नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा छ।
अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय संख्या घटाएर मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
गत असार १६ गते तत्कालीन गठबन्धनमा रहेका एमाले, माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई भागबन्डा मिलाउन उनले मन्त्रालय फुटाएका थिए। त्यसबेला सात वटा मन्त्रालयलाई फुटाएर १० वटा पुर्याइएको थियो।
त्यसबेला भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाइएको थियो।
असार १७ गते संघमा नेपाली कांग्रेस र एमालेबीच ७ बुँदे सहमति गर्दै नयाँ सरकार बनाउनेलगायत समझदारी बनेको थियो।
त्यसपछि एमालेका मन्त्रीहरू सुदूरपश्चिम सरकारबाट बाहिरिए, समर्थन पनि फिर्ता लिए। त्यसयता अल्पमतमा परेका एकीकृत समाजवादी संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले पदबाट राजीनामा नदिने बरू संवैधानिक व्यवस्थाअनुसार विश्वास मत लिने बताइरहेका छन्।
साउन ६ गतेका लागि विश्वास मतको प्रस्ताव पेस गर्न भने पनि त्यो प्रक्रिया सुरू गरिएन। कामचलाउ सरकारका मुख्यमन्त्री सोडारीले अहिले मन्त्रिमण्डलमा हेरफेर गरेका छन्।
फुटाएका मन्त्रालय जोडेर मुख्यमन्त्री सोडारीले १० बाट ७ वटा मन्त्रालयमा झारेका हुन्। उनले बिहीबार मन्त्रीहरूको कार्यविभाजनसमेत गरेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर यसअघि माओवादीका अक्कल रावललाई जलस्रोत तथा सहरी मन्त्री बनाइएकोमा बिहीबार उनलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ।
यसअसघि एमालेका सुरेन्द्र पाल आर्थिक मामिला मन्त्री थिए। मन्त्रालय फुटाइएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
सुरूमा उनी जेठ ६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमै नियुक्त भएका थिए। बिहीबार फेरि उनी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन्।
यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको थियो।
बिहीबार लक्ष्मी विक आन्तरिक मामिला तथा कानून मन्त्री बनेकी छिन्। ओमविक्रम भाट सरल पनि फेरि सामाजिक विकास मन्त्री बनेका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर एमालेका वीरबहादुर थापालाई वन तथा सहकारी र एकीकृत समाजवादीका माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको थियो।
अहिले एकीकृत समाजवादीकी पन्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेकी छिन्। यसअघि एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। नागरिक उन्मुक्तिकै टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छिन्।