अदालतको आदेश आएसँगै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गरेको विषयमा स्थानीय तथा व्यवसायीले विरोध गरेको चार दिन भएको छ। आइतबारदेखि वडा नम्बर २१ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर वडाको काम गरिरहेका छन्।
आइतबार (हिजो) वडा नम्बर २२, २३ र २४ का स्थानीयहरूले फुटपाथ बढाउने विषयमा महानगरका प्रमुख बालेन शाहले भ्रम सिर्जना गरेको भन्दै संयुक्त प्रेस विज्ञप्ति पनि निकाले।
न्यूरोड क्षेत्रमा पार्किङ भइरहेको भन्दा कम ठाउँमा फुटपाथ विस्तार गरिएको भनेर भ्रम फैलाएको स्थानीय सरजु राउतको भनाइ छ।
‘अहिले महानगरले पहिले पार्किङ भइरहेको ठाउँमा फुटपाथ विस्तार गरेको भनेर भ्रम सृजना गरेको छ,’ उनले न्यूरोड गेटदेखि भूगोलपार्क देखाउँदै प्रश्न गरे, ‘के त्यसो भए यी ठाउँमा पनि पहिले पार्किङ हुँदै आएको थियो?’
स्थानीयको माग विपरित विकासको नाममा फुटपाथ विस्तार गरिएको उनको आरोप छ। अर्कातर्फ महानगरले स्थानीय र वडासँग समन्वय नगरि काम गरेकोमा आपत्ति जनाउँछन्।
‘अहिले इन्द्रचोकदेखि विशाल बजार क्षेत्रसम्म फुटपाथ विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘त्यो क्षेत्रमा विस्तार गर्यो तर भूगोलपार्कदेखि न्यूरोड गेटयता विस्तार गर्न पाइँदैन। न्यूरोड भनेको ‘बिजनेस हब’ हो यहाँ मान्छे हिँडेर घुम्न आउने क्षेत्र होइन।’
न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्दा जुद्ध शालिकनजिक रहेको जुद्ध वारूण यन्त्र कार्यालय सञ्चालनमा पनि कठिनाइ हुने उनको बुझाइ छ। फुटपाथ विस्तार गरेपछि सानो सडकमा गाडिको चाप बढ्दा दमकल आवतजावतमा पनि कठिनाइ भएको उनको दावी छ। त्यसैले पनि उनी फुटपाथ विस्तार गर्न नपर्ने तर्क गर्छन्।
यसो त उनी महानगरका मेयर बालेन शाहले कार्यपालिका बैठकमा भनेको कुरा कार्यान्वयनमा जोड दिनुपर्ने बताउँछन्।
जेठ १८ गते बसेको कार्यपालिका बैठकमा बालेन र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै फुटपाथ विस्तारको विषयमा नोकझोक भएको थियो। लामो समयसम्म नोकझोक चलेपछि महानगरको प्रवक्ता समेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले समन्वयन गर्दै उनकै संयोजकत्वमा अध्ययन समिति गठन गरी प्रतिवेदनले सुझाए अनुसार काम अघि बढाउने सहमति भएको थियो।
स्थानीय एवं व्यवसायी सुरेश शाही यहाँको मौलिकतालाई मारेर न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गरेकोमा आपत्ति जनाउँछन्। यसो त उनी विगतका दिनमा न्यूरोड क्षेत्रमा मान्छेहरू फुटपाथमा कमै हिँड्ने गरेको बताउँछन्। त्यसैले त्यतिबेलाको आवश्यकताअनुसार फुटपाथ बनाइएको उनको भनाइ छ। तर अहिले महानगरका मेयर बालेन शाहले हिँड्ने मान्छेको चापअनुसार फुटपाथमा विस्तार गर्नुपर्ने कुरा अव्यवहारिक भएको उनी बताउँछन्।
‘हिँड्ने मान्छेको चापअनुसार फुटपाथ बढाउँदै लैजाने हो भने भोलिका दिनमा पाचौं लाख मान्छे फुटपाथमा हिँड्लान्,’ उनी प्रश्न गर्छन्, ‘त्यसो भए आउने दिनहरूमा त्यसै गरी जाने हो भने गाडि गुड्ने बाटो नै नरहने भयो। सबै फुटपाथ मात्र रहन्छ। त्यसो हुँदा यो सहरको अस्तित्व नाश हुँदै जान्छ।’
मेयर बालेनले उक्त कार्यपालिका बैठकमा इन्द्रचोकदेखि विशाल बजारको क्षेत्रको फुटपाथमा मान्छेलाई हिँड्न गाह्रो भएको, लुटपाट, दुर्व्यवहार, पाकेटमार लगायतका घटना भएको भनी गुनासो आएका कारण फुटपाथ विस्तारको योजना अघि बढाएको बताएका थिए।
यसो त वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले मेयर बालेनले कार्यापालिकामा अध्ययन समिति गठन गरी प्रतिवेदनले सुझाए अनुसार गर्ने भनेको कुरा कार्यान्वयन नगरेपछि बाध्य भइ सडकमै वडा कार्यालयको काम गरेको बताउँछन्।
‘कार्यपालिका बैठकमा मेयरले भनेको कुरा पनि कार्यान्वयन नगरेपछि सडकबाटै वडा कार्यालयको सेवा दिएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘विकासको योजना भनेको थोपर्ने कुरा होइन, स्थानीय तथा वडासँग छलफल र समन्वयन गरी मात्रै काम गर्ने हो। महानगरको नेतृत्व एकलौटी निर्णय कार्यान्वयन गर्ने अठोट लिएर हामीसँग संवाद र समन्वयन गर्न तयार छैन। तर पनि पटक पटक हामी ताकेता गरिरहेका छौं।’
मेयर बालेनका स्वकीय सचिव भूपदेव शाह स्थानीय एवं व्यवसायीहरूले फुटपाथ विस्तारको कामको विरोध गरेर अदालतको आदेशको अवहेलना गरेको दाबी गर्छन्। उनी टेण्डर गर्नुअघि तीनवटै वडालाई जानकारी गराइएको बताउँछन्।
‘हामीले टेण्डर आह्वान गर्नुअघि नै जानकारी गराएका थियौं तर उहाँहरूले टेण्डर सम्झौता भएपछि मात्रै विमति राख्नुभयो,’ उनले भने, ‘यसले उहाँहरूको स्वार्थ स्पष्ट बाझिएको छ भन्ने देखाउँछ। नत्र भने किन टेण्डर आह्वान गर्नुअघि नै पठाएको सूचनामा उहाँहरूले विमती जनाउनुभएन?’
अर्कातर्फ महिनादिन बित्न लाग्दा पनि मेयर बालेनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारका लागि अध्ययन समिति गठन नभएको महानगरका सह-प्रवक्ता दीपक अधिकारीले बताए।
महानगरका कर्मचारीहरू अध्ययन समितिको कुरा कार्यपालिका बैठकमा मात्र सिमित भएको बताउँछन्।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले असार ३० गते फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम पुनः थालेको थियो।
महानगरले न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउन गत जेठ ११ गतेदेखि काम सुरू गरेको थियो। तर डिभिजन सडक कार्यालय काठमाडौंले काम रोक्न जेठ १३ र १६ गते गरी दुइटा पत्र पठायो। डिभिजनले पठाएको पत्रविरूद्ध महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दिएको थियो।
रिट निवेदनमा महानगरले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को बजेटबाट फुटपाथ विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्न पाउनुपर्ने अन्तरिम आदेश माग गरेको थियो।
त्यस्तै उच्च अदालतको अन्तरिम आदेशअनुसार राष्ट्रिय यातायात नीति २०५८ ले सहरी सडकलाई परिभाषित गर्दै यसको निर्माण, मर्मत सम्भारको जिम्मेवारी स्थानीय तहको हुने भनेर उल्लेख गरेको छ।
तर महानगर भने अदालतले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्नलाई अदालतको आदेश दिएको भन्दै काम गरिरहेको छ। अदालतले उक्त आदेशमा डिभिजन कार्यालयलाई उक्त क्षेत्र महानगरकै पर्ने हुँदा हस्तक्षेप नगर्न आदेश दिएको हो।
न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्दा महानगरले बाटो बिराइरहेको छ। सम्भवत विकासको काममा मेयर बालेनको कार्यकालमा पहिलोपटक स्थानीय तथा जनप्रतिनिधीरहरूले निरन्तर विरोध गर्दै आएका छन्। शुक्रबार राति त फुटपाथ विस्तारको काम रोक्नुपर्छ भन्दै मेयर बालेनको पुत्ला नै जलाएका पनि थिए।