नारायणघाट–मुग्लिन सडकको पहिरो नियन्त्रणको काम यस वर्ष पनि नहुने भएको छ। यो सडकमा हरेक वर्ष बर्खामा पहिरो झरेर जनधनको ठूलो क्षति हुने गरेको छ।
क्षति कम गर्न भनेर सडक डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा पहिरोको जोखिम रहेका केही ठाउँमा अध्ययन गरेको थियो। उक्त कार्यालयका इन्जिनियर सागर कार्कीकाअनुसार प्राविधिक टोली बनाएर नारायणघाट–मुग्लिन सडकको नाम्सी, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रण कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो। उक्त अध्ययनले ती क्षेत्रमा स्लोप स्टेबिलाइजेसन (पहिरो झर्ने संभावित क्षेत्रमा तारजाली हालेर ड्रिलिङ गर्ने) गर्नुपर्ने निष्कर्ष निकाल्यो।
यसका लागि ५२ करोड रूपैयाँ खर्च हुने अनुमान प्राविधिक टोलीले गरेको थियो। आवश्यक बजेटको माग गरेर प्रतिवेदन सडक विभागमा पठाइएकोमा बजेट प्राप्त नभएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले बताए।
‘आवश्यक बजेट प्राप्त भए पहिरो नियन्त्रणको काम यसै वर्षबाट सुरू गर्ने लक्ष्य लिइएकोमा प्राप्त हुन सकेन,’ उनले भने।
गत असार २८ गते सिमलतालमा पहिरो र भेलबाढीले दुईवटा बस नै त्रिशूली नदीमा खसालिदिएको थियो। नदीमा खसेका बस र ४० बढी यात्रू अझै भेटिएका छैनन्। यो घटनापछि पहिरो नियन्त्रणका काम नगरी सडक निर्माणमा मात्रै ध्यान दिँदा ठूलो क्षति व्योहोर्नुपरेको भन्दै सरकारको आलोचना भएको थियो। भूगर्भशास्त्रीहरूले पनि भूगर्भको अध्ययन पनि नगरिकन सडक निर्माण गर्ने, विस्तार गर्ने गर्दा अहिले पहिरोको जोखिम बढिरहेको दाबी गर्ने गरेका छन्।
नारायणघाटदेखि मुग्लिन हुँदै काठमाडौं जाने सडकमा कहिले पहिरोका कारण त कहिले अन्य कारणले सवारी साधन नदीमा खस्ने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार गत वर्षमात्रै ५ वटा सवारी साधन दुर्घटना भएर त्रिशूलीमा खसेका थिए। २०४९ सालयता २२ वटा सवारी साधन दुर्घटना भएर नदीमा खसेको तथ्यांक प्रहरीसँग छ।
यात्रामा जोखिम कम गर्न पहिरो नियन्त्रणका लागि सडक डिभिजनले अध्ययन गरेको थियो।
‘विगतमा पनि केही स्थानमा स्लोप स्टेबिलाइजेसन विधिबाट पहिरो नियन्त्रण गरिएको थियो। त्यसले केही समय पहिरो रोकेको पनि थियो। तर पछि पुल निर्माण गर्नेक्रममा केही बिग्रिए। कतिपय ठाउँमा उपल्लो क्षेत्रमा स्थानीय सडकहरू निर्माण गर्दा तल भासियो,’ इन्जिनियर कार्कीले भने।
सडक विभागले यही सडकको मौरी पुलमा पहिरो नियन्त्रणका लागि वल्र्ड बैंकलाई जिम्मेवारी दिएको थियो। सन् २००४ मा ठूलो पहिरो झरेपछि यहाँ जाइकाले पनि अध्ययन गरेको थियो। अध्ययनपछि जाइकाकै सहयोगमा मौरी पुल र कविलासको खहरे पुल क्षेत्रलाई सुरक्षित बनाउने संरचना निर्माण गरिएको थियो। तर उपल्लो क्षेत्रबाट चौकीडाँडा जाने सडक निर्माण गर्दा तल पहिरो झरेको सडक कार्यालयका इन्जिनियरहरू बताउँछन्। यहाँ प्रकृतिमा आधारित समाधान निकाल्न वायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरेर स्टेबिलाइजेसन गर्ने योजना छ। तर यो योजना पनि यस वर्ष सुरू हुने संभावना छैन।
सडक डिभिजन भरतपुरले नाम्सी, कालिखोला, तुइन खोला र मौरी पुलबाहेकका ११ ठाउँमा पनि पहिरो नियन्त्रणका लागि अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेर विभागलाई पत्र पठाएको थियो। गत कात्तिकमा विभागलाई पठाइएको पत्रमा भतेरी ओरालो, खहरे खोला, गाइघाट, सेती दोभान, जलबिरे, चारकिलो, छबिसकिलो क्षेत्रका ११ ठाउँमा पहिरो नियन्त्रणका लागि अध्ययन गर्नुपर्ने उल्लेख छ।
सडक विभागको सम्भार महाशाखाका प्रमुख प्रभात झाले पहिरो नियन्त्रणका लागि ठोस योजना नबनेको बताए।
‘बजेटको क्राइसिस छ। नारायणघाट–मुग्लिन सडकको पहिरो नियन्त्रणका लागि अहिले बजेट परेको छैन,’ उनले भने, ‘सम्भार शाखाले जिल्लाबाट आएको प्रतिवेदनलाई अध्ययन गरेर बजेट महाशाखामा पठाउने हो। बजेटले पुग्यो भने उक्त माहाशाखाले विनियोजन गर्ने हो। बजेटले पुग्यो भने छुट्टाउँछ होला।’
झाले प्रतिवेदनमा साना–ठूला गरेर करिब २० ठाउँमा पहिरोको जोखिम रहेको उल्लेख भएको बताए।
‘यो सडकमा पहिरो नियन्त्रण गर्न अति आवश्यक छ। यसका लागि बजेट चाहिँदैन भनेर त कसैले भन्नै सक्दैन। बजेटले नै नपुगेर होला,’ उनले भने।
सडक विभागका प्रवक्ता (बजेट महाशाखाका प्रमुख) उमेश विन्दु श्रेष्ठले नारायणघाट–मुग्लिन सडकमा पहिरो नियन्त्रणकै लागि भनेर विशेष बजेट विनियोजन नगरिएको बताए। पहिरोको जोखिम भएको स्थानमा वृक्षारोपण गर्ने, पहिरो झरेको अवस्थामा हटाएर सडकको व्यवस्थापन गर्ने कामका लागि आवश्यक बजेट विनियोजन भएको उनले बताए।
‘नेपालका सबै सडकहरूको अवस्था यस्तै हो। राजमार्गको माथिल्लो क्षेत्रमा जथाभावी सडक खन्ने काम जताततै भइरहेको छ। कुनकुन सडकका लागि पहिरो नियन्त्रण भनेर बजेट छुट्टाउने। अध्ययनका प्रतिवेदनहरूले उल्लेख गरेका बजेट हेर्ने हो भने त अर्बौं खर्च गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘नारायणघाट–मुग्लिन सडकको भूगर्भ निकै कमजोर छ। त्यसैले यो सडकका विभिन्न स्थानमा बेला–बेलामा पहिरो झरिराख्छ। यसलाई बायोइन्जिनियरिङमार्फत नियन्त्रण गर्न प्रयास गर्ने हो। त्यसबाहेकको विशेष बजेट विनियोजन गरिएको छैन।’
सडक विभागका महाप्रबन्धक रामहरि पोखरेलले जिल्लाले पठाएको प्रतिवेदनको आधारमा यसवर्ष विस्तृत अध्ययन गर्न सकिने बताए।
‘त्यसपछि आवश्यक भएमा अर्को वर्ष बजेट विनियोजन गरेर काम सुरू गर्न सकिन्छ,’ उनले भने, ‘मैले जिल्लाले पठाएको प्रतिवदेन पढ्न पाएको छैन। सम्बन्धित शाखाहरूले अध्ययन गरेका होलान्।’
यो सडकमा हरेक वर्ष फरक–फरक ठाउँमा पहिरो झरेर समस्या हुँदै आएको छ।
२०७९ सालमा केराबारीमा ठूलो पहिरो खसेको थियो। पहिरोले मौरी पुल पुरिदिएपछि लामो समयसम्म यातायात अवरूद्ध बन्यो। सडक डिभिजन कार्यालय भरतपुरमा रहेको रेकर्डअनुसार उक्त वर्ष विभिन्न ठाउँमा झरेको पहिरोका कारण यो सडक ३६ पटक बन्द भएको थियो। वर्षभरीमा १३३ घण्टा सडक बन्द भयो।
गत वर्ष तुइन खोलाको आडैमा खसेको पहिरोले दुःख दियो। तुइन खोलामा नयाँ पुल र पहुँच मार्ग निर्माणका लागि पहरो फोरिएको स्थान नजिकै पहिरो खसेको थियो। गत वर्ष तुइनलगायतका विभिन्न क्षेत्रमा झरेको पहिरोले गर्दा ३० पटक मुग्लिन–नारायणघाट सडक बन्द भयो। वर्षभरीमा १२३ घण्टा सडक अवरूद्ध बनेको सडक डिभिजन कार्यालयमा रहेको रेकर्डले देखाउँछ।
यी दुई वर्षमात्रै होइन, वर्खामा हरेक वर्ष यस्तै हाल हुन्छ यो सडकको। कहिले नाम्सी पुल, कहिले कालिखोला, केहिले सेती दोभानमा झरेको पहिरोले यात्रूहरूलाई सास्ती दिने गरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कार्कीकाअनुसार यो सडकको २५ ठाउँमा पहिरोको जोखिम छ। तीमध्ये ४ ठाउँमा बढी जोखिम छ। उनले यी बाहेक गाइघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलबिरे, पाँचकिलोमा ठूलो पानी परे पहिरो खसिहाल्ने जोखिम रहेको बताए।
‘२ वर्षअघि केराबारीको मौरी पुलमा ठूलो पहिरो खस्यो। ६०–७० घनमिटर हामीले तल नदीतिर फाल्यौं। २२–२३ हजार घनमिटर त महानगरपालिकाले बिक्री नै गर्यो। यहाँ अझै ठूलो परिमाणमा खस्न सक्छ,’ सडक डिभिजन कार्यालयका प्रमुख पौडेल भन्छन्। यसबाहेक नाम्सी पुल, कालिखोला र तुइन खोला पहिरोको सबैभन्दा बढी जोखिममा रहेका ठाउँ हुन्।
मुग्लिन–नारायणगढ सडक पूर्व र पश्चिम नेपाललाई देशको राजधानीसँग जोड्ने महत्वपूर्ण राजमार्ग हो। ३६ किलोमिटर लामो यो राजमार्ग भएर दैनिक १० हजार बढी सवारी साधनहरू आवतजावत गर्छन्। वर्खा सुरू भएसँगै सडकमा खस्ने साना–ठूला पहिरोले यात्रूहरूलाई सास्ती दिने गरेको छ।
यो सडकको विकल्प भनिएको चितवनको भण्डारादेखि मलेखुसम्मको चेपाङ मार्ग निर्माणको काम सुस्त छ। रत्ननगरको बकुलहरदेखि शक्तिखोर हुँदै पृथ्वी राजमार्गको फिस्लिङ निस्कने सडक पनि वैकल्पिक सडक बन्न सक्छ। यो सडकको आधाभन्दा बढी भाग कालोपत्रे भएको छ। बाँकी भाग स्तरीय नभएकाले यो पनि वैकल्पिक बन्न सकेको छैन।
त्रिशूली नदी पारिको ट्रयाकलाई स्तरीय बनाएर हालको नारायणघाट–मुग्लिन सडकको विकल्प तयार पर्नुपर्ने चर्चा पनि बेला–बेलामा हुने गरेको छ।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी।