नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफलका ११ एजेन्डा छन्।
तर नेकपा (एमाले) सँगको सत्ता गठबन्धन केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
बुधबारदेखि सुरू केन्द्रीय समिति बिहीबार पनि चल्यो।
बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेट प्रकरणको प्रसंग उठाए।
यी प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सदन र बाहिरका कार्यक्रममा पनि बोलेकोले त्यसले एमालेसँगको गठबन्धनलाई अप्ठेरोमा पार्ने दाबी उनको रह्यो।
'यी प्रकरणहरूलाई निष्कर्षमा नपुर्याउने हो भने कांग्रेस-एमाले गठबन्धनको औचित्य छैन भनेर एक महामन्त्रीले संसदमै बोल्नुभयो,' महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै बस्नेतले भने।
साउन १३ गते बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेट प्रकरणको छानबिन अघि बढाउन सरकारसँग माग गरेका थिए।
यो पनि: गिरीबन्धु टी-इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न महामन्त्री शर्माको माग
उनी यतिमा रोकिएनन्। अर्का महामन्त्री गगन थापालाई लक्षित गर्दै थप कुरा राखे।
महामन्त्री थापाले हालै कोरियामा दिएको एक अभिव्यक्ति लक्षित गर्दै बस्नेतले भनेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'यसबाट के देखिन्छ भने महामन्त्रीहरूले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भन्ने सोच राखेर यस्तो बोल्दैछन्, यस्तो हर्कतलाई रोक्नुपर्छ।'
बस्नेत सभापति देउवानिकट छन्। केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो गुटलाई फाइदा पुग्ने गरी बोल्ने गर्छन्। कांग्रेसमा यो प्रवृत्ति नै बनेको छ।
गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिमा पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र पछिल्लो डेढ वर्ष कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ।
केन्द्रीय समितिमा प्रदेश सभापतिहरू पनि आमन्त्रित सदस्यका रूपमा सहभागी हुन्छन्।
लुम्बिनी सभापति अमरसिंह पुन मगरले सभापति देउवाको कार्यशैलीको विरोध गरे। प्रदेशहरूमा सरकार गठन तथा मन्त्री छनोटमा पनि सभापति देउवाले हस्तक्षेप गरेको उनको भनाइ रह्यो। उनले यसअघि सभापति देउवालाई पत्र नै बुझाएर प्रदेशमा हस्तक्षेप नगर्न भनेका थिए।
केन्द्रीय सदस्य डिला संग्रौलाले संघीयदेखि प्रदेश सरकारका कामकारबाही हेर्न पार्टीले संयन्त्र बनाउनुपर्नेमा जोड दिइन्। केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य राजन केसीले प्रदेश कार्यसमितिलाई थप अधिकार दिनुपर्ने बताए।
केन्द्रीय समितिमा धर्मबारे पनि कुरा उठ्यो। केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले वैदिक सनातन धर्म सापेक्ष मुलुक बनाउन संविधान संशोधनको नेतृत्व नै कांग्रेसले गर्नुपर्छ भनेका छन्।
अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान संशोधनबारे जनतालाई र कार्यकर्तालाई सुसूचित गरिनुपर्ने बताए।
केन्द्रीय सदस्य राजिब कोइरालाले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार सरकार बनेकोले यसको औचित्य कामबाट प्रमाणित हुनुपर्ने धारणा राखे।
बिहीबारको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले संघीय संसदका गतिविधिबारे ब्रिफिङ गरेका थिए। बुधबारको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले बंगलादेश लगायत देशका पछिल्लो विकसित घटनाक्रम र गृहमन्त्री रमेश लेखकले एमालेसँगको सत्ता सहयात्रा लगायतबारे ब्रिफिङ गरेका थिए।
केन्द्रीय समिति बैठकमा फागुन १० मा महासमितिबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमति सरकार गठनबारे, १०० दिने संगठन सुदृढीकरण अभियान, अनुशासन कारबाहीका लागि भएका सिफारिसबारे, रिक्त पदमा पदपूर्ति, क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रिया, जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका लगायत एजेन्डा छलफलका लागि पेस भएका छन्।
कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ जना केन्द्रीय सदस्य छन्।
यो पनि: जनप्रतिनिधिका काम प्रभावकारी बनाउन कांग्रेसले बनायो निर्देशिका, यस्ता छन् २९ बुँदा