दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा वार्ताका नाममा विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखलाई बन्धक बनाएको खुलेको छ।
नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेताहरूले सुरूमा निमित्त क्याम्पस प्रमुख डा. देवराज क्षेत्रीलाई बन्धक बनाएका हुन्। क्षेत्रीलाई निमित्त दिएर क्याम्पस प्रमुख प्रा.डा.रामचन्द्र अधिकारी काठमाडौं गएका थिए।
यसबीचमा निमित्त क्याम्पस प्रमुख क्षेत्रीले क्याम्पस प्रमुख अधिकारीलाई दाङ आउन भनेपछि उनी आएका थिए। अनेरास्ववियुका नेताहरूले क्याम्पस प्रमुख अधिकारी र निमित्त दिइएका क्षेत्रीलाई पनि बन्धक बनाएका थिए।
यो खबर प्रहरीले थाहा पाएपछि उद्धार गरेको छ।
क्याम्पस प्रमुखसहितलाई बन्धक बनाएपछि बुधबार बेलुकी करिब १० बजे प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले लाठीचार्ज गर्दा स्ववियु सभापति हेमन्त बञ्जाडेसहित ६ जना घाइते भए। उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
अनेरास्ववियुका जिल्ला सहसचिव नवराज जोशी, क्याम्पसका अनेरास्ववियु इकाइ अध्यक्ष रुपेश मिश्रा, उपाध्यक्षद्वय खड्क चन्द र धनजीत यादव र अनेरास्ववियु इकाइ सदस्य दामोदर भण्डारी घाइते छन्।
उपाध्यक्ष धनजीत यादवको दाहिने हात भाँचिएको छ। आफूहरूले राखेका मागबारे वार्ता चलिरहँदा घोराहीबाट आएको प्रहरी टोलीले लाठीचार्ज गरेको उनले बताए। ‘हामी जम्मा ६ जना जति थियौं, तर प्रहरी २८ जना आएका थिए,’ उनले भने, ‘हामीमाथि उनीहरूले एकाएक लाठी प्रहार गरे।’
जिल्ला प्रहरी कार्यालय घोराहीबाट आएको प्रहरी निरीक्षक सुशील थापा लगायतले आफूहरूमाथि एकाएक लाठीचार्ज गरेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामबहादुर केसीले भने वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि पदाधिकारीहरूलाई बन्धक बनाएको बताए। बाहिर निस्किन नदिएको भन्दै सहायता मागेपछि भने उद्धारका लागि प्रहरी खटाइएको उनले बताए।
‘उद्धार गर्न सिडिओसाब लगायतलाई आग्रह गरिरहेको समयमा पुगेको प्रहरीलाई समेत प्रवेश गर्न दिइएन। मध्यराति ढोका थुनेर वार्ता नगर्नुस्, बिहानपख गर्नुस् भनेर सम्झाउँदा नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने, ‘त्यही क्रममा आपसमा ठेलमठेल हुँदा प्रहरीले लाठीचार्ज गर्नु परेको र त्यसबाट केही विद्यार्थी समान्य घाइते भएको भन्ने छ।’
एसपी केसीले थप कुरा घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलसँग बुझ्न आग्रह गरेका थिए।
डिएसपी पोख्रेलले जिल्लाको आदेशपछि आफू राति १० बजेतिर क्याम्पस पुगेको बताए। उनी क्याम्पस पुग्दा आठ-दश जना विद्यार्थी ढोका बाहिर थिए भने कोठाभित्र वार्ता भइरहेको अवस्था थियो।
डिएसपी पोख्रेलले धेरै पटक ढोका खोल्न आग्रह गर्दा पनि कसैले ढोका खोल्न मानेका थिएनन्।
‘मैले केही विषयमा असहमति भए भोलि बिहान वार्ता गर्नु अहिले ढोका खोल्नुस् भन्दा पनि कसैले ढोका खोलेनन्,’ उनले भने, ‘त्यसपछि ढोकाको चुकुल तोडेर क्याम्पस प्रमुख अधिकारी र क्षेत्रीलाई उद्धार गरिएको हो।’
क्याम्पस प्रमुख अधिकारीका अनुसार हालै आयुर्वेद स्नातक अन्तगतको बिएएमएसको परीक्षाफल प्रकाशित भएको थियो।
साथै गत फागुन २९ गतेदेखि क्याम्पस प्रमुख अधिकारीको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गर्दै आएको छ। उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् भने साँचो पनि आफैसँग राखेका छन्।
कार्यकक्षको साँचो स्ववियु सचिव गणेश पौडेलसँग रहेको विद्यार्थीहरूको भनाइ छ। पौडेल नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका हुन्। उनीमाथि विद्यापीठका वरिष्ठ उपसभापति शिव मिश्रमाथि निर्घात कुटपिटको आरोप छ। उनी फरार छन्। पौडेलविरूद्ध प्रहरीमा मिश्रले किटानी जाहेरी दिएका छन्।
यही विषयमा सात बुँदे माग राखेर स्ववियुले वार्ता गर्ने भनेपछि मंगलबार दिउँसो ३ बजेदेखि क्याम्पसमा निमित्त प्रमुख क्षेत्री र विद्यार्थी नेताहरूबीच वार्ता सुरू भएको थियो। तर विद्यार्थी नेताहरूले निमित्त प्रमुखलाई रातभर त्यहीँ राखेका थिए।
क्याम्पस प्रमुख अधिकारीका अनुसार निमित्त क्याम्पस प्रमुख क्षेत्रीले तारन्तर विद्यार्थीले आफूलाई रातभर क्याम्पसमै बन्धक बनाइराखेको सूचना दिएका थिए। उनी त्यतिबेला क्षेत्रीलाई निमित्त दिएर काठमाडौं गएका थिए। क्षेत्रीले काठमाडौंबाट छिटो फर्किन ताकेता गरेका थिए।
‘निमित्त क्याम्पस प्रमुखको त्यही सूचनाका आधारमा बुधबार बिहानै म जहाजमा आएको थिएँ,’ अधिकारीले भने, ‘म अपराह्न तीन बजेतिर क्याम्पस पुग्दा पनि निमित्त क्याम्पस प्रमुख विद्यार्थी नेताहरूकै घेरामा हुनुहुन्थ्यो।’
त्योभन्दा अघिल्लो दिन सोमबार विद्यार्थीले तोडफोड गरेका थिए। त्यस्तै सम्भावित तोडफोड हुन सक्ने ठानेर उनले यसबारे जिल्लाका सुरक्षा प्रमुखलाई जानकारी गराएका थिए।
बुधबार दिउँसो क्याम्पस प्रमुख अधिकारी आइसकेपछि स्ववियु पदाधिकारी लगायत विद्यार्थी नेताहरूसँग वार्ता अगाडि बढ्यो।
क्याम्पस प्रमुख अधिकारीका अनुसार पटक-पटक भएको वार्ता सकारात्मक भएको थियो। तर जब विद्यार्थी नेताहरू केहीबेर बाहिर निस्किएर फर्किन्थे अनि फेरि कुरा मिलेन भन्ने गर्थे।
‘स्ववियुले राखेका सात वटा मागमध्ये सरस्वतीको मूर्ति बनाउने लगायत पाँच वटा मागमा सहमति भइसकेको हुन्थ्यो,’ अधिकारीले भने, ‘तर फेरि बाहिर गएर आएपछि विद्यार्थी नेताहरू कुरा फेर्ने गर्छन्।’
विद्यार्थी नेताहरूले किन प्रहरी बोलाइस् भनेर धम्क्याउन खोजेको क्याम्पस प्रमुख अधिकारीले बताए।