नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङ र उनकी पूर्वश्रीमती ज्योति गुरूङमाथि सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलनको आरोप लागेको छ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित संसदीय छानबिन समितिमा धनराज र ज्योति सगोलमा रहँदाकै बखत रकम दुरूपयोग भएको बयान दिएका हुन्।
संसदीय छानबिन समितिका एक सांसदले मितेरी सहकारीको विषयमा समितिमा उजुरी नपरेको तर सिआइबीले घटना अनुसन्धान गरिरहेको बताए। संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीका विषयमा अन्य निकायमा भएका उजुरीबारे समेत बुझ्ने काम गरेको छ।
'सिआइबीले घटना हेरिरहेको रहेछ। १४ करोड ८१ लाख रूपैयाँ उनकी श्रीमती व्यवस्थापक भएका बेला पैसा यताउता भएको सत्य हो। उनी फरार छिन्,' उनले सेतोपाटीसँग भने, 'तर धनराज आफै संलग्न हुन् कि होइनन् भन्ने थाहा छैन।'
नाम नबताउने सर्तमा कुरा गरेका अर्का एक सांसदले भने २०८१ भदौ ०६ गते साँझ मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले धनराज र उनकी पूर्वश्रीमती ज्योति माथि रकम अपचलनको आरोप लगाएका छन्।
'मितेरी सहकारीमा धनराज गुरूङकी पूर्वश्रीमती व्यवस्थापक हुनुहुँदो रहेछ,' ती सांसदले भने, 'ज्योति चार-पाँच वर्षदेखि फरार हुनु हुँदोरहेछ। पछिल्लो पटक ज्योतिसँग सहकारीका अध्यक्ष कुम्भराजजीले दुई वर्षअघि सम्पर्क गर्नुभएको रहेछ। त्यति बेला धनराज र ज्योति दुवैले बिस्तारै मिलाउँदै जान्छौं भनेको भनेर कुम्भराजजीले समितिमा भन्नुभएको छ।'
ज्योतिले सहकारीको रकम जितेन्द्र भण्डारी भन्ने व्यक्तिमार्फत थाइल्यान्ड पुर्याएर बिटक्वाइनमा लगानी गरेको पनि कुम्भराजले समितिमा बताएका छन्। त्यस्तै अहिलेसम्म रकम 'सेटल' नभएकाले आफूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएको पनि उनले बताएका छन्।
'ज्योति व्यवस्थापक भएकाले ऋण लगेको भन्दा पनि बचत रकम नै बोकेर हिँडेको भनेर कुम्भराजजीले समितिमा भन्नुभयो,' ती सांसदले भने, 'उहाँले समिति बैठकमै आएर आफू कांग्रेसको महासमिति सदस्य भएको र धनराजजीले अघिल्लो निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्न समेत अफर गरेको बताउनुभयो।'
धनराजले भने आफूलाई पूर्वश्रीमती ज्योतिले रकम अपचलन गरेको विषयमा थाहा नभएको सेतोपाटीलाई बताए। उनले ज्योतिसँग आफ्नो २०७६ सालमै डिभोर्स भएको बताए।
'ज्योति मितेरी संस्थामा काम गर्थिन्। त्यहाँ काम गर्दा घरीघरी थाइल्यान्ड जाने भन्दै १५-२० दिन हराउन थालिन्। मैले किन घरीघरी थाइल्यान्ड गइरहेको, अफिसमा कसरी बिदा मिलिरहेको छ भनेर पनि सोधेँ,' धनराजले भने, 'तपाईंलाई अफिसको कुरा किन चाहियो भन्थिन्। संस्थाका अध्यक्षसँगकै कुराकानीका आधारमा आफू विदेश गएको भन्थिन्।'
