शान्तिनगर गाउँपालिका–५, काँसीपुरका ५० वर्षीय डिल्लीबहादुर खड्काले असार १३ गते ट्याक्टर लगेर आफ्नै गाउँको ‘आदर्श माध्यमिक विद्यालय’ खेल मैदान जोतिदिए।
मैदान जोतिएपछि विद्यालयको शान्ति भंग भयो। गाउँघरमा डिल्लीबहादुरको बुद्धि बिग्रेको भनेर आलोचना भयो। कसैले घरगृहस्थी बर्बाद हुन लागेपछि जोतेर ठिक गर्यो भन्दै समर्थन जनाए।
यसरी समाज दुई कित्तामा बाँडियो। राजनीतिक गुटबन्दी हुने नै भयो। विद्यालय प्रशासनमा अन्योल उत्पन्न भयो।
डिल्लीबहादुरले आफ्नो गाउँको विद्यालय मैदान जोत्नुको खास कारण थियो।
उनले विद्यालयबाट सात लाख रूपैयाँ पाउनुपर्ने थियो तर सात वर्ष बित्दा पनि पाएका थिएनन्। आफूले पैसा नपाएको प्रतिक्रियामा ट्याक्टर लगाएका थिए।
उनले पैसा पाउन गत फागुन ४ गते एउटा निवेदन पनि दिएका थिए, १० गते विद्यालयमा छलफल भएको थियो।उक्त छलफलमा वैशाख १ गतेदेखि खड्काले भनेका एकजना शिक्षक नियुक्त गर्ने, सात लाख रूपैयाँ चाँडै बुझाउने र उनको नाममा एउटा शिलालेख राख्ने सहमति भएको थियो।
सहमति त भयो तर विद्यालयको कोष रित्तो थियो। सहमतिअनुसार पैसा चुक्ता भएन। बदलामा डिल्लीबहादुरले विद्यालय बन्द रहेको समयमा गत असार ११ गते मैदान जोतिदिए।
डिल्लीबहादुर २०७४ सालको को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर वडा सदस्य पदमा निर्वाचित भएका थिए। निर्वाचित जनप्रतिधिहरूमा कामको उत्साह थियो। उनीहरू केही न केही राम्रो काम गरेर देखाउन चाहन्थे।
आदर्श माध्यमिक विद्यालयले जम्माजम्मी साढे तीन कट्ठा जग्गा ओगटेको थियो। आधा जमिनमा भवन थिए। विद्यार्थीका लागि मैदान अति साँघुरो थियो।
विद्यार्थीले आसपासका बालीनालीमा क्षति पुर्याएको भन्दै विद्यालयमा उजुरी आउँथ्यो।
विद्यालय प्रशासन मैदान बढाउन चाहन्थ्यो। विद्यालयले यससम्बन्धी प्रस्ताव वडा कार्यालयमा पेश गर्यो। काँसीपुर गाउँ र जनप्रतिनिधिको सहयोगमा विद्यालयलाई जग्गा मिलाउने निर्णय भयो। समन्वयको जिम्मा डिल्लीबहादुरले पाए।
जिम्मेवारी पाएपछि उनी विद्यालयको मैदानसँग जोडिएको जग्गा दिलाउन अघि सरे। उनको पहल साकार हुने दिशामा अघि बढ्यो। साढे दुई कट्ठा जग्गा दिने गरी जग्गाधनी ६ जना किसानसँग कुरा मिल्यो तर बारी मकैका बोटले हरियै थियो।
मकै मासेरै भए पनि विद्यालयलाई जग्गा दिन किसानहरू तयार भए। जग्गाको मूल्य सात लाख एक हजार २५० रूपैयाँ तय भयो। अन्तिम निर्णय भएपछि विद्यालयले जग्गामा तारबार गरी मैदान विस्तार गर्यो।
जग्गा किन्ने पैसा विद्यालयमा थिएन। गाउँपालिका र माथिल्ला सरकारहरूसँग आग्रह गरेर पैसा जुटाउने सोच बनेको थियो।
जग्गा व्यवस्थापनको समन्वय गरेका डिल्लीबहादुरले दुई महिनाभित्रै पैसा बुझाउने वचन जग्गाधनीहरूलाई दिएका थिए। विद्यालयको आग्रहमा जमानी पनि बसेका थिए।
विद्यालयले दुई महिनामा पैसा दिन सकेन। गाउँमा चन्दा संकलनको प्रयास भयो। केही रकम जम्मा भयो पनि तर विभिन्न कारणले रोकियो।
पैसा नपाएपछि जग्गाधनीहरू डिल्लीबहादुरको घरमै धाउन थाले।
उनी विद्यालयलाई ताकेता गर्थे। विद्यालय प्रशासन वडाध्यक्षलाई सहयोगका लागि आग्रह गर्थ्यो तर पैसा जुटेन।
अन्ततः डिल्लीबहादुर आफैले तिरिदिने र विद्यालयबाट असुल गर्ने जोखिम उठाए। उनले ऋण काढेर २०७५ साल माघ सात गते सात लाख एक हजार २५० रूपैंया जग्गाधनीहरूलाई एकमुस्ट चुक्ता गरिदिए।
तत्कालीन वडाध्यक्षले कुनै उपायले विद्यालयलाई पैसा दिलाउँला भन्ने आश्वासन दिएका थिए। त्यही भरमा डिल्लीबहादुरले जोखिम उठाएका थिए।
उनी एकदुई महिनामा पैसा जुटाइन्छ भन्ने विश्वासमा थियो। उनको विश्वासले काम गरेन। आजभोलि भन्दाभन्दै सात वर्ष बित्यो। उनी जनप्रतिनिधि पनि रहेनन्।
उनका लागि सात लाख रूपैयाँ सानो रकम थिएन। त्यसमाथि ब्याज कबोल गरेर ऋण लिएका थिए।
‘सात वर्षदेखि ब्याज तिर्दातिर्दा आजित भइसकेको थिएँ। घरमा कलह बढ्दै गएको थियो,’ उनले भने ‘शान्त गृहस्थी जीवन खलबलिन थालेपछि विद्यालयको मैदान जोत्न बाध्य भएँ।’
उनलाई ट्याक्टर लगाएर विद्यालयको मैदान जोताउनु गलत काम थियो भन्ने लागेको छ। उनका अनुसार त्यसो गर्नु बाध्यता भइदियो।
‘मलाई थाहा थियो, मैले गलत गरेको थिएँ,’ उनले भने ‘तर त्यो मेरो बाध्यता थियो। आँगन जोतेर भताभुंग पारिदिएपछि पक्कै केही पहल होला भन्ने सोचें।’
साँच्चै डिल्लीबहदुरको कदमले गाउँसमाजमा ठूलो तरंग ल्याइदियो। विद्यालयको मैदान जोतिएको खबरले स्थानीय २५ वर्षीय युवक हरि खड्काको निद्रा हराइदियो। उनले विद्यालय मैदान जोगाउन अभियान चलाउने अठोट गरे।
उनले गाउँका केही युवा र विद्यालय परिवारमा छलफल चलाए। गाउँबाट मात्र सातलाख रूपैयाँ जुटाउन सम्भव छैन भन्ने ठहर भयो।
हरि सामाजिक सञ्जालमा निकै सक्रिय छन्। ‘रूटिन अफ शान्तिनगर’ नामको अनलाइन पेज चलाउँछन्।
उनले गौ संरक्षण अभियान, छाडा चौपायाका लागि घाँसपराल, शवदाह स्थल निर्माण जस्ता काममा सामाजिक सञ्जालमार्फत रकम जुटाएका थिए। उनले चन्दा संकलनबाटै अति विपन्न एक परिवारका लागि घर पनि बनाइदिएका थिए।
उनले त्यसरी जुटेको रकम र खर्चको विवरण जस्ताको तस्तै सार्वजनिक गर्ने गरेका छन्। हरिको अनुभव र इमानदारीले विद्यालयका लागि पनि सहयोग जुट्न सक्ने ठहर भयो।
त्यसैअनुसार हरि अघि बढे। उनले जोतिएको मैदानको फोटोसहित आफ्नो अनलाइन पेजमार्फत सहयोग आह्वान गरे।
विद्यालयका शिक्षक चूडामणि केसीको संयोजकत्वमा ‘सहयोग संकलन समिति’ बन्यो। उनी आफूले २२ हजार २२२ रूपैयाँ सहयोग गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर वलीले ६१ हजार, प्रधानाध्यापक विनोद डाँगीले २२ हजार २७२ र शिक्षक हीराबहादुर डाँगीले २७ हजार ५०५ रूपैयाँ प्रदान गरे।
