काठमाडौं महानगरपालिकाको प्रहरीले आइतबार बिहानै गंगालाल अस्पतालअगाडि चिया बेच्न बसेका १९ वर्षीय युवकलाई लछारपछार गरे।
आइतबार बिहान ६:२५ बजे चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेका ती किशोरलाई महानगर प्रहरीले लछारपछार गर्दै नगर प्रहरीको गाडीमा हालेको भिडिओ सामाजिक सञ्जाल एक्सलगायतमा सार्वजनिक भएको थियो।
ती युवकलाई नगर प्रहरीले सडक अवरोध हुने गरी चिया बिक्री गर्ने गरेको आरोप लगाएको छ। चिया बिक्री गर्नेहरूले कप सडकमै छाड्दा फोहोर बढेको गुनासाका आधारमा आइतबार त्यस क्षेत्रमा नगर प्रहरी परिचालन गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरे।
सडकमा बसेर चिया बिक्री नगर भनेर हटाउन खोज्दा उल्टै नगर प्रहरीमाथि जाइलागेपछि नियन्त्रणमा लिनुपरेको पाण्डे बताउँछन्। ती युवकलाई सडकबाट हटाउने क्रममा नगर प्रहरीको पोशाकसमेत च्यातिएको पाण्डेको दाबी छ।
थरमसमा चिया बेच्न बसेका युवकलाई लछारपछार गर्दै नगर प्रहरी भ्यानमा राखेपछि सामाजिक सञ्जालमा कतिपयले काठमाडौं महानगरको नेतृत्वमाथि नै आलोचना गर्न थालेका छन् भने नगर प्रहरीको व्यवहारमाथि पनि प्रश्न उठाएका छन्।
हामीले गंगालाल अस्पतालअगाडि आइतबार बिहान के घटना भएको हो भनेर नगर प्रहरीको नियन्त्रणमा परेका युवक, उनका परिवारका सदस्य र प्रत्यक्षदर्शीसँग कुराकानी गरेका छौं।
स्नातक तह पहिलो वर्ष पढ्दै गरेका १९ वर्षीय किशोर सधैँझैं आज पनि सबेरै उठे। आमाले पकाएको कालो र दूध चियाको दुइटा थरमस बोकेर बिहान ४ः४५ बजे नै उनी घरबाट आमासँगै निस्किए।
गंगालाल अस्पातालको गेटको दायाँबायाँ पार्किङ स्थल छ। त्यसको केही भागमा सडक पनि छ। एक कुना च्यापेर ती युवक बिहान पाँच बजेदेखि चिया बेच्न थाल्छन्। गत मंसिरदेखि उनको दैनिकी नै हो यो।
घडीमा बिहानको ६:२५ बजेको हुँदो हो। चिया बिक्री गरिरहेका छोरालाई घर लैजान भन्दै आमा गंगालाल अस्पताअघि आइपुगिन्। सो क्रममा उनले नगर प्रहरीको भ्यान पनि देखेकी थिइन्।
ती युवकले पनि थरमसलगायत सामान प्याक गर्न लागे। त्यतिकैमा नगर प्रहरी उनको छेवैमा आए र अस्पतालको परिसरभित्रैबाट ती युवकसँग रहेको सामान खोस्न थाले।
'म सामान प्याक गरेर निस्कदै थिएँ,' नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले सेतोपाटीसँग भने, 'त्यसपछि ममीले हामी त सामान बाँधेर निस्किन लागेको भनेर एक जना नगर प्रहरीलाई भन्नुभयो। उहाँले पनि ठिक छ भनेर भन्नुभयो। तर कर्णबहादुर नाम गरेका नगर प्रहरी प्याक गरेको सामान नै लिन आउनुभयो। त्यसपछि ममीले बाबुलाई के गरेको भन्दै आउनुभयो, पछि ममीमाथि नै पुरूष नगर प्रहरीहरूले जबर्जस्ती धलेक्न लागेपछि म गएको हुँ।’
