उनको पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बालकोटमा कुराकानी गरेपछि राजनीति तरंगित बनेको छ।
सांगठनिक विषयमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएकोले सभापति देउवाले ओलीसँग गरेका भेटबारे एजेन्डा नै थिएन। तर पनि यसबारे नेताहरूले सभापति देउवासँग चासो राखे।
बैठक सुरू हुनेबित्तिकै सहमहामन्त्री उमाकान्त चौधरीले कुरा राखे। चौधरीले ठट्यौली शैलीमा 'के हो सभापतिज्यू, असार १५ मा दही चिउरा हुनुपर्नेमा खिचडी पाक्यो भन्ने कुरा आयो, ओलीसँग तपाईंको के कुरा भएको हो, यथार्थ बाहिर आउनुपर्यो।’
यसपछि पूर्वमहामन्त्री शशांक कोइराला र अन्तिममा महामन्त्री विश्वप्रकाश शर्माले पनि अध्यक्ष ओलीसँग सभापति देउवाले गरेको भेटका प्रसंग उठान गरेका थिए।
केहीबेरमा सभापति देउवा बोले तर अध्यक्ष ओलीसँग तीन घन्टा लामो छलफलमा भएका कुराकानीबारे खुलेर कुरा गरेनन्। ‘सायद, पदाधिकारी र पूर्वपदाधिकारी ठूलो संख्यामा नेताहरू उपस्थित भएर होला, उहाँले भित्री कुरा खासै खोल्नु भएन,’ बैठकमा सहभागी एक नेताले भने।
तर सभापति देउवाले अध्यक्ष ओलीसँग गरेका कुराकानीबारे उपसभापति र महामन्त्रीलाई यसअघि नै खुलस्त रूपमा ब्रिफिङ गरिसकेको स्रोतको दाबी छ।
अध्यक्ष ओलीले चिया खान बोलाएकोले आफू बालकोट गएर फर्केको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाको भनाइ थियो।
सभापति देउवाका भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ, सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं’ भनेका हुन्।
साथै सभापति देउवाले ‘अहिले ओलीजीसँग आफ्नो सम्बन्ध सुमधुर र सकारात्मक’ रहेको पनि बताएका थिए। लामो समयसम्म अध्यक्ष ओलीसँग भेट गरे पनि दुई वाक्यमा ब्रिफिङ गरेपछि नेताहरूले हतारिएर सरकारमा जान नहुने धारणा राखे।
महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्राथमिकता अहिले सत्ता नभई संगठन हुनुपर्ने कुरा राखेका थिए।
‘कांग्रेसको तत्कालको प्राथमिकता सत्ता होइन, संगठन हो, सत्ता समीकरण बनाउन लागेको हो भने केका लागि हो? कसैलाई प्रधानमन्त्री बनाउन, मन्त्री बन्न?,’ महामन्त्री शर्माका भनाइ उद्धृत गर्दै एक पूर्वपदाधिकारीले भने, ‘एमाले अध्यक्ष ओलीलाई अहिले गिरीबन्धु टी-इस्टेटबारे आइरहेका विषय निस्तेज गर्नु छ। अर्कोतर्फ सहकारी ठगीबारे पनि छानबिन भइरहेका छन्।’
महामन्त्री शर्माले यदि सरकारमै जाने हो भने पनि 'थप परिपक्क परिस्थिति नबनाइकन अघि बढ्न नहुने' कुरा राखेको ती पूर्वपदाधिकारी बताउँछन्।
सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा हो कि होइन भन्नेबारे भने केही खुलाएका थिएनन्। ‘नयाँ समीकरण बनाउन लागेको हो कि होइन सभापतिज्यूबाट ठोस कुरा नै आएन,’ ती पूर्वपदाधिकारीले भने।
एक पदाधिकारीका अनुसार कांग्रेसका नेताहरू र एमालेका नेताहरू भने केही दिनदेखि संवादमा छन्।
कांग्रेसबाट संवादमा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक रमेश लेखक र एमालेबाट महासचिव शंकर पोखरेललगायत रहेको स्रोतको दाबी छ। यो समितिले संविधान संशोधनलगायत विभिन्न एजेन्डामाथि छलफल गरेर 'ड्राफ्ट' बनाउने काम गरिरहेको दाबी उक्त स्रोतको छ।
दुई पक्षका नेताहरूबीच संवाद चलिरहेको कुरा सभापति देउवाले असार १२ र १३ गते निश्चित नेताहरूसँग भनेका थिए।
‘सरकारमा किन जाने नीतिगत पाटो र संस्थागत रूपमा यसबारे कांग्रेसको दृष्टिकोण निश्चित नभइकन आकस्मिक रूपमा त यस्तो गम्भीर निर्णयमा पुग्न हुन्न भन्नेमा सबै सहमत नै हुनुहुन्छ,’ एक पदाधिकारीले भने।
प्रवक्ता प्रकाशशरण महतले सत्तामा कांग्रेस हुनुपर्छ, नेतृत्व गर्नुपर्छ भन्ने विषय अनौठो नरहेको बताए।
‘नेतृत्व तहले विभिन्न दलहरूसँग राष्ट्रिय मुद्दामा छलफल गरिराखेको छ,’ प्रवक्ता महतले भने, ‘सत्तामा जानका लागि भन्दा पनि हाम्रा लागि मुद्दा ठूलो कुरा हो। सत्ता मात्रै प्राथमिकता होइन। मुद्दाहरूमा एकरूपता आयो र दीर्घकालीन रूपमा अघि जान सकिने अवस्था आएको खण्डमा समीकरणको विषयले प्राथमिकता पाउँछ। यो विषयमा बोल्नु परिपक्क भइसकेको छैन।’
परिणाममुलक काम गर्न सक्ने, निर्वाचन प्रणालीले ल्याएका जटिलता कम गर्ने, देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै एमालेसँग सहकार्य हुन सक्ने प्रवक्ता महत बताउँछन्।
साथै पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दुई वर्षभित्र अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकोले नयाँ समीकरण बनाउने हो भने पहिले एमालेले नै 'एक्सन' लिनुपर्नेमा कांग्रेस रहेको छ।
सरकार परिवर्तन गर्ने हो भने प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनेजस्ता थप परिपक्क परिस्थिति बन्नुपर्नेमा कांग्रेस रहेको एक पदाधिकारी बताउँछन्।
कांग्रेस र एमालेबीच समीकरण बनेमा संघीय सरकार र प्रदेश सरकारहरू गठन गर्न अंकगणितीय हिसाबले सहज भने छ। संघीय संसदमा कांग्रेसका ८८ र एमाले ७८ जना सांसद छन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।