दाङ तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानभित्र लुम्बिनीका मुख्यमन्त्रीले गर्ने भनिएको बोटिङ पुलको उद्घाटन कार्यक्रम रोकिएको छ।
राप्ती शान्ति उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्ली भण्डारीले पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका कारण कार्यक्रम बिथोलिएको सेतोपाटीलाई बताए।
उद्यान सञ्चालक समितिका सचिव कृष्ण पोख्रेलले पनि सोही कुरा बताए।
‘मलाई पूर्वमुख्यमन्त्री डिल्लीजीका स्वकीय गोपाल शर्मा भट्टराईले अघिल्लो दिन फोन गरी थर्काउनु भयो,’ सचिव पोख्रेलले भने, ‘बजेट हामीले हाल्ने र उद्घाटन अर्कैलाई गर्न बोलाउने? कार्यक्रम तुरून्त रोक्नुहोस् नत्र नराम्रो हुन्छ।’
पोख्रेलले आफूलाई स्वकीय भट्टराईले भनेको कुरा अध्यक्ष डिल्ली भण्डारीलाई बताए। त्यसपछि अध्यक्ष डिल्ली पूर्वमुख्यमन्त्रीलाई निवासमै गएर भेटे। भेटका क्रममा पूर्वमुख्यमनले भने, ‘यो मेरै ठाउँ र निर्वाचन क्षेत्र। पोखरी निर्माण गर्न मैले बजेट हाल्ने अनि अहिले अर्कोलाई उद्घाटनका लागि बोलाउने!’
पूर्वमुख्यमन्त्री डिल्लीका स्वकियले शान्ति पार्क उद्घाटन गर्न मुख्यमन्त्री चेतनारायण आचार्य तुलसीपुर आउँदा राम्रो नहुने सूचना उनको सचिवालयलाई सुनाएका थिए।
मुख्यमन्त्री आचार्यलाई सचिवालयका सदस्यहरूले पूर्वमुख्यमन्त्रीको धारणा अवगत गराएपछि नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री आचार्य उद्घाटन कार्यक्रममा नआउने निर्णयमा पुगेका हुन्।
मुख्यमन्त्री आचार्यले एमालेका स्थानीय नेतासमेत रहेका शान्ति उद्योनका अध्यक्ष डिल्ली भण्डारीलाई फोन गरेर आफू उद्घाटन कार्यक्रममा आउन नसक्ने कुरा बताएका थिए।
‘तपाईंको ठाउँ विवादित रहेछ,’ मुख्यमन्त्री आचार्यको कुरा उद्धृत गर्दै अध्यक्ष डिल्लीले भने, ‘विवादित ठाउँमा आएर म थप विवादित बन्न चाहँदिनँ।’
शान्ति उद्यानका सचिव कृष्ण पोख्रेलका अनुसार जिल्लाकै सबैभन्दा ठूलो शान्ति उद्यान भित्रको दक्षिण कुनामा गत वर्ष मात्रै मुख्यमन्त्री छँदा डिल्लीबहादुर चौधरीले दुई किस्तामा गरी झन्डै ५० लाख रुपैयाँ पोखरी निर्माणका लागि बजेट उपलब्ध गराएका थिए। त्यो बजेटबाट १७ मिटर चौडाइ र ९० मिटर लम्बाइको आकर्षक पोखरी निर्माण गरिएको छ। पोखरी तयार भएपछि तुलसीपुर उपमहानगरपालिकाले तीन लाख ६४ हजार मूल्य बराबरका दुई वटा डुंगा उपलब्ध गराएको छ।
यहाँ डुंगामा सयर गर्नका लागि दुई राउन्ड लगाएको प्रति व्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। शान्ति उद्यान जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित उद्यान हो।
२०५९ सालमा स्थापना भएको यो शान्ति उद्यानमा हालसम्म ७ करोड खर्च भइसकेको छ। भित्र बुद्धको मूर्तिदेखि, फाउन्टेन, विभिन्न आकर्षक संरचनाका साथै मिनी चिडियाखाना पनि स्थापना गरिएको छ। शान्ति उद्यानभित्र प्रवेशका लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यहाँ दैनिक सरदर पाँच सय मानिस अवलोकनका लागि आउने गरेको अध्यक्ष भण्डारीले बताए।गणेश सामुदायिक वनको १०५ हेक्टर जमिनमध्ये शान्ति उद्यानले १२ हेक्टर जमिन उपयोग गरेको छ।