नेकपा एमालेले ६६ जिल्लाको अधिवेशन सम्पन्न गर्दा एउटा जिल्लामा मात्र महिला अध्यक्ष निर्वाचित भएकी छन्।
कञ्चनपुरमा ४३ वर्षीया लक्ष्मी बुढा सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित भएकी हुन्। यहाँ गएको चैतमा अधिवेशन सम्पन्न भएको थियो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, पहरिया निवासी लक्ष्मी किशोरावस्थामै राजनीतिमा लागेकी थिइन्। राजनीतिको प्रभाव भने उनी हुर्किँदै गर्दा परेको थियो। किनभने उनका बुबा दमोदर भण्डारी र आमा द्रोपती भण्डारी दुवै राजनीतिमा सक्रिय थिए। पेसाले कृषक थिए।
दामोदर २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवार थिए तर पराजित भए। द्रोपती २०५४ सालको निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी थिइन्।
दामोदर गाउँमा ‘नेताजी’ भनेर चिनिन्थिन्। घरमा राजनीतिक मान्छेहरू जम्मा हुन्थे। राजनीतिकै गफ चल्थ्यो। लक्ष्मी यस्तै घरेलु माहोलमा हुर्किइन्।
‘राजनीतिक संस्कारबाट हुर्कें। सानै उमेरमा पनि राजनीतिमा लाग्छु भन्ने सोच्थें,’ उनले भनिन्।
उनी ७ कक्षामा पढ्दै गर्दा २०५१ सालमा स्कुलको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को सदस्य बनिन्। त्यही नै उनको राजनीतिक जीवनको सुरूवात थियो। त्यही उमेरदेखि उनको झुकाव नेकपा एमालेतर्फ भयो।
स्ववियु सदस्य भएपछि कम्युनिस्ट सिद्धान्त बुझ्ने अवसर पाइन्। श्रमजीवी वर्गको न्यायका लागि काम गर्नु कम्युनिस्टको मुख्य सिद्धान्त हो भन्ने बुझिन्।
कमैया, कमलरी, दलित र गरिबको हितका लागि उनीहरूका पक्षमा आवाज उठाउनुपर्छ भन्ने थाहा पाइन्। घरमा उनका बुबा दामोदर यस्तै कुरा गर्थे। आमा पनि महिला अधिकारको कुरा गर्थिन्।
२०४९ सालको चुनावमा पराजित भएपछि बुबा दामोदर राजनीतिबाट पछि हटे।
२०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरका तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भए। जितको महोलले लक्ष्मीको बालमस्तिष्कमा राजनीतिको गाढा छाप बनायो।
उनलाई बुबा राजनीतिबाट पछि हटेको निको लागेन। त्यही बेला उनले आफू राजनीतिमा लाग्ने अठोट गरिन्।
लक्ष्मी राजनीति बुझ्दै थिइन्, १७ वर्षकै उमरमा कृष्णपुरकै युवकसँग विवाह भयो। श्रीमान् भारतमा काम गर्थे, अहिले पनि उतै छन्। बिहेपछि पनि लक्ष्मी आफ्नो अठोटबाट पछि हटिनन्।
गाउँमा अलिक पढेलेखेकी उनै थिइन्। सामूहिक निर्णय लिनुपर्ने अवस्थामा गाउँलेहरूले उनलाई पनि अघि सार्थे।
लक्ष्मी घरकी जेठी बुहारी थिइन्। बुहारी हुनुको पारिवारिक जिम्मेवारी पूरा गर्दै सामाजिक गतिविधिमा अघि बढिन्। बिहे गरेर गएको घरमा राजनीति वातावरण थिएन, उनलाई अवरोध पनि थिएन। बरू सहयोग नै पाएको उनले बताइन्।
