दाङको तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष ३५ वर्षीय दुजमान भण्डारीले सुरक्षाको माग गरेका छन्।
मंगलबार बिहान वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई भारतबाट निरन्तर फोन गरी ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका हुन्।
वडाध्यक्ष भण्डारीले सडक निर्माणको विषयलाई लिएर आफूसहित वडासदस्य यमराज केसीलाई पनि निरन्तर भारतको गुहावाट, कहिले हिन्दीमा र कहिले नेपाली भाषा बोल्नेहरूले ज्यान मार्ने धम्की आउने गरेको बताए।
तुलसीपुर–६ को गौरवको योजना अन्तर्गत तुलसीपुरको तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने (मदन आश्रित) सडक निर्माणको क्रममा छ। नक्सा अनुसार सडक ८ मिटर चौडाइको निर्माण गर्न भन्दै साउन २९ गते स्थानीय इलिजा वली डाँगी र जागेश्वर डाँगीको घरको पर्खाल भत्काइएको थियो। पर्खाल भत्काउनुभन्दा दुई दिन पहिला साउन २७ गते वडा कार्यालयको प्रतिनिधि घरमै गई सोबारे जानकारी गराइएको र डाँगी दम्पतीले त्यसको दुई दिनभित्रै आफै पर्खाल भत्काउने प्रतिबद्धता गरे पनि सो अनुरूप काम नभएपछि साउन २९ गते वडाध्यक्ष सहितका जनप्रतिनिधि र सयौं स्थानीय डोजर लगेर बिहान ८ बजेतिर डाँगीको घरको पश्चिम तर्फको पर्खाल भत्काइदिएका थिए। त्यतिखेर डाँगी दम्पती र जनप्रतिनिधिका साथै स्थानीयका बीचमा विवाद हुनुका साथै धम्कापक्का पनि भएको थियो।
सोको विरोधमा सोही दिन इलिजा उच्च अदालत तुलसीपुर पुगेकी थिइन्। अदालतले सोही दिन स्टे-अर्डर जारी गरी तत्काल डाँगी दम्पतीको घरको संरचना नभत्काउन आदेश गरेको थियो।
अदालतको स्टे-अर्डरपछि वडा कार्यालय डाँगी दम्पतीको घर आसपासको सडक विस्तारको काम रोकेर अन्यत्र काम गर्न थालेको थियो। त्यही क्रममा साउन ३० गते बिहानदेखि नै विभिन्न भारतीय नम्बहरूबाट आफूसहित वडा सदस्य केसीलाई निरन्तर ज्यान मार्ने धम्की आउन थालेको वडाध्यक्ष भण्डारीले बताए।
निरन्तर धम्कीहरू आउन थालेपछि असुरक्षित महसुस गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते लिखित रूपमा सबै कुरा खुलाएर निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए।
प्रहरीले आरोपितलाई पक्रिन आश्वासन दिए पनि अहिलेसम्म पक्राउ नगरेको भन्दै वडाध्यक्ष भण्डारीले गुनासो पोखे।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले निवेदन दिन गएका जनप्रनिधिकै सामुन्नेबाट तत्काल इप्रका तुलसीपुरका डिएसपी पोख्रेललाई फोन सम्पर्क गरी घटना अनुसन्धान गर्न आग्रह गरेका थिए। यो बीचमा पनि प्रहरीले कुनै एक्सन नलिएको भन्दै भदौ १७ गते वडाध्यक्ष भण्डारी सहितका जनप्रनिधि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई भेटेर आफूहरूमाथि इण्डियाबाट निरन्तर ज्यानमार्ने धम्की आइरहेको र त्यसबारे प्रहरीमा निवेदन दिँदा पनि कुनै सुनुवाइ नभएको बेलिविस्तार लगाए। तत्कालै प्रजिअ सुवेदीले जिल्ला प्रहरी प्रमुख केसीलाई बोलाएर घटना अनुसन्धान गर्न र दोषीलाई नियन्त्रणमा लिन निर्देशन दिए पनि हालसम्म कोही पक्राउ नपरेको हुँदा आशंका पैदा भएको वडाध्यक्ष भण्डारीले बताए।
यता इलिजाले भने वडाध्यक्ष लगायत जनप्रनिधिनिले गुण्डागर्दी शैलीमा आफूलाई धम्काउँदै प्रस्तुत भएको आरोप लगाएकी छन्।
‘दुई घन्टा मात्रै रोक्नुहोस् भनेर मैले रूँदै हात जोड्दा वडाध्यक्ष भण्डारी गुण्डागर्दी शैलीमा मलाई धम्काउँदै धकल्नु भएको थियो,’ इलिजाले सेतोपाटीसँग फोनमा भनिन्, ‘वडा सदस्य यमराज केसीले पनि मेरो भतिजा रबिन्श डाँगीलाई त्यसैगरी धकेल्दै धम्काउँदै बलजफ्ती मेरो पर्खालमा डोजर चलाउनु भएको हो।’
आफूहरू विकास विरोधी नभएको र सल्लाहले काम गरौं भन्दा उल्टै जनप्रनिधिहरू नै गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनको दोषारोपन थियो।
‘मैले चार अंगुल पनि सरकारी जग्गा मिचेकी छैन,’ उनले भनिन्, ‘जिन्दगीभरि पसिनाको कमाइले बनाएको घर हो। जनप्रतिनिधि रक्षक हुनुपर्नेमा आफै भक्षक भएर आउनु दुःखद् हो।’
के भन्छ प्रहरी?
इप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले जनप्रनिधिहरूलाई ज्यानमार्ने धम्की आएकोबारे किटानी जाहेरी नपरेको स्पष्ट पारे। ‘मकहाँ उहाँहरू आए पनि किटानी जाहेरी दिनु भएको छैन,’ उनले भने, ‘ठाडो उजुरीका आधारमा हामीले कसैलाई पक्राउ गर्न मिल्दैन।’
त्यस्तै, उनले ज्यानमार्ने धम्की वडाध्यक्ष दुजमान भण्डारीलाई नभई वडा सदस्य यमराज केसीलाई मात्रै आएको जानकारी दिए।
‘उहाँहरूले मलाई भेटेर भनेको कुरा त्यही हो,’ पोख्रेलले भने, ‘मैले उहाँहरूलाई भनेको हो शंका लागेको व्यक्तिलाई लिखित रूपमा उजुरी दिनुहोस् र त्यो साइबर क्राइम अन्तर्गत मुद्दा चल्छ भनेको हो।’
सडक विस्तार र स्तरोन्नति गर्नका लागि भन्दै शिक्षक शिक्षिकाको घरको पर्खाल भत्काइ दिएपछि विवाद उत्पन्न भएको र अदालतले स्टे अर्डर जारी गरिसकेको हुँदा अब त्यसको निरूपण पनि अदालतबाट मात्रै सम्भव हुने डिएसपी पोख्रेलले बताए।
‘एथेष्ट प्रमाण नभई कसैले भनेकै आधारमा कसैलाई पक्राउ गर्न मिल्दैन,’ उनले भने, ‘यहाँनेर ज्यान मार्ने धम्की दिने शंका लागेको व्यक्तिलाई उजुरी दिँदा कानुनी कारबाही गर्न सजिलो हुने देखिन्छ।’
तर, डिएसपी पोख्रेलले इलिजाले आफ्नो घरको पर्खाल भत्काएको कुरा इण्डियाको गुहामा रोजगारीका लागि बस्दै आएका दिदीको छोरालाई भनेको हुँदा उतैबाट धम्कीहरू आएको भन्ने दोषारोपन जनप्रनिधिनिले गर्दै आएको भए पनि त्यसको प्रमाण उपलब्ध गराउन नसकेको बताए।