नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।
शाह यसअघि १४ महिना सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए।
शाहलाई नै पुन: मुख्यमन्त्रीमा दोहोर्याउने कांग्रेस संसदीय दलको आइतबारको बैठकले निर्णय गरेको थियो।
नवनियुक्त मुख्यमन्त्री शाहको शपथ सोमबार हुनेछ। मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सुदूरपश्चिम प्रदेश सभामा अहिले कायम रहेको सांसद संख्या ५३ हो। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन चाहिन्छ।
सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। यी दुई दलमात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ।
शाह यसअघि २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई माओवादी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको समर्थन थियो।
त्यसपछि एमाले र नाउपाको समर्थनमा एमालेका राजेन्द्रसिंह रावल एक महिना मुख्यमन्त्री बनेर बाहिरिए। विश्वास मत पाउन नसकेपछि रावल पदमुक्त भएका थिए।
मुख्यमन्त्री शाह को हुन्?
नवनियुक्त मुख्यमन्त्री शाह २०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका हुन्।
उनी बुबाको जागिरसँगै तराई झरेका थिए। उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन्। उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन्।
टीकापुरको वीरेन्द्र विद्या मन्दिरमा उनले विद्यालय तहको पढाइ सकेका थिए।
शाहले व्यवस्थापन (कमर्स) मा स्नातक गरेका छन्।
२०४४ सालमा नेबिसंघ हुँदै राजनीतिमा प्रवेश गरेका उनी २०४६ सालदेखि ०५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य थिए।
साथै उनी खेलकुद विभाग कोषाध्यक्ष र सचिव तथा उपाध्यक्ष पनि भएका थिए।
पार्टीको नवौं महाधिवेशनदेखि अहिलेसम्म उनी महासमिति सदस्य छन्।
२०४६ र २०६३ को जनआन्दोलनमा पटक-पटक गरी चार महिना उनी जेल बसेका थिए।
कांग्रेसका नेता केशवसिंह कडायतको जीवनीबाट आफूलाई राजनीतिमा आउने प्रेरणा मिलेको उनी बताउँछन्।
२०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली– २ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।
२०७९ को प्रदेश सभा निर्वाचनमा उनले नागरिक उन्मुक्तिबाट चुनाव लडेका रतन थापालाई हराएका थिए।
उनी सर्वसम्मत रूपमा कांग्रेस संसदीय दल नेता बनेका थिए। मुख्यमन्त्रीका लागि यसपालि सांसद प्रकाश देउवासहित चार जना आकांक्षी रहेकोमा सभापति शेरबहादुर देउवाले नै संसदीय दल नेता शाहलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए।
शाहले विगतमा १४ महिना सरकारको नेतृत्व गरेका थिए। त्यसबेला भएका कमीकमजोरीलाई यसपालि सुधार गर्ने तयारीमा उनी छन्।