बिस्तारै नेकपा एमालेको गतिविधिमा सहभागी हुँदै स्थानीय पार्टी संगठनमा पुगिन्। त्यतिबेलै लक्ष्मी दुई छोराछोरीकी आमा भइन्। छोराछोरी सासुआमाको जिम्मा लगाएर पनि पार्टी बैठकमा गइन्।
‘मैले परिवारबाट पूरा सहयोग पाएँ। सासु, ससुरा, देवर सबैले साथ दिनुभयो। त्यो बेला राजनीतिमा मान्छे नै थोरै थिए। महिला झन् थोरै थिए,’ उनले भनिन्, ‘पार्टीमा पनि सहयोग पाएँ तर कुरा काट्ने पनि हुन्थे। कतिपय मान्छे किन पार्टीमा कुद्छे भन्थे।’
कुरा काटेको सुन्दा कहिलेकाहीं त उनलाई राजनीतिबाट बिदा होऊँ कि भन्ने पनि लाग्थ्यो तर आफूलाई सह्माल्थिन्।
‘राति शान्त मनले सोच्थें। म जत्तिकी महिला पनि हार खाने हो भने राजनीतिमा कुन महिला टिक्छे भन्ने लाग्थ्यो। अनि अझ सक्रिय भएर अघि बढ्ने आँट पलाउँथ्यो,’ उनले भनिन्।
लक्ष्मी २०६० सालदेखि लगातार पार्टीका विभिन्न कमिटीमा छिन्। उनले २०५१ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सदस्यता लिएकी थिइन्। त्यसको दुई वर्षपछि पार्टीको सदस्यता लिइन्।
गाउँ, इलाका, क्षेत्र हुँदै उनी जिल्ला कमिटीमा पुगिन्। जिल्ला कमिटीमा तीन पटक सदस्य भइन्। चौथो पटक उपाध्यक्ष भइन्। पाँचौँ पटक सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित भइन्।
सर्वसम्मत त भइन् तर अविश्वास गरेर प्रश्न उठाउनेहरू पनि थिए। उनले भनिन्, ‘हिजो उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुँदा राम्रो काम गरेको भन्नेहरूले नै म अध्यक्षका लागि अघि सर्दा क्षमताको प्रश्न उठाए। महिलाले जिल्ला संगठनको सक्दैन भनेर शंका गरे।’
जिल्ला अधिवेशन उद्घाटन हुँदासम्म अध्यक्ष पदमा धेरै जना आकांक्षी थिए। एक जनाले त उजुरी नै दर्ता गराए। अन्ततः लक्ष्मीकै नाममा सहमति भयो।
उनले भनिन्, ‘अन्तिममा सबैले सहयोग गर्नुभयो। पार्टी अध्यक्ष (केपी शर्मा ओली) पनि महिला अध्यक्ष भएको हेर्न चाहनुहुन्थ्यो।’
पार्टी संगठनमा निरन्तर २० वर्षभन्दा बढी काम गरेको हुनाले पनि आफू निर्वाचित भएको उनको भनाइ छ।
लक्ष्मी २०७४ सालको निर्वाचनमा प्रदेशसभाका लागि समानुपातिकतर्फको सूचीमा परेकी थिइन् तर नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका कारणले आफ्नो अवसर गुमेको उनले बताइन्।
उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयर पदमा दाबी गरेकी थिइन् तर पार्टीमा अवसर पाइनन्। त्यतिबेला एमालेकै उम्मदवार विजयी भएका थिए।
२०७९ सालको निर्वाचनमा पनि उनी प्रदेशसभाका लागि समानुपातिकतर्फको सूचीमा थिइन् तर निर्वाचित हुनेमा परिनन्।
राजनीतिमा लागे पनि घर चलाउने आम्दानी त नभई हुँदैन। आम्दानीका लागि ‘बीमा एजेन्ट’ भएर काम गर्छिन्। श्रीमान् भारतमै छन्।