तुलसीपुरमा व्यवसाय गर्ने विजय केसीले हरिको आग्रहमा ११ हजार रूपैयाँ सहयोग गरेको बताए।
गाउँघरबाट जुटेको सहयोग समेत गरी बैंक खातामा तीन लाख रूपैयाँ जम्मा भयो। विदेशबाट पनि पैसा आउन थाल्यो। शान्तिनगरबाट विभिन्न देशमा रहेका आप्रवासीहरूले पैसा पठाए।
एक महिनामा नौ लाख रूपैयाँ जुट्यो। त्यसपछि आर्थिक संकलन बन्द गरियो। विद्यालयलाई सात लाख रूपैयाँ चाहिएको थियो।
हरिको पहलले विद्यालयको समस्या समाधान हुने भयो। डिल्लीबहादुर तनावमुक्त भए। उनले पहिले जुटेको आर्थिक सहयोगबाट पनि केही पैसा पाएका थिए।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओपेन्द्रबहादुर रावतले हरि र अन्य केही युवाले सामाजिक सञ्जाल सदुपयोग गरेर विद्यालयका लागि ठूलो सहयोग जुटाएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले हरिको पहलमा विद्यालयको समस्या समाधान भएको भन्दै खुसी प्रकट गरे।
अझै बाँकी छ उल्झन्
जग्गाधनीले सात वर्षअघि नै पैसा पाए पनि जग्गाको स्वामित्व विद्यालयलाई हस्तान्तरण भएको छैन। जग्गा विद्यालयका नाममा पास हुन बाँकी छ।
जग्गाधनीहरू पनि विद्यालयका नाममा गरिदिन तयार छन् तर ६ जनाको नामबाट पास गर्नुपर्ने भएकाले जुट्ने अवसर मिलेको छैन। जग्गा पास गरिदिनुपर्ने कतिपय व्यक्ति जिल्लाबाहिर छन्।
‘उति बेलै फटाफट काम भएको भए सबै जग्गा विद्यालयको नाममा आइसक्थ्यो,’ डिल्लीबहादुरले भने, ‘यो बीचमा कोही छुट्टीभिन्न भए, कोही बिते। परिवारभित्रै पनि स्वामित्व हस्तान्तरण गर्नुपर्ने भएको छ अनि मात्र विद्यालयको नाममा गराउन सकिन्छ।’
गाउँमा रहेका तीन जनाले आफ्नो धनीपूर्जा उपलब्ध गराइसकेका छन्। अन्यबाट पनि धनीपूर्जा संकलन गरेर एकै दिन विद्यालयको नाममा हक हस्तारण गराउन चाहेको उनको भनाइ छ।
यसरी स्थापना भएको थियो विद्यालय
प्रधानाध्यापक डाँगीका अनुसार आदर्श माध्यमिक विद्यालय २०५० सालमा स्थानीय राजनीतिक नेता रामबहादुर देवकोटाको पहलमा स्थापना भएको थियो। उनैले साढे तीन कट्ठा सार्वजनिक जग्गामा विद्यालय भवन बनाउन अग्रसरता लिएका थिए।
प्राथमिक तहबाट सुरू भएको विद्यालय क्रमशः माध्यमिक तहमा पुगेको थियो।
स्थपनाकै वर्ष विद्यालयले प्राथमिक तह र २०६६ सालमा आधारभूत तह स्वीकृति पायो। गाउँपालिकाले २०७६ सालमा माध्यमिक तह सञ्चालनको स्वीकृति दिएपछि कक्षा १० सम्म पुग्यो।
हाल विद्यालयले माध्यमित तहमा तनीन वटा सरकारी शिक्षकको दरबन्दी पाएको छ।
विद्यालयले आफ्ना विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसइई) मा सहभागी गराएको दुई पटक भयो।
हाल विद्यालयमा कम्तीमा दुई सय विद्यार्थी छन्। कक्षा १० मा २४ जना छन्।