सरकार आफैले पत्रिका प्रकाशन गरेकोदेखि बजेट निर्माण गरेकोसम्मका ६० वटा बुँदा समेटेर कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गरे।
सत्ता सहयात्री कांग्रेस सरकारमा सहभागी हुन ढिलाइ गर्दा एमाले एक्लैले कोशीमा अहिले सरकार चलाइरहेको छ। माओवादी केन्द्र सरकारबाट बाहिरिएको २० दिन पूरा भइसकेको छ। यहीबेला सरकारले गरेका कामहरुको प्रचार नभएको भन्दै मुख्यमन्त्री कार्कीले उपलब्धि सार्वजनिक गरेको बताएका छन्।
गएको बैशाख २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले आफ्नो सय दिने उपलब्धिको पहिलो बुँदामा प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ स्वीकृत गरी गुनासो व्यवस्थापन पोर्टल पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उल्लेख गरेका छन्।
उपलब्धिको अर्को बुँदामा मुख्यमन्त्रीले भनेका छन्,‘कोशी प्रदेश प्रशासनका सवालहरू उजागर गर्न, प्रदेशका नीति, रणनीति एवम् कार्यक्रमहरूका बारेमा सरल ढङ्गले प्रसार गर्न कोशी दर्पण पत्रिका प्रकाशन गर्ने कार्य सम्पन्न गरिएको छ।’
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका केही चुनाव हारेक नेताहरु समेटेर प्रदेश सांसदहरुसरह सेवा सुविधा लिने गरी गठन गरेको संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण सम्बन्धि अध्ययन कार्यदललाई पनि मुख्यमन्त्रीले उपलब्धि भनेका छन्।
कार्की पहिलोपटक मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता बनेका चुडामणि आचार्यलाई संयोजक बनाएर गठित कार्यदलमा माओवादीका नेता कुलप्रसाद साम्बा, एमाले नेता जसमाया गजमेर लगायत सदस्य छन्। साम्बा प्रदेशसभा चुनावका पराजित उम्मेद्वार हुन् भने गजमेर प्रदेशको पहिलो कार्यकालमा राज्यमन्त्री बनिसकेकी नेता हुन्।
संघीयता कार्यान्वयन सरकारले गर्ने विषय हुने र नेता व्यवस्थापनकै लागि कार्यदल जरुरी नभएको भन्दै त्यसबेला आलोचना भएको थियो।
तर, एमाले र माओवादी सहमतिमा समिति बनाइएको थियो। मुख्यमन्त्रीले त्यही कदमलाई पनि उपलब्धि भनेर उल्लेख गरेका छन्।
त्यसैगरी उपलब्धिको अर्को बुँदामा भनिएको छ, ‘प्रदेश सरकारबाट सम्पादन हुने कार्यलाई डिजिटाइजेसन गर्ने उद्देश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको।’
वार्षिक नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माण जुनसुकै तहका सरकारको नियमित र अनिवार्य काम हो। तर, मुख्यमन्त्री कार्कीले नीति कार्यक्रम र बजेट निर्माणलाई समेत उपलब्धि मानेर सार्वजनिक गरेका छन्।
‘ आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरिएको’, उपलब्धिको थप बुँदाहरुमा भनिएको छ ,‘प्रदेश सरकारको दोश्रो आवधिक योजना आ.व २०८१–०८२, २०८६–०८७०,’ स्वीकृत गरिएको ।’
प्रदेश सरकारका कामहरूलाई गतिशील र व्यवस्थित गर्न प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश लगानी प्राधिकरण र प्रदेश विकासपरिषद्लाई पूर्णता प्रदान गरिएको, प्रदेशमा देखा पर्ने विभिन्न खालका राजनीतिक र अन्य समस्या समाधान गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा चार सदस्यीय राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरिएको विषय पनि उपलब्धिमा समेटिएका छन्।
यसैगरी प्रदेश आयोजना बैङ्क सञ्चालनमा ल्याई पचास लाखभन्दा माथिका आयोजनाहरूको खरिद प्रक्रिया सुरू गर्नुभन्दा अगाडि अनिवार्य रुपमा आयोजना बैंकमा प्रविष्टि गर्नुपर्ने व्यवस्था गरिएको, मनुसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ विपद व्यवस्थापन परिषद्बाबाट ट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको विषयलाई पनि सरकारले आफ्नो उपलब्धि मानेको छ।
कोशी सरकारले वित्तीयअनुशासन अभिवृद्धि गर्न अनिवार्य दायित्व व्यवस्थापन, बहुवर्षिय आयोजना –कार्यक्रमको दायित्व व्यवस्थापन, विपद् र महामारीको अवस्थामा बाहेक, जेठ पश्चात रकमान्तर–श्रोतान्तर नगर्ने नीतिगत व्यवस्था गरिएको जनाएको छ।
कोशी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरी कृषि, उद्योग, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने नीतिगत व्यवस्था गरी आवश्यक पर्ने बजेट विनियोजन गरिएको भन्दै सरकारले त्यसलाई उपलब्धि भनेको छ।
