सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार अपराह्न ३ बजे शपथ लिँदैछन्।
सोमबार नै मन्त्रीहरूको शपथ गर्ने तयारी छ।
नेपाली कांग्रेस संसदीय दल नेता शाह नेकपा (एमाले) को समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए।
सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइने भएको छ।
एमाले, नाउपाले सरकारमा पठाउने मन्त्रीका नाम लगभग टुंगो लगाए पनि कांग्रेस भने छलफलमै छ।
संसदीय दल नेता शाहले सोमबार दिउँसो १ बजे संसदीय दल बैठक बोलाएका छन्। उक्त बैठकमा छलफल गरी मन्त्रीका नाम टुंगो लगाउने तयारीमा उनी छन्।
‘ठूलो दल भएकोले पनि मन्त्री बन्ने धेरै आकांक्षी हुनु स्वाभाविक हो,’ मुख्यमन्त्री शाहले भने, ‘विवाद नहुने गरी हामी संसदीय दलबाट नै मन्त्री चयन गर्छौं।’ उनले सकेसम्म सोमबार नै सबै मन्त्रीहरू नियुक्त भई शपथ गराइने पनि बताए।
१८ सांसद रहेको कांग्रेसबाट मन्त्री बन्नेको आकांक्षी धेरै हुँदा कसलाई पठाउने भन्ने निर्णय गर्न सकस परेको हो। कांग्रेसले दुइटा मन्त्रालय लिने भएको छ।
यसअघिका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा मन्त्री नबन्ने भएका छन्। उनी मुख्यमन्त्रीको आकांक्षी थिए। तर सभापति शेरबहादुर देउवाले संसदीय दल नेता शाहलाई नै मुख्यमन्त्रीमा दोहोर्याउन निर्देशन दिएका थिए।
मुख्यमन्त्री शाहले दुईमध्ये एक मन्त्रालय लिन सांसद प्रकाश देउवालाई आग्रह गरे पनि उनले आफू मन्त्री नबन्ने बताएका छन्। त्यसपछि कांग्रेसले अहिलेसम्म मन्त्री नभएकालाई मन्त्रीमा पठाउने गरी संसदीय दल बैठकमा छलफल गर्ने भएको छ।
एमालेले भने आफूले पाएको तीन मन्त्रालयमा पठाउने मन्त्रीको नाम लगभग टुंग्याएको छ। सांसद सुरेन्द्रबहादुर पाल र वीरबहादुर थापा मन्त्री बन्ने भएका छन्। उनीहरू यसअघि पनि मन्त्री भइसकेका थिए।
एमालेबाटै सन्तोष कुमारी थापा शर्मा पनि मन्त्री बन्ने चर्चा छ। एमालेले मन्त्रीहरूबारे औपचारिक निर्णय भने गरिसकेको छैन।
नाउपाबाट सांसद लक्ष्मणकिशोर चौधरी मन्त्री बन्ने भएका छन्।
सुदूरपश्चिममा मुख्यमन्त्रीसहित कांग्रेसले ३, एमालेले ३ र नाउपाले एक मन्त्री लिने गरी भागबन्डा भएको छ।
नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि शाह नेतृत्वमा नयाँ सरकार बनेको हो। शाह यसअघि पनि १४ महिना मुख्यमन्त्री बनेका थिए।