सामाजिक क्षेत्रमा सक्रिय रहेकी विमला अर्याललाई गाउँका बुढापाका महिलाहरूले सधैं सुनाइरहेका हुन्थे- 'सपनामा सधैं पढेको देखिन्छ, यो उमेरमा पढ्ने रहर जाग्यो।'
उनलाई बुढापाकाहरूको यो रहर देखेर पढाउन पाए हुन्थ्यो भन्ने सधैं लागिरहन्थ्यो। उनले गाउँका दिदीबहिनीलाई पढाउन महिला विद्यालय सञ्चालन गर्नेबारे धेरै पटक स्थानीय तहसँग माग राखिन्। तर कसैले सुनेनन्।
उनी सामाजिक क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय देखिँदै आएकी थिइन्। तर नेतृत्व तहमा पुग्न भने सकेकी थिइन्।
२०७४ सालको स्थानीय तहले उनलाई त्यो मौका दियो।
नेकपा एमालेका तर्फबाट बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दिइन्। त्यतिबेला उनी प्रतिद्वन्द्वीमा सीमित बनिन्।
उनले दोस्रो पटक अर्थात् २०७९ को स्थानीय तहको चुनावमा पुन: उम्मेदवारी दिइन्। दोस्रोपल्ट उनको सपना पूरा भयो।
उनी बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिकाको नगर प्रमुख बनिन्। आफै निर्णय गर्ने तहमा पुगेपछि धेरै कुराहरू सुधार्ने मौका मिलेको उनी बताउँछिन्। उनले 'पढ्नलाई उमेरले छेक्दैन' भन्ने नारासहित नि:शुल्क महिला विद्यालय सञ्चालन गरिन्।
२०८० फागुनबाट सञ्चालन गरेको विद्यालयमा २० देखि ६० वर्षसम्मका ७० जना पढ्छन्। उनीहरू बिहान आफ्नो घरधन्दा सकाएर ११ बजे विद्यालय आइपुग्छन्। ३ बजे फर्किन्छन्।
'पढ्ने चाहना भएका जुनसुकै उमेर समूहका महिलाहरू पढन् पाउँछन्,' उनले भनिन्, 'हामीले कसैलाई पनि उमेरहद राखेका छैनौं।'
मुस्लिम समुदायका बालबालिका पढ्नका लागि पनि छुट्टै मदरसा विद्यालय सञ्चालन गरिएको छ। शिक्षामा सबैलाई पहुँच पुर्याउनुपर्छ भनेर पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको उनले बताइन्।
शिक्षामात्र होइन, उनले स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिएकी छन्।
नगरपालिकाभित्र रहेका समस्याहरूलाई नजिकबाट नियालेकाले ती कुराहरूलाई हटाउन आफू लागि परेको उनको भनाइ छ।
उनका अनुसार, विपन्न नगरवासीहरूलाई स्वास्थ्य सेवा नि:शुल्क, स्वच्छ खानेपानीको ग्यारेन्टी र खरको (खतरा) छानो हटाउने विषय उनको कामको पहिलो सूचीमा छ।
त्यसका अतिरिक्त महिला सीप तथा उद्यम केन्द्र निर्माणमा काम गरिएको छ।
यही कामको प्रशंसा गर्दै कल्प इम्पावर वुमेन नेपालले उनलाई 'सी लिड्स आइकन' ले उत्कृष्ट २७ जनप्रतिनिधिभित्र परेकी छन्।
वुमेन नेपालले महिला, स्वास्थ्य, शिक्षा, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरणको क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट काम गरेका महिला जनप्रतिनिधिहरूमध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो।