आफूमाथि पुरूष नगर प्रहरीहरूले जबर्जस्ती गरेको ती किशोरको आमाको भनाइ छ। 'महिलालाई महिला नगर प्रहरीले नै ह्याण्डल गर्ने हो कि पुरूष नगर प्रहरी आएर जबर्जस्ती गर्ने हो?,' उनले प्रश्न गरिन्।
त्यसपछि कर्ण बहादुर नाम गरेका नगर प्रहरीले आफूमाथि लछारपछार सुरू गरेको ती युवक बताउँछन्। ती नगर प्रहरी आफूखुसी जथाभावी गाली गर्दै हातपात गर्दै घिसारेर गंगालाल अस्पताल बाहिर पुर्याएको उनको दाबी छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप पनि सोही भएको उनको भनाइ छ।
'लठ्ठी भएको भए हातखुट्टा नै भाँच्थे नभएर मात्रै हो भन्दै कर्णबहादुरले भ्यानभित्रै दाँतबाट रगत निस्कनेगरी बेस्करी मुक्काले हाने। घाँटीमा पनि घाउ छ। मेरो लुगा च्यातेर चस्मा पनि फुटाइदिएका छन्,' उनले भने, 'त्यसरी भ्यानमा राखेर आफ्नो रिस पोख्दै मार्ने गरी कुट्न पाइन्छ। त्यसमाथि अस्पतालमा चोरी गर्ने चोर तँ नै हो भन्दै बिना प्रमाण आरोप लगाए। त्यसरी नगर प्रहरीले हचुवाको भरमा आम मान्छेलाई आरोप लगाउन पाउँछ?'
नगर प्रहरीले भ्यानमा हालेर जरिवाना शाखास्थित टेकुमा पुर्याएको उनले बताए। त्यहाँबाट फेरि बाघदरबारस्थित नगर प्रहरी प्रमुखको कार्यालय राजुनाथ पाण्डेकोमा पुर्याएको ती किशोरले बताए।
'त्यहाँ राजु पाण्डेसँगै अर्का एक नगर प्रहरी पनि उपस्थित थिए,' ती किशोरले भने, 'तपाईंको के कति क्षति भएको छ, विवरण ल्याउनू हामी क्षतिपूर्तिको व्यवस्था मिलाउँछौं भन्नुभएको छ।'
नगर प्रहरीले चिया बिक्री गरेर कप त्यसै सडकमा फाल्ने गरेको आरोप लगाए पनि त्यसमा सत्यता नरहेको ती युवक र उनकी आमाले बताइन्।
'चियाको कपहरू जथाभावी फाल्छन् भनेर नजिकै बोरा झुण्डाएर राखिदिएका छौं,' उनले भने, 'अझ हामी त त्यहाँ झाडु लगाएर नै सफा गर्छौं। अस्पतालको सरहरूले पनि कहिल्यै हामीले चिया बेच्दा फोहोर गर्यौं भनेर कम्प्लेन गर्नुभएको छैन। हामीले त अरूले गरेको फोहोर समेत सफा गर्ने गरेका छौं।'
ती युवकले चिया बिक्री गरेर आएको रकमबाट आफूले कलेज खर्च र कापी कलम किन्नलाई पुर्याउने गरेको सुनाए।
घटना हुँदाका एक प्रत्यक्षदर्शीले ती किशोरले आमालाई जोगाउन जाँदा नगर प्रहरीमाथि हातपात नै गरेको दाबी गर्छन्।
'ममीमाथि नगर प्रहरी आउँदा ती किशोरले नगर प्रहरीमाथि हातपात गरेका थिए,' नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले थपे, 'बर्दी लगाएको नगर प्रहरीमाथि नै हात हालेपछि लछारपछारको स्थिति पुगेको हो।’
चिया बेचेर पढाइ खर्चको जोहो गर्ने युवकलाई नगर प्रहरीले पनि लछारपछार गर्न नहुने ती प्रत्यक्षदर्शी बताउँछन्।
यस घटनामा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले उनीहरूसँग कुराकानी गरेको बताए।
'ती युवकको चस्मा फुटेको लगायतका कुरा गर्नुभएको थियो,' उनले भने, 'के कस्तो क्षति भएको छ विवरण ल्याउनु हेर्छु भनेको छु।'