गत असार १७ गतेको सहमतिअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर संघीय सरकार बनाए।
संघदेखि प्रदेशसम्म आलोपालो सरकार बनाउने सहमति गरेका कांग्रेस र एमालेले प्रदेश सरकारहरू पनि गठन गरिरहेका छन्।
नयाँ समीकरणबाट अहिलेसम्म लुम्बिनी र बागमती सरकार बनेको छ भने जनमत पार्टी नेतृत्वमा रहेको मधेस सरकारलाई पनि कांग्रेस र एमालेले साथ दिएका छन्।
कर्णाली र कोशीमा एमाले नेतृत्वमा रहेका सरकारमा कांग्रेस सहभागी हुन बाँकी छ भने कांग्रेस नेतृत्वमा रहेको गण्डकी सरकारमा एमाले सहभागी हुन बाँकी छ। संघमा कांग्रेस र एमालेबीच समीकरण बनेसँगै मधेसबाहेक सबै प्रदेशमा उनीहरूले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।
सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले पाउँछ। यहाँ अहिले नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारीको नेतृत्वमा अल्पमतको सरकार छ। मुख्यमन्त्रीले विश्वास मत लिने तयारी गरेका छन्। उनले विश्वास मत नपाउने अवस्था छ। उनले साउन १८ गतेभित्र विश्वास मत लिनुपर्ने अवस्था छ।
यसो हुँदा यहाँ नयाँ सरकार बन्नेछ। एमालेको समर्थनमा कांग्रेसले सुदूरपश्चिम सरकार बनाउन खोजेको छ। तर कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने निर्क्योल भइसकेको छैन।
कांग्रेस सुदूरपश्चिम संसदीय दल नेता कमलबहादुर शाह छन्। उनी यसअघि मुख्यमन्त्री भइसकेका छन्। संसदीय दल नेता पनि भएकोले उनैलाई निरन्तरता दिने वा अरूलाई मुख्यमन्त्रीमा अघि सार्ने भन्ने निर्णय भइसकेको छैन। शाह यसअघि १४ महिना मुख्यमन्त्री भएका थिए।
सुदूरपश्चिममा डेढ वर्षको अवधिमा अब बन्ने सरकार चौथो हो।
नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसभित्र चार जना आकांक्षी देखिएका छन्।
पूर्वमुख्यमन्त्री शाह, पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी छन्।
संसदीय दल नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शाहबाहेकलाई मुख्यमन्त्रीमा अघि सार्दा संसदीय दलको नेता चयन गर्नुपर्ने हुन सक्छ। संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न संसदीय दल नेता आवश्यक पर्दैन तर पार्टीभित्रको विधि मिचिन्छ।
लुम्बिनीमा एमालेले संसदीय दल नेता लिला गिरीलाई मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउँदा एमालेभित्र विवाद देखा परेको थियो।
बागमती प्रदेशको मुख्यमन्त्रीमा पनि कांग्रेसका बहादुरसिंह लामा तामाङ र ईन्द्र बानियाँ आकांक्षी थिए। तर संसदीय दल नेता तामाङलाई नै मुख्यमन्त्री बनाउने पक्षमा सभापति देउवा उभिएका थिए।
तर सुदूरपश्चिममा सभापति देउवानिकट केही सांसदहरू युवा पनि भएकोले सांसद प्रकाश देउवालाई मुख्यमन्त्रीमा अघि सार्नुपर्नेमा छन्।
‘मुख्यमन्त्रीमा चार जना आकांक्षी देखिनुभएको छ, कसलाई मुख्यमन्त्री बनाउने अब सभापति देउवाकै निर्णय कुर्नुपर्छ,’ कांग्रेस सुदूरपश्चिमका एक सांसदले सेतोपाटीसँग भने, ‘सभापति देउवाले जसलाई भन्नुहुन्छ उही मुख्यमन्त्री होला।’
कांग्रेस र एमाले सुदूपश्चिमका नेताहरू सरकार गठनलगायतका विषयमा कुराकानी गर्न मंगलबार काठमाडौं पुगेका छन्।