नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा अहिलेसम्म पनि मन्त्री पठाउन सकेको छैन। असार १७ गते केन्द्रमा नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन टुटेको थियो। त्यसपछि कांग्रेस र एमालेबीच सरकार बनेको छ।
सोहीअनुसार कर्णाली प्रदेशमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने भए पनि कांग्रेसले मन्त्रीको नाम पठाउन सकेको छैन।
मुख्यमन्त्री यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा काठमाडौंमा भएको बहाना बनाएर माओवादीबाट सहभागी मन्त्रीले असार ७ गते कर्णाली प्रदेश सरकारबाट बाहिरिएका थिए। सोही दिन पार्टीले एमालेका यामलालको नेतृत्वमा भएको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
यसअघि २०८० माघमा केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णाली सरकारमा माओवादीबाट चार जना मन्त्री सहभागी भएका थिए। परिस्थितिअनुसार नेतृत्व छोडेको माओवादीले त्यसबेला भौतिक पूर्वाधार तथा सहरी विकास, जलस्रोत तथा ऊर्जा, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय लिएको थियो।
कर्णाली सरकारबाट माओवादी फिर्ता हुनुअघि नै नेपाली कांग्रेसका आकांक्षी सांसदहरू मन्त्रीको लागि लबिइङ गर्न काठमाडौं गइसकेका थिए। तर हालसम्म पनि को मन्त्रीका रूपमा सरकारमा सहभागी हुने भन्ने विषयमा टुंगो नलाग्दा एक सातादेखि कर्णालीको मन्त्रिपरिषद अपूर्ण छ।
संसदीय दलका नेता जीवन शाही (हाल निलम्बित), कर्णालीबाट पार्टीको उच्च पदमा रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का काठमाडौंमा हुने भएकाले सरसल्लाहको लागि भन्दै सांसदहरू त्यता गएको नेपाली कांग्रेसका एक प्रदेश सांसदले बताए।
बीचमा भएका सल्लाह र निष्कर्षका बारेमा जानकारी सुर्खेतमा भएका दलका सदस्यहरूले नपाएको उनले बताए।
‘संसदीय दल नेता, उपसभापति ज्यूहरू त्यतै हुने भएकाले केही सदस्यहरू पनि जानुभएको हो, उहाँहरूले गरेको सल्लाह र निर्णयका बारेमा यहाँ कुनै जानकारी भएको छैन,’ ती सांसदले भने, ‘सम्भवतः एक/दुई दिनमै यो विषयमा टुंगो लागेर सरकारमा मन्त्रीहरू जानुहुनेछ।’
कर्णाली प्रदेश सरकारमा कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा मोटामोटी टुंगो लागेको कांग्रेस सांसद घनश्याम भण्डारीले बताए। उनले अबको केही दिनमा कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाउने बताए।
नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्य समितिले आइतबार बैठक बसेर एमालेसँगको सहकार्यमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने सैद्धान्तिक निर्णय गरेको छ।
कांग्रेस कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर बिष्ट, सदस्य राजिव विक्रम शाह लगायत सांसदहरू लबिङको लागि काठमाडौं पुगेका थिए।
आफूहरू मंगलबार सुर्खेत फर्किने र बुधबारसम्म सरकारमा मन्त्री पठाइने प्रमुख सचेतक बिष्टले बताए।
‘सबै नेताहरू काठमाडौंमै भएकाले हामी पनि सरसल्लाहका लागि आएका हौं, छलफल जारी छ, आज (सोमबार) सम्म टुंगो लाग्छ,’ उनले भने, ‘हामी पनि भोलि फर्किएर निर्णय गरी छिट्टै टुंग्याउँछौं।’
हाललाई माओवादी फिर्ता भएपछि खाली भएका चार वटा मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी हुने सांसद बेदराज सिंहले बताए।
सरकारको नेतृत्व गरेको एमालेले भने मन्त्रालयमा हेरफेर गरेर कांग्रेसलाई सरकारमा सहभागी गराउने संकेत देखाएको छ।
गत शुक्रबार पत्रकारसँग औपचारिक भेटघाट गरेको मुख्यमन्त्री यामलाल कँडेलले यस्तो संकेत गरेका हुन्।
‘कांग्रेसले कहिले र कसलाई मन्त्री बनाएर पठाउने भन्ने त्यो दलको आफ्नो निर्णय होला,’ पत्रकारसँग भेटघाटका क्रममा उनले भने, ‘खाली ठाउँ भरेर मात्र नहुने होला, यसमा थप छलफल गर्नुपर्ने हुनाले पनि समय ढिलाइ हुन सक्छ।’