जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको बचत अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ।
कास्की प्रहरी प्रवक्तासमेत रहेका डिएसपी वसन्त शर्माको नेतृत्वमा काठमाडौं पुगेर लामिछानेसँग बयान लिएको प्रहरी स्रोतले बताएको छ।
सहकारी पडितले दिएको पूरक जाहेरी र पोखरा महानगरपालिका र नेपाल प्रहरीले संयुक्त रूपमा गरेको सुर्यदर्शन बचत तथा ऋण सहकारी ठगी छानबिन प्रतिवेदनका आधारमा लामिछानेसँग बयान लिएको प्रहरीले जनाएको छ।
‘हामीले लामिछानेज्यूसँग प्रारम्भिक बयान लिएका छौं,’ कास्की प्रहरीका एक उच्च अधिकृतले सेतोपाटीसँग भने, ‘उहाँले अरू ठाउँमा भने जस्तै खै मलाई थाहा छैन टाइपको जवाफ दिनुभएको छ।’
लामिछानेसँग कास्की प्रहरीले उनले सहकारीबाट गैरकानुनी हिसाबले लिएको ऋण र गोर्खा मिडियामा गैरकानुनी हिसाबले गएको ऋणबारे प्रश्न सोधेको ती प्रहरी अधिकृतले बताए।
'हामीले उहाँलाई तपाईंको विरूद्ध सहकारीको बचत अपचलन गरेको भनेर जाहेरी परेको छ, पोखरा महानगरको छानविन प्रतिवेदनले पनि तपाईंले ऋण लगेको देखिन्छ यसबारे खुलाई दिनुहोस् भनेर सोधेका थियौँ,' ती प्रहरीले भने, 'सुर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको गैरकानुनी ऋण कसरी लिएको भनेर पनि हामीले सोधेका थियौँ।'
रविले सुर्यदर्शनबाट आफूले ऋण नलिएको र गोर्खा मिडियामा पैसा गएको विषयमा पनि आफूलाई थाहा नभएको बताए।
'उहाँले मसहकारीमा संलग्न छैन, कुनैसहकारीबाट मैले ऋण लिएको पनि छैन भनेर जवाफ दिनुभयो,' ती प्रहरी अधिकृतले रविलामिछानेको वयान उद्धृत गर्दै भने, 'गोर्खा मिडियामा सहकारीबाट गएको ऋणबारे पनि मलाई थाहा छैन भन्नुभयो।'
गोर्खामिडियाका तत्कालिन सेयरसदस्य पूर्व डिआइजी छविलाल जोशीसँग पनि बयान लिएको छ।
‘हामीले एक साता अघि नै काठमाडौंमा उहाँहरूसँग बयान लिएका थियौँ,’ ती अधिकृतले भने, ‘अहिले प्रारम्भिक बयान मात्र लिएका हौं, विस्तृत छानविनका क्रममा अझै बयान लिनुपर्ने हुनसक्छ।’
साथै ग्यालेक्सी टेलिभिजन, नेचर हब्स, नेचर नेक्स्ट गरी तीनवटा कम्पनीका कागजात पनि लिएको प्रहरीले बताएको छ। यी कम्पनीहरूमा सहकारीबाट गैरकानुनी रूपमा रकम गएको विषयमा अनुसन्धान गर्न ति कम्पनीका कार्यालयबाट कागजात लिएको प्रहरीले जनाएको छ। यी तीनवटै कम्पनीका अध्यक्ष जिबी राई हुन्। उनी सहकारी ठगी प्रकरणमा उजुरी पर्न थालेपछि अहिलेसम्म फरार छन्।
कास्की प्रहरीले काठमाडौं जिल्ला प्रहरी परिसरलाई तीनवटा कम्पनीको कागजात पठाइदिन पत्राचार गरे पनि नपठाएपछि पोखराबाट डिएसपी शर्माको नेतृत्वको टोली काठमाडौं पुगेको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसरले आफ्नो क्षेत्राधिकार नभएकाले सहकारी ठगीका विषयमा यी तीनवटा कम्पनीका कागजात पठाउन र आरोपित लामिछाने, आचार्य र जोशीसँग बयान लिन नसक्ने जवाफ कास्की प्रहरीले पाएको थियो।
सहकारी पीडितहरूले भने कास्की प्रहरीले विस्तृत छानविन प्रतिवेदन अनुसार अनुसन्धान गर्न प्रहरीले ढिलाई गरेको आरोप लगाउँदै आएका छन्। सुर्यदर्शन बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बैशाखमा बनाएको प्रतिवेदन प्रहरीले अहिलेसम्म अदालत नलगेको बताए।
‘हामीले छिटो भन्दा छिटो छानविन गरेर अदालतमा पेश गर्नुपर्यो भनेका छौं, प्रहरीले ढिलाई गरिरहेको छ,’ उनले भने, ‘विस्तृत छानविन प्रतिवेदनमा सहकारी ठगीमा धेरै मानिस संलग्न भएको देखिन्छ, उनीहरू सबैलाई कानुनी दायरामा ल्याउनुपर्यो।’
सहकारी ठगीमा संलग्न भएको आरोपमा अहिले कारागार चलान भएका व्यक्तिहरू आफू निर्दोष भएको दाबीसहित रिहा हुन सर्वोच्च अदालत पुगेका छन्।
विस्तृत प्रतिवेदनमा करोडौं रकम लिएका व्यक्तिहरू थुनामुक्त हुने सम्भावना भएकाले प्रहरीलाई छिटो प्रतिवेदन अदालत पुर्याउन माग गरेको श्रेष्ठले बताए। त्यही प्रतिवेदनका आधारमा छानविन अघि बढाएको कास्की प्रहरी प्रमुख डिएसपी मोहन थापाले बताए। प्रतिवेदन निकै लामो भएकाले अध्यन गर्न समय लागेको उनको भनाइ छ।
सुर्यदर्शन सहकारी ठगीको विस्तृत छानविन प्रतिवेदन ३ हजार ४१९ पृष्ठ लामो छ। उक्त प्रतिवेदनमा सहकारीबाट ऋण पाउँ भन्दै माग गरेर लामिछानेले गोरखा मिडियाका नाममा १ करोड ऋण लिएर चुक्ता गरेको देखिएको छ। यस्तै, रास्वपा सहमहामन्त्री आचार्यले २ करोड रूपैयाँ लिएको देखिन्छ। आचार्य पनि ग्यालेक्सी टेलिभिजनमा कार्यरत थिए।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानविन समितिले जनाएको छ। यसरी बचत अपचलन गर्दा सहकारीले कानुन विपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।
सहकारीको बचत अपचलन मुद्धामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।
सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन् ।
सहकारी पीडितले रवि लामिछानेसहित सहकारीबाट ऋण लगानी भएका विभिन्न कम्पनी, त्यसका सञ्चालक तथा प्रवन्ध निर्देशक विरूद्ध पूरक जाहेरी दिएका थिए । पूरक जाहेरी दिए पनि प्रहरीले अहिलेसम्म लामिछाने विरूद्ध अभियोजन लगाएको छैन।