नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा आएको थाहा पाएपछि बेपत्ता तथा सहिद परिवार उनलाई भेट्न लेकसाइड पुगे।
लेकसाइडको बरपिपल रिसोर्टमा माओवादीको प्रशिक्षण भेला समापन हुँदै थियो। उनीहरू रिसोर्ट बाहिर बसेर प्रचण्डलाई भेट्न पाउनुपर्ने माग राखे। उनीहरूको माग पूरा भयो। सहिद तथा बेपत्ता परिवारले प्रचण्ड भेट्न पाए।
प्रचण्डलाई भेट्न छिरेका एक जना सहिद परिवारले आफूमात्र बनेर देश खत्तम भएको प्रचण्डलाई बताए। माओवादीले भाग लिएको पहिलो चुनावको आश्वासन सम्झाए।
‘आफू मात्र बनेर देश खत्तम भयो। माओवादी कस्तो हुनुपर्छ भनेर गएको होइन, तपाईंहरूलाई चुनाव जिताउँदा माओवादी कस्तो हुनुपर्छ भन्नुभाथ्यो? कुहियो सबै,’ सहिद परिवारले भने।
प्रचण्डले सहिद तथा बेपत्ता परिवारलाई आश्वस्त पार्न खोजे। उनले दुबै सदनबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) पारित भएकाले अब सहिद तथा बेपत्ता परिवारलाई सम्मान दिने ढोका खुलेको बताए।
‘दुबै सदनबाट टिआरसी पारित भएर टुंगियो। अब ढोका खुल्यो, सहिद, बेपत्ता परिवारलाई सम्मान दिने। उनीहरूका नाममा पार्क बनाउने। मेहनत धेरै भयो। निकै लामो समय पनि लागे। अहिले टुङ्गिएको छ,’ उनले भने।
उनले आफू प्रधानमन्त्री भएर सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको पनि सम्झाए।
‘हाम्रा सहिदहरू राष्ट्रिय सहिद घोषणा नहुने। यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्र गरेको होइन, राजपत्रमा प्रकाशित गरियो। सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभाछ। यो खुसीको कुरा हो,’ प्रचण्डले भने।
सहिद परिवारलाई आश्वस्त पार्न खोज्दा खोज्दै बेपत्ता परिवारले सोधे, ‘कसरी बनाइन्छ खुसी?’ उनीहरूले बेपत्ता व्यक्ति कहाँ छन् भन्ने पनि टुङ्गो नभएको र मृत्यु भए नभएको टुङ्गो नलाग्दा जातीय संकार अनुसार अन्त्येष्टि गर्न पनि नपाएको बताएका थिए।
प्रचण्डले जबाफमा बेपत्ता छानबिन गर्न धेरै समय नलाग्ने भन्दै पत्ता नलागे सहिद घोषणा गरेर परिपूरण दिइने आश्वासन दिए।
‘टिआरसी सहिदका लागि मात्र होइन, बेपत्ताका लागि पनि हो। बेपत्ताको छानबिन हुन्छ। भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपूरण पाउनुहुन्छ। बेपत्ता भेटियो भने त झन् राम्रो भइहाल्यो। बेपत्ताको छानबिनमा धेरै समय लाग्दैन। छिटो छिटो काम हुन्छ,’ उनले बेपत्ता व्यक्तिका परिवारलाई भने।
'कमीकमजोरी उठाएर तिललाई पहाड बनाए'
अध्यक्ष प्रचण्डले जनयुद्धका बेला भएका कमीकमजोरी उठाएर विरोधीहरूले तिललाई पहाड बनाउन खोजेको दाबी गरे।
‘हामीलाई गलत प्रवृत्तिले हमला गरेका छन्। हिजो हामी युद्धमा थियौं। कतिपय कमीकमजोरी उठाएर तिललाई पहाड बनाएका छन्,’ उनको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीलाई मान्छे मारेर आए भनेर जनयुद्धको अवमूल्यन गरेका छन्।’
टिआरसी विधेयक पारित भएपछि शान्ति प्रक्रिया पूरा हुने बाटोमा रहेको उनले बताए। माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेशबाट सहभागी केन्द्रीय सदस्य र गण्डकी प्रदेश कमिटीका पदाधिकारी बैठकमा सहभागी थिए।
पार्टीका विषयमा उठ्ने गरेको प्रश्न, पार्टीका अवस्था र अब जाने बाटोका विषयमा प्रचण्डले प्रशिक्षण दिएका थिए।
बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य पारसमणि पौडेलका अनुसार प्रचण्डले समाजवादी क्रान्तिको तयारीमा रहेको बताएका थिए। संविधानले पनि अर्थ व्यवस्था समाजवादतिर लैजाने भनेको भन्दै गृहकार्यमा लागेको उनको भनाइ छ।
‘सत्ता, सडक र सदनबाट शान्तिपूर्ण बाटोबाट समाजावादी क्रान्तिको चरणमा छौं भनेर अध्यक्षले भन्नुभएको छ,’ पौडेलले भने।
अर्का केन्द्रीय सदस्य राजकाजी गुरूङ ‘करण’ का अनुसार प्रशिक्षणमा प्रचण्डले अध्यक्ष भइराख्ने मनोकांक्षा छैन भनेको बताएका छन्।
पार्टीका नेता कार्यकर्ताले अवसर दिएर नै आफू प्रचण्ड भएको भन्दै उनले धन्यवाद दिएका थिए।
‘प्रचण्ड पार्टी अध्यक्षभन्दा माथि छ। तपाईंहरूले बनाइदिनु भएको व्यक्तित्व हो,’ प्रचण्डको भनाइ उदृत गर्दै गुरूङले भने, ‘मलाई सधैं नेतृत्वमा रहने मनोकांक्षा छैन। एउटा निश्चित समयभित्र नयाँ उत्तराधिकारीको टिम बनाउनुपर्छ।’
प्रशिक्षणमा प्रचण्डले वर्तमान सरकार ढलेर फेरि माओवादी केन्द्र सरकारमा जान प्रस्ताव आउने पनि बताएका थिए।
‘छिट्टै सरकारमा जानुपर्ने प्रस्ताव आउन सक्छ, तर हामी सरकारमा जाँदैनौं,’ उनले कार्यकर्तामाझ भने।