लक्ष्मी स्वास्थ्यकर्मी पनि हुन्। एसएलसी परीक्षा उत्तीर्ण गरेपछि प्राविधिक शिक्षातर्फ अनमी कोर्स पढिन् र स्वास्थ्य स्वयंमसेवीका भएर काम गरिन्।
उनी गाउँमा स्वास्थ्य जनचेतना जगाउने काममा लागिन्। आमासमूह गठन गरेर गर्भवतीको हेरचाह र मातृशिशु स्याहारबारे सिकाइन्।
प्राविधिक शिक्षा पढेपछि जागिरे कामको अवसर पनि आएको थियो। राजनीतिमै लाग्ने अठोट गरिन्, जागिरमा गइनन्।
लक्ष्मीले एक वर्ष जिल्ला कमिटीमा कार्यवाहक अध्यक्ष काम गरिन्। अध्यक्ष निर्वाचित भएपछि २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर अघि बढेकी छन्।
टोल, वडा र सबै तहका कमिटी निर्माण गरेर पार्टीलाई एक ढिक्का बनाउने काममा लागेकी छु,’ उनी भन्छिन्, ‘म संगठनमा विश्वास गर्छु। पैसा खर्च गरेर, जागिरको लोभ देखाएर कसैलाई पनि सदस्य बनाउँदिनँ।’
हाल उनी जिल्लाका ९ वटा स्थानीय तहका ९२ वडामा पार्टी कमिटी गठन गर्ने काममा लागेकी छन्। स्थानीय तहका कमिटीको अधिवेशन चल्दैछ। हालसम्ममा तीन वटाको अधिवेशन पूरा भएको छ।
उनले भनिन्, ‘काममा सबैको सहयोग पाएकी छु, नेताहरूसँग सल्लाह गरेर, सबैलाई समेटेर अघि बढ्छु।’
हाल नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीमा १२० सदस्यीय कार्यसमिति छ।
२०७९ सालको निर्वाचनमा जिल्लामा पाँच हजार ७५६ जना संगठित सदस्य थिए। आफ्नो कार्यकालमा मतदाता संख्याको कम्तीमा ६ प्रतिशत संगठित सदस्य बनाउने उनको लक्ष्य छ।
गत निर्वाचन नेकपा एमालेले कञ्चनपुरमा प्रतिनिधिसभाका तीन क्षेत्रमध्ये एउटामा र प्रदेशसभका ६ क्षेत्रमध्ये एउटामा जित हासिल गरेको थियो।
‘मेरो लक्ष्य पार्टी संगठन बलियो बनाएर जिल्लामा एमालेलाई पहिलो बनाउने हो,’ लक्ष्मी भन्छिन्, ‘महिला अध्यक्षले गरेको कामको उदाहरण दिएर अर्को अधिवेशनमा कम्तीमा ३३ प्रशितशत महिला अध्यक्ष भएको देख्न चाहन्छु।’
उनका अनुसार पार्टी संगठनमा सदस्यता लिने महिलाको संख्या बढे पनि राजनीतिमा सक्रिय हुने थोरै छन्।
उनी भन्छिन्, ‘२०७४ मा जनप्रतिनिधि बनेका महिलाहरू अहिले गुमनाम छन्। राजनीतिमा बोल्ने र अधिकारको आन्दोलन गर्ने कुरामा महिलाहरू निकै पछाडि छन्।’
क्षमतामा कम नभए पनि पुरूषका तुलनामा थोरै मात्र अवसर पाउने गरेकाले पनि महिलाहरू राजनीतिमा सक्रिय हुन नचाहेको उनको धारणा छ। उनका अनुसार राजनीतिमा लाग्न महिलाले घरपरिवारबाट पनि उचित सहयोग पाउँदैनन्।
राजनीतिप्रति वितृष्णा हुन नदिन जिल्लाका सबै तहका संगठनमा पार्टीको विधानअनुसार युवा र महिलालाई जोड्ने लक्ष्मीको अठोट छ।
यसो भए पार्टी संगठन बलियो हुन्छ र युवाहरू राजनीतिमा आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ।