संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता सहयात्रा गर्ने सहमति गरे लगत्तै संघीय सरकारको नेतृत्व गुमाएको नेकपा (माओवादी) केन्द्र प्रदेशहरूमा पनि विपक्षमा धकेलिँदै छ।
आफू विपक्षमा पुग्ने निश्चित भए पनि कोशीमा भने माओवादी सरकारमा बस्न आफ्नो समय अझै लम्ब्याउने दाउमा लागेको छ। माओवादीबाट प्रदेशमा मन्त्री रहेका नेताहरूले यो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
‘हामी अहिले पनि क्याबिनेट बैठकमा बसेर महत्त्वपूर्ण निर्णयहरू गरिरहेका छौं, राजीनामा दिने कुनै योजना छैन’, कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रहेका माओवादी नेता गणेश उप्रेतीले आइतबार भने ‘मुख्यमन्त्रीले हामीलाई राजीनामा दिनुस् भन्नुभएको पनि छैन। त्यसैले हामी सरकारमा रहन्छौं। तत्कालै छाड्ने कुरा छैन।’
नयाँ संविधान कार्यान्वयनमा गएपछि केन्द्रदेखि प्रदेशसम्मै माओवादी सधैं सरकारमा सामेल भइरहेको छ।
पहिलो पटक सबै प्रदेश र संघमा सरकार बाहिर हुनै लाग्दा माओवादी केन्द्रका नेताहरू प्रदेश सरकारमा बस्ने समय लम्ब्याउन चाहिरहेका छन्।
प्रधानमन्त्री पदबाट हट्दै गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमाले गठबन्धनलाई अनेकौं आरोप लगाएका थिए। उनले दुई ठुला दलको सत्ता सहयात्रालाई ‘अर्कैले गराइदिएको मिलाप’ मात्रै भनेनन्, आफ्नो नेतृत्वको सरकारले सुरू गरेको ‘सुशासनबाट त्रसित भएर बनेको गठबन्धन’ समेत भन्न भ्याए।
प्रतिनिधि सभामा यसरी एमाले र कांग्रेसविरूद्ध ‘फायर खोलेर’ प्रधानमन्त्री पदबाट मुक्त बनेका दाहालको दल माओवादी कोशी प्रदेशमा भने सरकारमा सकेसम्म बढी समय बस्ने बताइरहेको छ।
कोशीमा अहिले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार छ, जहाँ माओवादी तीन वटा मन्त्रालयसहितको सत्ता साझेदारीमा छ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि तत्कालै प्रदेश सरकारबाट बाहिरिने योजना नभएको बताए।
‘केन्द्रमा विकसित घटना क्रमबारे मुख्यमन्त्रीसँग छलफल भएको छैन,’ उनले भने ‘उहाँसँग छलफल गरेपछि हाम्रो संसदीय दलको बैठक बस्नेछ। त्यही बैठकले यसबारे ठोस निर्णय गर्नेछ।’
माओवादी नेताहरू कोशी सरकारबाट हट्न मुख्यमन्त्रीको प्रस्ट निर्देशन पर्खिरहेको बताउँछन्। यद्यपि मुख्यमन्त्री कार्की भने तत्कालै माओवादीका मन्त्रीलाई राजीनामा माग्ने योजनामा नरहेको बरू उनीहरू आफैले बुझेर राजीनामा दिनुपर्ने आशमा छन्।
यसरी मुख्यमन्त्रीले सरकारबाट हट्नु भन्ने सूचना कुरिरहेको माओवादीबाट मुख्यमन्त्री कार्की भने ‘सहज निकास’ को अपेक्षामा छन्। परिस्थिति बुझेर माओवादी आफै सरकारबाट हट्ने आशा मुख्यमन्त्रीले राखेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन्।
‘उहाँहरूलाई थाहै छ मुलुकको राजनीतिक परिस्थिति बदलिएको छ। बदलिएको परिस्थितिको अवस्था बुझेर माओवादीका मन्त्रीहरू आफैले राजीनामा दिनुहुन्छ भन्ने मुख्यमन्त्रीको अपेक्षा छ,’ एमाले कोशीका प्रमुख सचेतक भण्डारीले भने, ‘उहाँहरूले त्यो परिस्थिति छिट्टै बुझ्नुहुनेछ भन्ने हामीलाई लाग्छ।’
माओवादी आफै सरकारबाट हटे हुन्थ्यो भन्ने प्रस्ट संकेत आफूहरूले दिइसकेको प्रमुख सचेतक भण्डारीको भनाइ छ।