छनोट भएकामध्ये पनि उत्कृष्ट काम गरेका ३ जना 'सी लिड्स आइकन' बन्नेछन्। यसका लागि उनीहरूको काम र भोटको आधारमा छनोट गरिने कल्प इम्पावर वुमेन नेपालका कार्यक्रम प्रमुख सम्राट थापाले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई छनोट गर्ने जिम्मा लामो समय राजनीति क्षेत्रमा काम गरेको अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रमा भिजेकी सरू जोशी र मिडिया क्षेत्रबाट चारू चाडालाई दिइएको छ। त्यसबाहेक केही प्रतिशत भोटलाई पनि प्राथमिकता दिइन्छ।
यसको फाइनल भने असोजपछि मात्र हुने कार्यक्रम प्रमुख थापा बताउँछन्।
वुमेन नेपालले वैशाख ३१ गते आवेदन खुला गरेको थियो। यसका लागि देशभरका १४० जना जनप्रतिनिधिले आवदेन दिएका थिए। तीमध्ये २७ जना छनोट भएका हुन्।
कामबारे मूल्यांकन हुने आशाले यसमा आवदेन दिएको नगर प्रमुख अर्याल बताउँछिन्।
'महिला जनप्रतिनिधिहरू पनि सक्षम छन्, काम गर्न सक्छन् भन्ने म्यासेज जाओस् भनेर यसमा सहभागी भएकी हुँ,' उनले भनिन्, 'यसले अन्य जनप्रतिनिधिहरूमा प्रेरणा मिल्ने अपेक्षा छ।'
उनी १८ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा जोडिएको दाबी गर्छिन्। समाजमा स-साना कामले पनि ठूलो प्रभाव पार्ने उनको बुझाइ छ।
त्यही कारण उनी आफूलाई देशभर चिनाउन चाहन्छिन्।
नगर प्रमुख अर्याल जस्तै समाजका हकहितका लागि काम गरिएको भन्दै तेह्रथुम मेन्छ्यायेम गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतम पनि उत्कृष्ट काम गर्नेको लिस्टमा छिन्।
गाउँपालिकाले नजितामुखी काम गरेका कारण उनले दोहोर्याएर गाउँपालिका उपाध्यक्ष जितेकी हुन्।
गाउँवासीलाई प्रविधिमैत्री शिक्षा, सुशासन, सुलभ स्वास्थ्य सेवा, लैंगिक समानतालाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको उनी बताउँछिन्।
'सामाजिक बहिष्करणमा परेका वर्गहरूको उत्थानका लागि लक्षित कार्यक्रमहरू चलाएको छु,' उनले भनिन्, 'यी नयाँ काम होइनन्, इमानदारितापूर्वक आफ्नो जिम्मेवारी निभाएको मात्र हो।'
स्थानीयको आत्मनिर्भरता बढाउन उनको पहलमा गाउँपालिकामा विभिन्न सीपमूलक तालिमहरू जस्तै सिकर्मी, डकर्मी, तरकारी खेती, अचार बनाउने र पाककला शिक्षा जस्ता कार्यक्रम सञ्चालन ल्याएकी छन्। उनले सिकाएका सीपको सकारात्मक प्रतिफल देखिन थालेको उनले बताइन्।
'गाउँवासीको साथ सहयोगमै यी काम गर्न सकिएको हो,' उनले भनिन्, 'सकारात्मक प्रतिक्रियाले काम गर्न थप ऊर्जा मिलेको छ।'
उनले जनप्रतिनिधिको जिम्मेवारीसँगै ९० वर्षीया आमाको हेरचाह र खेतीपाती पनि गर्दै आएकी छन्। त्यसैले पनि उनलाई गाउँवासीले रूचाएको उनको भनाइ छ।
उनले आफ्ना जिम्मेवारीसँगै गाउँवासीका लागि राम्रो काम गरेकाले टप २७ मा छनोट भएको दाबी गर्छिन्।
म्याग्दी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले पनि पालिकावासीलाई स्वस्थ जीवनशैली प्रदान गर्न कुनै कसर छोडेकी छैनन्।
बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरूमा जंक फुड (पत्रु खाना) निषेध नै गर्न लगाएकी छन्। त्यसको विकल्पमा अभिभावकहरूलाई स्थानीय उत्पादन प्रवर्द्धन र स्वास्थ्य खानाबारे तालिम दिएकी उपाध्यक्ष पुन बताउँछिन्।
महिला तथा बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि सुनौला हजार दिनका आमासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेकी छन्। उक्त कार्यक्रम विस्तारै प्रभावकारी बन्दै गएको उनको दाबी छ।
'मानिसको स्वास्थ्य सबैभन्दा पहिलो प्राथामिकता हो, त्यसैले यसलाई महत्त्वका साथ विभिन्न कार्यक्रम गरेर सुधार ल्याउने प्रयास गरिरहेको छु,' उनले भनिन्, 'सुरूआती दिनमा अभिभावकहरूलाई सम्झाउनै गाह्रो भयो। अहिले विस्तारै सुधार हुँदैछ।'
स्वास्थ्यसँगै पालिकालाई बालमैत्री बनाउने नीति, महिलाहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम, महिला कर्मचारी, शिक्षिका, स्वास्थ्य स्वयंसेविका, कृषक तथा उद्यमीहरूलाई सम्मान गर्दै उनीहरूलाई हौसला प्रदान गर्दै आएको उनी बताउँछिन्।
उनी स्वास्थ्य क्षेत्रसँगै अन्यायविरूद्ध सधैं बोल्ने गरेकी बताउँछिन्। अन्यायबारे बोल्नुपर्छ भनेर उनलाई बाल्यकाल हुँदा नै एउटा घटनाले सिकाएको हो।
उनका अनुसार २०४० सालमा गाउँकी एक महिला आफूमाथि भएको अन्यायविरूद्ध प्रहरीमा उजुरी गर्न पुगेकी थिइन्। त्यहाँका प्रहरीले महिलामाथि नै गोली प्रहार गरेको थियो। त्यो घटनाबारे मानिसहरू चुप बसेको उनले देखेकी थिइन्। त्यसैले यस्ता घटनाबारे बोल्नुपर्छ भन्ने उनलाई लागेको हो।
'महिलामाथि हुने स-साना घटनामा समेत गाउँपालिकाले ध्यान दिने र छिट्टै टुंग्याउने गरेको छ,' उनले भनिन्, 'यही कामले नै पालिकामा मात्र नभई देशभर चिनाउँछ भन्नेमा विश्वस्त छु।'
त्यस्तै, बाजुरा गौमुल गाउँपालिका उपाध्यक्ष सीता रोकाया (थापा) पनि गाउँवासीको मनमा बस्न सफल भएको दाबी गर्छिन्।
गाउँवासीका लागि स–साना कामले नै मनमा बस्न सकेको उनी बताउँछिन्।
'छोरीलाई पढाउनु हुँदैन भन्ने समाजको भ्रमलाई तोडेर अगाडि बढेकी हुँ,' उनले भनिन्, 'पढ्ने रहर नै पहिचान बन्यो।'
आर्थिक अवस्था न्यून भएको परिवारमा जन्मिएकी उनी सातौं सन्तान हुन्। आजभन्दा तीन दशकअगाडि बाजुरामा छोरीलाई पढाउनु हुँदैन भन्ने मानसिकता व्याप्त थियो। तर उनलाई पढ्ने रहर जाग्यो।
परिवार र समाजको मानसिकताभन्दा माथि उठेर पढ्न सकेकाले बाजुरामा महिलाका लागि प्रेरणको स्रोत बन्न सकेको उनको भनाइ छ।
'महिलाहरूको नेतृत्व र उपस्थिति बलियो बनाउन राजनीतिमा प्रवेश गरेकी हुँ,' उनले भनिन्, 'त्यही योजनाले अहिले पालिका उपाध्यक्ष छु।'
उनी पहिलोपटक उपाध्यक्ष बनेकी हुन्।
उनी लामो समयदेखि राजनीतिक र सामाजिक कार्यक्रमा सक्रिय छिन्। त्योसँगै गौमुलको भौगोलिक विकटता, जनताको असीमित चाहना र सीमित स्रोत साधनका बीच पनि ४ जना गम्भीर बिरामीहरूको सफलतापूर्वक शल्यक्रिया गर्न सहयोग गरेर नयाँ जीवन दिएकी थिइन्।