तेस्रो पटक पनि थाइल्यान्ड हो वा सिंगापुर जान खोजेपछि आफूले रिसको झोँकमा घरीघरी जाने भए बरू एकोहोरो नै जाऊ भनेको धनराजले बताए। त्यसको दुई-तीन दिनमा ज्योतिले डिभोर्सको मुद्दा हालेको र २०७६ सालमा डिभोर्स भएको पनि उनले बताए।
उनले आफूलाई सहकारीको रकम अपचलनबारे भने केही थाहा नभएको दाबी गरे।
'मलाई यो रकम अपचलनबारे केही थाहा छैन। उनले अफिसमा के के गरिन्, थाहा छैन। अहिले समाचारमा पढ्दै छु,' धनराजले भने, 'अहिले त्यो संस्थाको अध्यक्षले आफू पर्छु भन्ने नाममा मलाई समेत गाँजेका छन्। त्यसैले सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने मेरो माग छ। प्रमाणहरू हराउन सक्छन्। त्यसैले प्रमाण नहराउने गरी छानबिन गरिदिनुपर्छ।'
तपाईंहरू सगोलमा हुँदा नै रकम अपचलन भएको देखिन्छ, त्यसमा तपाईँको जिम्मेवारी हुने कि नहुने भन्ने सेतोपाटीको प्रश्नमा उनले आफूलाई यसबारे थाहै नभएको बताए।
'उसले कहिले के गर्यो, मलाई थाहा छैन,' धनराजले भने, 'अफिसमा कसले के गर्छ भन्नेमा म त जिम्मेवार हुन्नँ। म त्यो संस्थाको सञ्चालक समितिमा पनि छैन। अहिले आफू पर्ने भएपछि यतातिर लगाइदिऊँ भनेर निवेदन हाल्न मिल्छ? तुरून्तै छानबिन गर्नुपर्छ।'
आफूले कहिल्यै पनि रकम तिर्ने लगायत विषयमा कुम्भराजसँग कुराकानी नगरेको पनि उनले बताए। यद्यपि कुम्भराज भूपू सैनिक संघमा काम गर्ने भएकाले पार्टी कार्यकर्ताका रूपमा आफ्नो पहिला नै चिनजान रहेको धनराजले बताए।
केहीले भने धनराज र ज्योतिले डिभोर्स गरे पनि अझै भेटघाट भइरहने र सँगै खाने-बस्ने गरेको आरोप लगाएका छन्। सहकारीको ऋणको दायित्व आफूमा नसार्न मात्र उनीहरूले डिभोर्स गरेको आरोप पनि छ।
अहिले पनि धनराज र ज्योति सँगै बस्ने र बालबच्चा हुर्काउने गरेको र कागजातमा मात्र डिभोर्स गरेको भन्ने आरोपबारे सेतोपाटीले धनराजलाई पनि सोधेको थियो। उनले घरमै आएर हेर्न चुनौती दिए।
'नचाहिने कुरा गरेर हुन्छ! घरमा आएर हेरे भयो नि! डिभोर्स गरेपछि उनी कहाँ बस्छिन्, के गर्छिन् थाहा छैन। फर्केर पनि आएकी छैनन्। फर्केर आउने कुरा पनि भएन,' धनराजले भने, 'आफू फस्ने भएपछि उनले मेरो बेइज्जत गर्न पाउँछिन् र?'
कुम्भराजलाई आफूले समानुपातिक तर्फको सांसद पदको प्रस्ताव गरेको विषय समेत धनराजले अस्वीकार गरे।
'बेकारको कुरा हो। केको अफर गर्नु नि! उनको नाम सूचीमा कहिल्यै चर्चा पनि भएको छैन। उनी त्यो हैसियतका मान्छे पनि होइनन्। त्यस्तो नचाहिने कुरा गर्ने! अफिस राम्रोसँग सञ्चालन गर्ने उनको जिम्मेवारी होइन। नानाथरी कुरा गर्ने,' उनले भने।
आफूमाथि छानबिन हुने पक्कापक्की भएपछि कुम्भराजले आफूविरूद्ध निवेदन हालेको पनि उनले बताए।