यद्यपि माओवादी नेताहरूले भने ‘मुख्यमन्त्रीले राजीनामा नमागेसम्म सरकार नछाड्ने’ बताइरहेका छन्।
यसरी मुख्यमन्त्री माओवादीको बाटो हेर्ने, माओवादी मुख्यमन्त्रीको मुख ताक्ने भएपछि कोशीमा कांग्रेसको सत्ता रोहणमा ढिलाइ हुनसक्ने कांग्रेस नेताहरू बताउँछन्।
अर्कातर्फ कोशीका कांग्रेस प्रदेश सांसदहरू यति बेला प्रदेशको मन्त्री बन्ने दौडधुपमा व्यस्त छन्। विराटनगरमा बन्ने सरकारमा मन्त्री बन्न बहुसंख्यक सांसदहरू साता अघिदेखि काठमाडौंमा बसेर नेताहरूसँग लबिङ गरिरहेका छन्। तर, कोशीमा नयाँ गठबन्धन कहिले कार्यान्वयन हुन्छ भन्ने अन्यौलले उनीहरूको सत्ता रोहणको मिति पर धकेलिरहेको छ।
‘केन्द्रमा बनेको गठबन्धन अनुसार माओवादीले तत्कालै प्रदेश सरकार छाड्छ नभए मुख्यमन्त्रीले उसलाई हटाउनुपर्छ,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापाले भने, ‘अब संघको सरकारले आकार लिने बित्तिकै कोशीमा पनि नयाँ गठबन्धन कार्यान्वयन हुन्छ। त्यसमा कुनै दायाँबायाँ हुँदैन।’
नेता थापाले प्रदेशमा नयाँ गठबन्धन कार्यान्वयन गर्ने विषयमा मुख्यमन्त्री कार्कीसँग लगातार कुराकानी भइरहेको र आफूहरू काठमाडौंबाट फर्केपछि त्यसलाई औपचारिक रूप दिने तयारी भएको बताए।
नेता थापाले कांग्रेसभित्र मन्त्री बन्नलाई दौडधुप भइरहेको बारे भने केही बताउन चाहेनन्।
‘साथीहरूले चाहना गर्नु अस्वाभाविक होइन’ भन्दै सरकारमा सामेल भएपछि मन्त्री क-कसलाई बनाउने भन्ने टुंगो पार्टीले लगाउने उनले बताए।
केन्द्रमा बनेको सहमति प्रदेशमा कार्यान्वयन भएपछि कांग्रेस कोशीमा दुई महिनापछि सरकारमा फर्कनेछ।
तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै एमाले र माओवादीले वैशाख २७ मा कोशीमा हिक्मत कार्की नेतृत्वमा नयाँ सरकार गठन गरेको थियो।
कांग्रेस नेता कार्कीलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि कांग्रेस प्रदेशमा विपक्षमा पुगेको थियो। यद्यपि पार्टीले चाहेर कार्की मुख्यमन्त्री बनेका थिएनन्। कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री आह्वान हुँदा केदार कार्कीले पार्टीबाट विद्रोह गरेर एमाले समर्थनमा सत्ता रोहण गरेका थिए। छ महिनापछि केन्द्रमा माओवादी र एमाले सहकार्य सुरू भयो। लगत्तै उनी मुख्यमन्त्रीबाट हटे। एमाले नेता हिक्मत कार्की वैशाख अन्तिममा मुख्यमन्त्री बनेका थिए
कार्की नेतृत्वको सरकारमा माओवादी सुरूबाटै सहभागी थियो। भौतिक पूर्वाधार मन्त्रीका रूपमा गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र वन्दना झाँगर पर्यटन राज्यमन्त्रीका रूपमा अहिले पनि कोशी सरकारमा कार्यरत छन्।
आफूहरूले नै साथ दिएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको र भविष्यमा जुनसुकै बेला फेरि सहयात्रा गर्नुपर्ने हुन्छ भन्दै मुख्यमन्त्रीलाई आफूहरूले भनेको र मुख्यमन्त्री त्यसमा कन्भिन्स भएको माओवादी सांसदहरू बताउँछन्।
‘हाम्रो कुरामा मुख्यमन्त्री कन्भिन्स त हुनुहुन्छ तर उहाँले पनि धेरै परसम्म थेग्न सक्ने अवस्था छैन,’ माओवादी कोशीका एक सांसदले भने, ‘त्यसैले छोटै समय किन नहोस् सरकारमा बसेरै काम गर्ने भन्ने हाम्रो योजना छ।’