लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले एकैसाथ १२४ जना कर्मचारीको सरूवा गरेको छ।
लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको एकैसाथ ठूलो संख्यामा सरूवा गरेका हुन्।
दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरूवा गर्ने नीति अनुसार कुर्मीले ठूलो संख्यामा कर्मचारी सरूवा गरेको बताएका छन्।
प्रदेश सरकारले हरेक वर्ष भदौ ७ गतेसम्म कर्मचारी सरूवा गर्नुपर्ने नीति बनाएको छ।
त्यही नीतिको आधारमा मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्षभन्दा धेरै कार्यरत कर्मचारीहरूको सरूवा गरेका हुन्।
मन्त्रालयले सार्वजानिक गरेको सरूवा लिस्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको सरूवा भएको छ।
लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरूको सरूवा भएको छ।
‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ। कर्मचारीको नियमित सरूवा नहुँदा जिल्लामा समस्याहरू पनि सृजना भैरहेको हुन्छ,’ मन्त्रीले कुर्मीले भने, ‘सोही गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं। कर्मचारीको कामको मूल्यांकन गर्नको लागि नियमित सरूवा आवश्यक छ।’
अब दोस्रो चरणमा वन रक्षक तहसम्म यस प्रकारको सरूवा गर्ने योजना रहेको उनले बताएका छन्।
गत वर्ष पनि मन्त्रालयले ७ वर्ष बढी अवधि काम गरेका अधिकृतहरू सरूवा गरेको थियो।
मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तरबाट भएको पहिलो निर्णय भएको उनले बताए।
हालसम्म दुई वर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको थिएन। सरूवाका लागि ऐनमा उक्त कुरा समावेश भए पनि कार्यान्वयन कुनै मन्त्रीहरूले पनि गरेका थिएनन्।