युक्रेनले रूसको कुर्स्क क्षेत्रभित्र पसेर करिब ११५० वर्ग किलोमिटर भूमि र दर्जनौं गाउँ कब्जा गरेको दाबी गरेको छ।
दोस्रो विश्व युद्धपछि कुनै राष्ट्रले रूसी भूमि कब्जा गरेको यो पहिलोपटक हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरू गरेका थिए। त्यसयता स्थानीय रूसी विद्रोहीको सहयोगमा रूसका केही बस्तीमा युक्रेनले एक-दुईपटक छापामार शैलीमा हमला गराएको थियो।
यसपटक भने युक्रेनी सेना आफै रूसभित्र पसेर भूमि कब्जा गरेको हो। उसले सयौं रूसी सैनिकलाई बन्दी बनाएको छ। युक्रेनको आक्रमणकै कारण सो क्षेत्रका झन्डै दुई लाख नागरिक विस्थापित भएका छन्।
पुटिनले तीन दिनमा युक्रेन कब्जा गर्ने योजनासहित आक्रमण सुरू गरेका थिए। यसबीच उनले केही असफलता बेहोरे। रूसले लामो समयसम्म छिटपुट ड्रोन आक्रमण बेहोर्यो। तर उसको भूमिमा हमला नभएकाले जनतालाई खासै फरक परेको थिएन।
यही अगस्ट ६ मा भने रूससँगको उत्तर पूर्वी सीमा पार गरेर युक्रेनी सेना कुर्स्क क्षेत्रमा पस्यो। र, धमाधम गाउँ-बस्ती कब्जा गर्यो। कुनै रोकतोकबिना विदेशी सेना आफ्नो भूमिमा पसेर आफूहरूलाई विस्थापित हुन बाध्य गराएपछि भने जनताले युक्रेनसँग युद्ध नै भएको हो भनेर बुझेका छन्। पुटिनले भने सुरूदेखि नै युक्रेनसँग युद्ध नभएको र विशेष सैन्य कारबाही गरेको भनिरहेका थिए।
युक्रेनको यो सफलताले गत वर्ष रूसकै निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले पुटिनविरूद्ध विद्रोह सुरू गरेको बेलाको याद दिलाएको छ। प्रिगोजिनले सन् २०२३ जुनमा अप्रत्याशित रूपमा विद्रोह गरेका थिए। उनका लडाकूले तुरून्तै मस्कोभन्दा लगभग ११०० किलोमिटर टाढा रहेको रोस्तोव सहर कब्जा गरे। युक्रेन युद्धका लागि कमान्ड केन्द्र र हातहतियार लगायत अरू सामानको भण्डारका रूपमा रहेको सैनिक कार्यालय कब्जा गरेपछि उनका सैनिक मस्कोतर्फ अगाडि बढेका थिए।
२४ घन्टा पनि नपुग्दै वागनर समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दुरी पार गरिसकेको थियो। लिपेत्स्क क्षेत्र पुगेपछि अचानक दुई पक्षबीच सुलह घोषणा भयो।
अहिले युक्रेनी सैनिकको आक्रमणले रूसी सेनाको त्यो बेलाको अक्षमता सम्झाएको छ।
रूसले अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनसँग मिलेर यो हमलाको योजना बनाएको दाबी गरेको छ। तर युक्रेनको यो योजनाबारे अरूलाई थाहा नभएको बताइएको छ।
प्रिगोजिनले विद्रोह गरेको केही साताअघि मात्र युक्रेनले आफ्नो भूमिमै रहेका रूसी सेनामाथि ठूलो तामझामसाथ प्रत्याक्रमण गरेको थियो जुन असफल भएको थियो। यसपालिको आक्रमण भने युक्रेनले धेरै नै गोप्य राख्यो। अमेरिकालाई समेत जानकारी नदिएको बताइएको छ।
अमेरिकाले सुरूदेखि नै युक्रेनलाई सहयोग गरेको थियो। तर धेरै सहयोग गरे आफू रूससँगको युद्धमा तानिने र तेस्रो विश्वयुद्ध सुरू हुन सक्नेमा अमेरिका सचेत पनि थियो। त्यसैले उसले सुरूमा रूसले केही दिनमै युक्रेन कब्जा गर्ने ठानेर युक्रेनलाई छापामार युद्ध लड्न सिकाउने सोचेको थियो। तर रूस यसमा सफल भएन। त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिन थाले। तर युक्रेनलाई सुरूमै बलिया हतियार दिए रूस हार्न सक्छ र उसले आणविक हतियार प्रयोग गर्न सक्छ भन्ने डर अमेरिकालाई थियो। ऊ रूसले युक्रेन कब्जा गर्न नसकोस् तर युद्ध पनि नहारोस् भन्ने चाहन्थ्यो। त्यसैले सन्तुलन मिलाएर युक्रेनलाई हतियार दिइरहेको थियो।
फेब्रुअरीमा हमला सुरू गरेको रूस मार्च अन्त्यसम्म किभ बाहिरबाटै फर्किन बाध्य भयो। सन् २०२२ अन्त्यसम्म त युक्रेनले खार्किभ र खेरसन सहर रूसबाट सजिलै खोसेको थियो। युक्रेनले रूसविरूद्ध हात पारेको सबभन्दा ठूलो सफलता मानिएको खार्किभ माथिको आक्रमण ओलेक्जान्डर सियर्स्कीको नेतृत्व भएको थियो। सियर्स्की अहिले युक्रेनका सेना प्रमुख हुन्।
गत वर्षको प्रत्याक्रमणको असफलता र युद्धबारे रणनीतिमा मत भिन्नता भएपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले गत फेब्रुअरीमा भेलेरी जलुज्नीलाई सेना प्रमुखबाट हटाएर सियर्स्कीलाई बनाएका थिए।
यसपालि युक्रेनले पोहोरको असफलताबाट पाठ सिकेर हमलाको योजना बनायो। उसले हमलामा हजारौं अब्बल सेना परिचालन गरेको बताइएको छ। अर्कातिर रूस अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई रूस नछिर्नू भनेकाले ढुक्कसँग बसेको थियो। उसले आफ्ना अब्बल सेना युक्रेनमा आफूले कब्जा गरेको भूमिमा लड्न पठाएको थियो। सीमा रक्षामा भने भर्खर भर्ती भएका सेना खटाएको थियो। यस्तोमा युक्रेनका अब्बल सेनाले एकैपटक हमला गरेपछि नयाँ र कमजोर रूसी सैनिकले प्रतिरोध गर्न सकेनन्।
युक्रेनले यसपालि बेलायतमा निर्मित कुकुर रोबोट र मानवरहित वाहनहरू समेत प्रयोग गरेको छ। तीन किलोमिटरभन्दा टाढाबाट रिमोट कन्ट्रोलबाट चलाउन मिल्ने रोबोट कुकुरले सेना जानुभन्दा अघि रक्षात्मक खाडल र भवनहरूमा पसेर धराप भएको वा नभएको पत्ता लगाउँछ।
त्यस्तै युक्रेनले रूसी सेनाको सञ्चार उपकरण नचल्ने बनाएर अचानक हमला गरेको थियो। त्यसैले रूसले तुरून्तै अन्तबाट सेना परिचालन गर्न पनि सम्भव भएन।
युक्रेनले कुर्स्क आक्रमणका लागि कैदीहरू समेत प्रयोग गरेको पश्चिमा मिडियाले जनाएका छन्। रूसले त सुरूदेखि नै कैदीहरू प्रयोग गरेको थियो। पछिल्लो समयमा रूसभन्दा धेरै कम जनसंख्या भएको युक्रेनलाई सैनिक अभाव छ। मारिएका र घाइते भएकाको ठाउँ पूर्ति गर्न थप सैनिक पठाउन अप्ठ्यारो भएपछि केही महिनाअघि युक्रेनले अनिवार्य सेनामा भर्ती हुने उमेर २७ वर्षबाट घटाएर २५ वर्ष बनाएको थियो। यसो गर्दा पनि पर्याप्त सैनिक नभएपछि युक्रेनले पनि रूसले झैं कैदी भर्ना गर्न थालेको हो। यसरी अब्बल सैनिक र कैदीहरू परिचालन गरेर युक्रेनले कुर्स्क आक्रमण गरेको हो।
रूसले विगत ६ महिनामा जति युक्रेनी भूमि कब्जा गरेको छ, त्यही हाराहारी भूमि युक्रेनले सुरूका दुई-तीन दिनमै कब्जा गरेको बताइएको छ।
त्यसपछि रूस सतर्क भएको छ। युक्रेनले पनि आफ्ना सैनिक धेरै भित्र पसे सुरक्षित नरहने बुझेको छ। त्यसैले उसलाई सुरूको जस्तो सफलता मिलेको छैन।
अब युक्रेनको यो आक्रमणले रूससँगको यो युद्धलाई कसरी प्रभाव पार्ला भन्ने चर्चा गरौं।
रूसको साम्राज्यको इतिहासको गाथा गाउँदै फेरि रूसलाई त्यस्तै गौरवशाली र शक्तिशाली बनाउने पुटिनको सपना छ। यसरी इतिहासको कुरा गरिरहने पुटिनका लागि दोस्रो विश्व युद्धपछि पहिलोपटक विदेशीले भूमि कब्जा गर्नु लज्जास्पद भएको छ।
कुर्स्क क्षेत्रको आफ्नै एैतिहासिक महत्व पनि छ। दोस्रो विश्व युद्धमा नाजी जर्मनीले १९४३ जुलाईमा यो क्षेत्रमा ठूलो आक्रमण गरेको थियो। इतिहासकै सबभन्दा ठूलो ट्यांक लडाइँ मानिने कुर्स्क लडाइँ तत्कालीन सोभियत संघले जितेको थियो। जर्मनीका भन्दा धेरै सोभियत सेना मारिएका थिए। तर पनि त्यसपछि जर्मनीले पूर्वतर्फ आक्रमण गर्न सकेन। त्यसपछि सोभियत सेना बिस्तारै पश्चिमतर्फ बढ्दै सुरूमा युक्रेन फिर्ता लियो र सन् १९४५ मेमा जर्मनीको बर्लिन कब्जा गर्यो।
दोस्रो विश्व युद्धको पूर्वी क्षेत्रको निर्णायक लडाइँ भएजस्तै यो पटक पनि युक्रेनको कुर्स्क क्षेत्रमाथिको हमला निर्णायक हुन्छ कि हुँदैन भनेर कुर्नुपर्ने हुन्छ।
यसले युद्धमा भने प्रभाव पारिसकेको छ।
द वासिङटन पोस्टका अनुसार यो हमलाले रूस र युक्रेनले एकअर्काको ऊर्जा क्षेत्रमा आक्रमण रोक्न यसै महिना कतारमा गर्ने भनिएको वार्ता भाँडिएको छ। रूसले युक्रेनका बिजुली निकाल्ने आयोजनाहरूमा बारम्बार बमबारी गरिरहेको छ। जबाफमा युक्रेनले पनि रूसका पेट्रोलियम प्रशोधन केन्द्रहरूमा प्रहार गरिरहेको छ। रूसी आक्रमणका कारण आगामी हिउँदमा बिजुली अभावमा युक्रेनीले कठ्यांग्रिनुपर्ने खतरा छ। यहीबीच कतारमा हुने वार्ताबाट ऊर्जा क्षेत्रमा आक्रमण नगर्ने र आंशिक युद्ध विराम हुने अपेक्षा थियो।
उसो त पुटिनले कुनै सम्झौता पालना गर्दैनन् र आफू बलियो हुनेबित्तिकै हमला गर्छन् भनेर युक्रेनले सुरूदेखि नै भनिरहेको छ। तर पनि यो आंशिक युद्ध विराम सफल भए रूस-युक्रेन युद्ध नै रोक्ने गरी वार्ता हुने सम्भावना पनि कतिले देखेका थिए। तर वार्तामा मोलतोलका लागि युक्रेनले कुर्स्क हमला गरेको ठानेर पुटिनले आफ्नो भूमि युक्रेनको कब्जामा हुन्जेल वार्ता नगर्ने घोषणा गरे। र, कतारमा हुने भनिएको वार्ता भाँडियो।
जेलेन्सकीले भने रूसले कुर्स्क क्षेत्रबाट पनि लगातार प्रहार गरिरहेकाले त्यो रोक्न हमला गरेको दाबी गरेका छन्। फेरि त्यहाँबाट युक्रेनमा रूसले प्रहार गर्न नसकोस् भनेर 'बफर जोन' बनाउने भनेका छन्।
तर युक्रेनले हमला गर्नुको कारण यसलाई मात्र मान्न सकिँदैन।
युक्रेनलाई दोनेत्सक र खार्किभ क्षेत्रमा रूसी सेना भएकाले अप्ठ्यारो परिरहेको छ। त्यहाँका सेना रूसले कुर्स्क क्षेत्रमा पठाए आफूलाई राहत हुन्छ भनेर पनि उसले आक्रमण गरेको हुन सक्छ।
रूसले युक्रेनमा लडिरहेका केही सैनिक कुर्स्क क्षेत्रमा पठाए पनि दोनेत्सक क्षेत्रमा आक्रमण गरिरहेकै छ। शनिबार मात्रै युक्रेनले सो क्षेत्रमा रहेको पोरोस्क सहर खाली गर्न निर्देशन दिएको छ। रूसले पोरोस्क कब्जा गरे उसले आफ्नो भनेर घोषणा गरिसकेको दोनेत्सक क्षेत्र पूरै कब्जा गर्ने योजनातर्फ महत्वपूर्ण कदम हुनेछ। खार्किभ वा अरू ठूलो सहर कब्जा गर्न भने रूसलाई अप्ठ्यारो हुनेछ।
उता अमेरिकाले पनि रूसी भूमिभित्र आफूले दिएको हतियार प्रयोग गर्न युक्रेनलाई मे महिनामा अनुमति दिइसकेको छ। ती हतियार युक्रेनमाथि आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्त हो। तर युक्रेनले रूसभित्र सेना पठायो र रक्षा गर्न आएका सैनिकमाथि अमेरिकी हतियार चलायो। यसका बाबजुद युक्रेन आफैले आक्रमण गर्न पाउने र सो हमलामा अमेरिकी हतियारको प्रयोग आफ्नो नीति विपरीत नभएको अमेरिकाले बताएको छ।
अमेरिकामा बनेको एफ-१६ लडाकू विमान पनि अन्ततः युक्रेनको हात लागेको छ। हालसम्म उसले यो विमान प्रयोग भने गरेको छैन। युक्रेनले यो लडाकू विमानले प्रतिरक्षा गर्ने डरले रूसले युक्रेनभित्र बमबारी भने कम गरेको पश्चिमा मिडियाले लेखेका छन्।
अमेरिका लगायत पश्चिमा राष्ट्रले अझै पनि रूसभित्र धेरै परसम्म आफ्ना हतियार प्रयोग गर्न युक्रेनलाई रोकिरहेका छन्। यो बन्देज नभए युक्रेनले अझ सफलता हात पार्दै पुटिनलाई वार्तामा बस्न बाध्य बनाउने सम्भावना छ।
गत वर्ष युक्रेन असफल भएपछि रूस लगातार हावी भइरहेको थियो। यस्तो बेलामा हात लागेको यो अपत्यारिलो सफलताले युक्रेनी सेना र जनतामा उत्साह सञ्चार भएको छ।
युक्रेनले केही दिनमै ठूलो क्षेत्रफलमा कब्जा गरेपछि लगभग स्थिर रहेको युद्धमा तरंग आएको छ।
युक्रेन अब कुर्स्क क्षेत्रमा अझ धेरै भित्र नपस्ने अनुमान गर्न सकिन्छ। सुरूमा अचानक हमला गरेर सफलता हात पारे जस्तो सजिलो थप भूमि कब्जा गर्न हुने छैन। धेरै भित्र पस्न सफल भए पनि टिकिरहन मुस्किल हुन्छ किनभने यसका लागि चाहिने धेरै सैनिक युक्रेनसँग छैनन्। शत्रुको भूमिमा रहेका आफ्ना सेनालाई लामो समयसम्म बन्दोबस्तीका सामान पुर्याउन पनि गाह्रो हुन्छ। त्यही मुस्किलका कारण सुरूमा किभ घेर्न पुगेको त्यत्रो रूसी सेना केही सातामै पछि हट्नुपरेको थियो।
जेलेन्स्कीले आफूलाई रूसी भूमि नचाहिएको बताए पनि युक्रेन तुरून्तै कुर्स्कबाट फर्किएर सीमावारि आउने छैन। अहिले रूस र युक्रेन दुवैले कुर्स्कमा रक्षात्मक संरचना बनाइरहेका समाचार आइरहेका छन्। रूसले युक्रेन अझ भित्र नपसोस् भनेर ती संरचना बनाएको हो। युक्रेनले आफूले कब्जा गरेको भूमिमा टिकिरहन त्यसो गरेको हो। युक्रेनले रूसी सेनालाई रोक्न सेयम नदीमाथिका केही पुलहरू पनि ध्वस्त पारेको छ। त्यहाँ रक्षात्मक संरचना बनाएपछि अहिले परिचालन भएका भन्दा थोरै सैनिकले पनि रूसलाई रोक्न सक्छन्। रूसले पनि आफ्ना अब्बल सैनिक नपठाए कुर्स्कबाट युक्रेनलाई धपाउन सक्दैन।
रक्षात्मक संरचना बनाएपछि युक्रेनले कुर्स्कमा सीमित सैनिक राखेर अन्त हमला गर्न सक्छ। त्यस्तो हमला रोक्न रूसले कुर्स्कमा पहिले खटाएजस्ता सैनिक खटाएर हुँदैन। अब्बल सैनिक नै खटाउनुपर्ने छ।
अब लामो समयसम्म युक्रेनको थप भूमि पनि कब्जा गर्न नसकेमा र युक्रेनले कुर्स्कमा कब्जा जमाइरहे रूस वार्तामा बस्न तयार हुनुपर्ने छ। त्यसमाथि अमेरिकाले युक्रेनलाई झन् शक्तिशाली हतियार दिएर रूसको नियन्त्रणमा रहेको भूमि पनि फिर्ता लिए पुटिन दबाबमा पर्नेछन्। अहिले जस्तो आफ्नो भूमिमा युक्रेनी सेना रहुन्जेल वार्ताका लागि नबस्ने भनिरहन पुटिनले सक्ने छैनन्। वार्तामा बस्दा रूसी भूमि दिएर आफ्नो भूमि फिर्ता ल्याउने भनेर युक्रेनले मोलतोल गर्न पाउनेछ।
यसरी कुर्स्क क्षेत्रमा गरेको हमलाका कारण हाल हुन लागेको वार्ता रोकिए पनि पछि वार्ता गर्न अवरोध हुने देखिँदैन।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)