पार्टीभित्रका तीन वटा समूहका सांसदहरुबीच मन्त्री भागबन्डामा कुरा नमिलेपछि नेपाली कांग्रेसको कोशी सरकारमा हुने सहभागिता अझै अनिश्चित बनेको छ।
यसअघिको ‘वाम गठबन्धन’ को एक सहयात्री नेकपा माओवादी केन्द्रले कोशी सरकार छाडेको १० दिन पूरा भइसकेको छ।
तर, सत्तारुढ एमालेको नयाँ सहयात्री कांग्रेसले कोशीमा मन्त्री बनाएर पठाउनेहरुको नाम टुंगो लगाउनै सकेको छैन।
संस्थापन समूहका सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूह र संस्थापनइतर शेखर कोइराला समूहका सांसदहरुबीच मन्त्री बन्ने होड छ। अहिलेसम्म केन्द्रले नाम टुंगो नलगाएकै कारण सरकारमा सहभागिता अनिश्चित भएको प्रदेश संसदीय दलको भनाइ छ।
‘मन्त्रीको नाम हामीले होइन, केन्द्रले टुंग्याउने हो’, कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले भने, ‘त्यसैले कहिले टुंगो लाग्छ यसै भन्न सकिएन। अबको एक सातामा सकिएला भन्ने आशा छ।’
सरकारमा जान भइरहेको ढिलाइप्रति दलभित्रै आलोचना सुरु भइसक्दा समेत कांग्रेस संसदीय दलका नेता थापा भने आफ्नो हातमा केही नभएको बताउँदै अझै एक साता समय लाग्न सक्ने जवाफ दिएर टार्न थालेका छन्।
कोशी सरकारमा सहभागी हुने मन्त्रीहरू छान्नका लागि केन्द्रीय नेताहरूलाई बल्ल पालो आएको उनले बताएका छन्। उपनेता हिमाल कार्कीले भने यो ढिलाइप्रति असन्तुष्टि प्रकट गरेका छन्।
थापाले प्रदेशमा सरकारमा जान कुनै पनि समस्या नभएको र निर्णय गर्नलाई पनि कठिनाइ नभएको बताए। नेतृत्वबीचमा कोशीभन्दा महत्वपूर्ण बागमती, गण्डकी र सुदुरपश्चिम सरकार रहेका कारण कोशी प्रदेशको सरकारमा जान ढिलाइ भएको बताए।
यसरी ढिलाइ हुने विषयले कांग्रेसलाई नै नकारात्मक असर पर्ने उपनेता कार्कीको बुझाइ छ।
‘यति लामो समयसम्म सरकारमा नजानु पार्टीको लागि राम्रो सन्देश होइन, सरकारमा जान भइरहेको ढिलाइ राम्रो होइन,’ उपनेता कार्कीले भने, ‘यसले हामी कसैलाई पनि राम्रो गर्दैन, सत्ता सहकार्यमा रहेको अर्को दलले समेत अविश्वास गर्न सक्ने अवस्था बन्छ, जुन कुरा हाम्रो लागि ठिक होइन।’
सरकारमा जान ढिलाइ भइरहेको स्वीकार गर्दै थापाले भने अझै हप्ता–दस दिन समय लाग्न सक्ने बताए। त्यो समय धेरै लामो नभएको उनको भनाइ थियो।
कोशी सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयले पार्टीभित्र छलफलमा प्रवेश नै नपाएको उनले बताए।
‘मन्त्री कसलाई बनाउने भन्ने कुरा पार्टीका नेताहरू बसेर निर्णय गर्ने हो’ उनले भने । मन्त्री पठाउँदा वैज्ञानिक पद्दति विकास गरेर पठाउने र सबैको आलोपालोमा सबैको नेतृत्व पुग्ने गरी पठाउने गृहकार्य भइरहेको उनले बताए।
‘कसको नेतृत्वमा जाने भन्ने अहिले निर्णय भएको छैन, कोशीको त विषय नै प्रवेश भएको छैन, कहाँबाट कसको नेतृत्वमा जाने भन्ने कुरा अहिले छलफलै भएको छैन’ थापाले भने,‘ म सोमबार काठमाडौं पुग्दैछु। नेताहरुसँग छलफल गरेर अघि बढ्ने हो।’
कोशीमा मन्त्री बन्नका लागि संस्थापन समूहमा रहेका केन्द्रीय सदस्यद्वय अमृत अर्याल र प्रदीप सुनुवार, दलका उपनेता हिमाल कार्की, सांसदहरु खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, मैया श्रेष्ठ लगायत दौडमा छन्।
सिटौला समूहबाट केन्द्रीय सदस्य भीम पराजुली, प्रदेश महामन्त्री भूपेन्द्र राई, शोभा चेम्जोङ लगायत दौडमा रहँदा शेखर कोइराला समूहबाट गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री दौडमा छन्।
कांग्रेस नेताहरुका अनुसार पार्टीका यी तीन समूहका बीचमा मन्त्रालय र संख्या बाँडफाँटमा कुरो मिल्न सकेको छैन।
‘आफ्नै गृह प्रदेश भएका कारण शेखर कोइराला समूहले कोशीमा कम्तीमा दुई मन्त्रालय माग गरेको छ’, कांग्रेस कोशीका एक सांसदले भने, ‘तर, संस्थापन पक्ष आफूसँग दुईटा र सिटौला र शेखर समूहलाई एक–एक वटा दिने तयारीमा छ। त्यसैले कुरा मिल्न सकेको छैन।’
कोशीमा कांग्रेसले चार वटा मन्त्रालय पाउने सहमति यसअघि नै एमालेसँग भइसकेको छ। कोशीमा एमालेसँगको सहमतिअनुसार कांग्रेसले यसअघि माओवादीले सम्हालेका तीन वटा मन्त्रालयहरू; भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालय पाउनेछ। त्यसबाहेक सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयमध्ये थप एउटा मन्त्रालय पाउने विषयमा सहमति टुंगिएको छ।
तर, मन्त्रालय टुंगो लागेको १० दिन बितिसक्दा पनि कांग्रेसले मन्त्रीको नाम नपठाउँदा मन्त्रीपरिषदमा कांग्रेसको सहभागितामा ढिलाइ भइरहेको छ।
मुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले भने कांग्रेसले नाम पठाउने बित्तिकै मन्त्रीपरिषदलाई पूर्णता दिन आफू तयार भएर बसेको बताइरहेका छन्।