साथै, प्रत्येक परिवारका सदस्यहरूको स्वास्थ्य परीक्षण नि:शुल्क गराई विभिन्न रोगहरूको पहिचान गर्न सहयोग पुर्याएकी छन्।
महिलाहरूले भन्न नसकेर लुकाएका रोगहरू स्वास्थ्य शिविरमार्फत् पहिचान गरी स्वास्थ्यमा सुधार ल्याउन सफल भएको उनको दाबी छ।
'सामूहिक बेसार खेतीले पनि गाउँमा चर्चा पायो,' उनले भनिन्, 'समाजको कुरीति, कुसंस्कार सँगै अन्धविश्वासलाई न्यूनीकरण गर्न जोड दिएको छु। त्यही कारण सी लिड्स आइकनमा छनोट भएको हुनसक्छ।'
बैतडी सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी पनि आफ्नो लागि मात्र नभई गाउँकै महिलाको हकअधिकारको लागि लडिरहेकी छन्।
पालिकाभित्रका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उनको लक्ष्य छ।
उनी उपाध्यक्ष भएर महिला जनप्रतिनिधिहरूका हकअधिकारहरू कागजमा मात्र सीमित भएकालाई कार्यान्वयन गराएको बताउँछिन्।
'महिलालाई अहिले पनि घर र पाहुना सम्हाल्न मात्र सक्छन् भन्ने चेतना छ, त्यसैलाई तोड्न भए पनि महिलालाई व्यावसायिक र राजनीतिमा आउन सल्लाह दिने गरेकी छु,' उनले भनिन्, 'यहाँ पुराना मूल्य–मान्यतालाई छुटाउन निकै गाह्रो छ।'
उनको पालिकामा दलित समुदायको बाक्लो उपस्थिति छ। उनीहरूको आर्थिक अवस्था पनि सामान्य भएकाले दलित महिलाहरूलाई उद्यम दर्ता गराउन र सामाजिक विकास मन्त्रालयको सहयोगमा महिलाहरूलाई उद्यम व्यवसाय सञ्चालन गर्न सफल भएको उनले बताइन्।
उनी आफू पनि संघर्ष गरिरहेकी छन् भने गाउँका महिलाहरूलाई पनि सँगसँगै हिँडाइरहेकी छन्।
उनको जिन्दगी भने बाल्यकालदेखि नै संघर्षपूर्ण रह्यो। उनी दुई वर्षकी हुँदा उनकी आमाले घर छोडेर गएकी थिइन्। त्यहीकारण मामाघरमा हुर्किइन्, बढिन्।
श्रीमानको सहयोगमा स्नातकसम्म अध्ययन गर्ने अवसर पाइन्। अध्ययन गर्ने क्रममा आइपरेका समस्याहरू देखेर नै उनले महिलाका हकअधिकारका बारेमा आवाज उठाउने सोचेर राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ।
उनको हिम्मतको चर्चा गर्दै सी लिड्समा छनोट भएकी हुन्।
यी केही प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूसहित २७ जना उत्कृष्ट काम गरेको भन्दै कल्प इम्पावर वुमेन नेपालले गरेको प्रतिस्पर्धामा छनोट भएका छन्।
उनीहरूको स्थानीय अवलोकन, उनीहरूको काम र स्थानीयसँगको सोधपुछपछि उत्कृष्टमा छनोट गरिएको वुमेन नेपालको अध्यक्ष पूजा कोइरालले जानकारी दिइन्।
'हामी महिलाले पनि राम्रो काम गर्न सक्छन्, गरेका छन् भनेर देशव्यापी रूपमा चिनाउन चाहन्छौं,' उनले भनिन्, 'त्यसैले सी लिड्स आइकन कार्यक्रम बनाएका हौं।'
यस कार्यक्रमबाट महिला जनप्रतिनिधिहरूले गरेको राम्रो कामको चर्चासँगै अन्य महिलाका लागि प्रेरणा बन्ने आशा राखिएको अध्यक्ष कोइरालले जानकारी दिइन्।