जंगल सफारी र रेडपाण्डाको प्रजनन केन्द्र स्थापनाको संभाव्यता अध्ययन सम्पन्न गरिएको, नेपालका पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविकविविधताको दिगो व्यवस्थापनका लागि क्षमताअभिवृद्धि परियोजना तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरुवात गरिएको उल्लेख गर्दै सरकारले भनेको छ ‘ प्रदेशमा चलचित्र निर्माणको सम्भाव्यता तथा छायाँङ्कन स्थलको पहिचान गर्न चलचित्र महोत्सव सम्पन्न गरिएको छ । यो पनि उपलब्धि हो।’
भेडेटार स्काई वाक पर्यटन पूर्वाधारको निर्माण सम्पन्न भएको, पर्यटन प्रवर्द्धनमा सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षण, जलवायू परिवर्तन प्रभाव अध्ययन गर्ने उद्देश्यका साथ सगरमाथा दिवश मनाई सगरमाथा आरोहीका सहयोगीहरूलाई सम्मान गरिएको, पासाङ्ग ल्हामू पर्वतारोहण अध्ययन प्रतिष्ठान”गठन गर्नका लागि नीतिगत व्यवस्था गरिएको विषयलाई पनि कोशी सरकारले आफ्नो उपलब्धि भनेको छ।
विक्रम सम्वत् २०८२ लाई कोशी पर्यटन वर्षको रुपमा मनाउने नीतिगत व्यवस्था गरी बजेट विनियोजन गरेको, पुरानो घरको पुरानो काठ ओसारपसारमा सहजताका लागि निर्णय गरिएको विषयलाई आफ्नो सय दिने उपलब्धिमा समेटेको सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका निम्तिपाथिभरा क्षेत्र विकास समिति गठन,’ आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति गठन० आदेश,२०८१, हलेशी महादेवस्थान विकास समिति गठन० आदेश, २०८१ स्वीकृत गरिएको पनि जनाएको छ।
यी बाहेक लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८१ स्वीकृत गरिएको, सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँबीचसमझदारीपत्रको आदानप्रदान गरिएको सरकारले जनाएको छ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई मुलुककै विशिष्टकृत नमूना अस्पतालको रुपमा व्यवस्थापकीय सुदृढीकरण गरी कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गर्न आयुर्वेद चिकित्सा सेवा, जडीबुटी शिक्षातथा अध्ययन तथा अनुसन्धान सम्भाव्यता अध्ययन कार्ययोजना तर्जुमा कार्यदल, २०८१ गठन गरी कार्य प्रारम्भ गरिएको सरकारले जानकारी दिएको छ।
२०८१ साल असार ३० गते कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरिएको,
प्रदेशका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १ लाख रूपैँया बराबरको बीमा कार्यक्रम सुरू गरिएको, स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावलाई मध्यनजर गर्दै प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका २५ जना स्वास्थ्यकर्मीलाई पदस्थापन गरिएको विषयलाई पनि सरकारले उपलब्धि भनेको छ।
प्रदेश सरकारले आफ्नो कार्यक्षेत्रमै नपर्ने किमाथांका नाका सन्चालन भएको जस पनि आफै लिन खोजेको छ। ‘प्रदेश सरकारको समन्वयमा सङ्खुवासभाको किमाथाङ्का नाका संघीय सरकारबाट पुनः सञ्चालन गरिएको’ विषयलाई पनि प्रदेशले आफ्नै उपलब्धि भनेको छ।
कशी प्रदेशमा उत्पादित चियाको स्वदेश तथा विदेशमा बजार प्रवर्द्धन गर्न अन्तराष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने नीतिगत व्यवस्था गरिएको विषयलाई पनि सरकारले उपलब्धि भनेको छ।
प्रदेशमा उत्पादन भएका दुग्धजन्य पदार्थ निर्यात गर्न प्रोत्साहन गर्ने नीति अनुरुप प्रथम पटक कोशी प्रदेशबाट १२०० के.जी घ्यू जापान निर्यात गरी निर्यातकर्तालाई प्रोत्साहन रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
कोशी प्रदेशलाई धानको बीउको श्रोत केन्द्रको रुपमा स्थापित गर्न धानको बीउको उत्पादन योजना तयार गरी कार्यान्वयनमा ल्याइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन्।
त्यस्तै अनुदान वितरणलाई नतिजामुखी र व्यवस्थित गर्न कृषि क्षेत्रमा वितरण गरिने अनुदान कार्यक्रमलाई ब्याजमा अनुदान दिने व्यवस्था मिलाउन नीतिगत तथा कानूनी प्रवन्ध र बजेट व्यवस्थापन गरिएको पनि उनले उल्लेख गरेका छन्।
निर्माण सम्पन्न भएका सडकहरूमध्ये शिवचोकदेखि भारतीय सीमा वीरपुरसम्मको सडक (कोशी गाउँपालिका, सुनसरी), बुढीगंगा गाउँपालिका वडा नं १ हुँदै पुष्पलाल चौक हात्तिमुडा हरैँचा सडक मोरङ र सिधुवा–शुक्रबारे–ओख्रे–म्याङलुङ्ग सडकतेह्रथुम० तथा धरान १३ देवीमार्गबाट धरान २० चिण्डेडाँडा जाने बाटोमा पर्ने सर्दुखोला पुल उद्घासटन भएको पनि सरकारले उपलब्धिमा समेटेको छ। यी सबै सडक यसअघिकै आयोजनाहरुको निरन्तरता हुन्।
खानेपानी र सिंचाई व्यवस्थापनलाई प्राथमिकतामा राखी नियमित मर्मत सम्भार गर्नुका साथै खानेपानीका ४६ र सिंचाई तर्फका ३० वटा आयोजना सम्पन्न गरिएको पनि सरकारले जनाएको छ।