कर्णाली प्रदेश सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकारबाट बाहिरिन मुख्यमन्त्री यामलाल कँडेललाई कुरेका छन्।
केन्द्रमा नेकपा माओवादी केन्द्र र एमाले बीचको गठबन्धन टुटेपछि प्रचण्डले विश्वासको मत लिने अवस्थासम्म कुरेका मन्त्रीहरू अब राजीनामा बुझाउन मुख्यमन्त्रीको पाखाईमा छन्।
असार १७ गते केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भएको थियो। त्यसपछि अल्पमतमा परेका प्रचण्ड शुक्रबार विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि पदमुक्त भएका छन्।
केन्द्रमा पार्टी सरकारबाट बाहिरिएपछि कर्णाली प्रदेशमा पनि माओवादीबाट सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
यसअघि केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो। उनको नेतृत्वमा माओवादीबाट चार जना मन्त्री बनेका थिए।
माओवादीबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री छन्।
काठमाडौंमा रहेका मुख्यमन्त्री सुर्खेत फर्किने बित्तिकै राजीनामा बुझाउने उर्जामन्त्री रणसिंह परियारले बताए।
उनले माओवादीका कर्णाली प्रदेश सभा दलका नेता पनि काठमाडौंमा भएकाले प्रत्यक्ष रुपमा छलफल गर्न नसकिएको बताए। दलका नेतासँगको छलफल औपचारिकता भएपनि राजीनामा भने मुख्यमन्त्रीलाई तत्कालै बुझाउने तयारी गरिएको मन्त्री परियारले बताए।
‘राष्ट्रिय राजनीतिमा जे खालको प्रभाव छ, त्यसअनुसार हामी सरकारबाट बाहिरिने नै हो। हालसम्म प्रदेशका सरकार पनि राष्ट्रिय राजनीतिकै प्रभावअनुसार चलेको हुनाले हामीले कुर्नुपर्ने छैन,’ उनले भने, ‘मुख्यमन्त्री यता नभएकाले हामीले कसलाई राजीनामा बुझाउने भन्ने समस्या हो, राजीनामा लेखेर राखेका छौं, उहाँ आउनेवित्तिकै बुझाउँछौं।’
कर्णाली सरकारबाट माओवादी बाहिरिएपछि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ। हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली कांग्रेस सरकारमा जानेछ।
४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन्। नेपाली कांग्रेसका हाल १४ जना सांसद छन्। कांग्रेसका १५ जना सांसद रहेकोमा संसदीय दल नेता जीवन शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन्। प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन्।
नेपाली कांग्रेसभित्र भने सरकारमा कसलाई पठाउने भन्ने विषयमा औपचारिक छलफल भएको छैन। केन्द्रको सरकार गठनको प्रक्रिया टुंगिए लगत्तै पार्टीको नेतृत्वबाट आउने निर्देशनका आधारमा अघि बढ्ने कांग्रेसका प्रदेश सभा सदस्य बेदराज सिंहले बताए।
‘माओवादीबाट मन्त्री भएकाहरूको ठाउँमै कांग्रेसबाट मन्त्री जाने कुरा भएन, केही फेरबदल पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले कुनै औपचारिक छलफल भएको छैन, केन्द्रबाट केही निर्देशन आउला, त्यसअनुसार अघि बढ्ने होला।’
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलमा हाल नेतृत्व छैन। संसदीय दल नेता प्रदेश सभाबाट निलम्बनमा परेपछि मन्त्रीहरूको नाम सिफारिस गर्ने काम प्रमुख सचेतकले गर्ने सिंहले बताए। उनका अनुसार नेता शाहीलाई पार्टीले निलम्बन गरिसकेको अवस्था नभएकाले नेतृत्व हेरफेरका बारेमा पनि प्रदेशमा कुनै छलफल चलेको छैन।