कुरियरबाट सामान पठाउने गर्नुभएको छ?
छ भने, तपाईंलाई कुरियर सेवा दिने कम्पनीहरूले ट्र्याकिङ गर्ने नम्बर वा क्युआर कोड दिएका हुन्छन्। त्यसबाट आफूले पठाएको सामान कहाँ पुग्यो, कहाँ रोकियो भन्ने थाहा पाउन सकिन्छ।
यस्तै तरिकाले अब सरकारी कार्यालयले फाइल ट्र्याकिङका लागि दिने भएका छन्। कुनै पनि सेवाग्राहीले पेस गरेको फाइल कहाँ छ भन्ने ट्र्याकिङ गर्ने गरी प्रधानमन्त्री कार्यालयले सिस्टम विकसित गर्दैछ।
कुन मन्त्रालयको कुन विभागको कुन कर्मचारीको टेबलमा फाइल पुगेको छ भन्ने सेवाग्राही र प्रधानमन्त्री कार्यालयले ट्र्याकिङ गर्न सक्नेछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार फाइल ट्र्याकिङका लागि दर्ताका क्रममा नै कम्प्युटरबाट क्युआर कोड जेनेरेट गरिनेछ। त्यो क्युआरबाट सेवाग्राही र प्रधानमन्त्री कार्यालयले कुन फाइल कहाँ छ भन्ने ट्र्याक गर्न सक्नेछन्।
'समयमा कार्यसम्पादन गराउन फाइल कुन मन्त्रालय, विभाग वा कर्मचारीकहाँ अड्किएको छ भन्ने थाहा पाउने सिस्टम बनाउने होमवर्क भइरहेको छ', आचार्यले भने, 'यो कार्यान्वयनको चरणमा गइसकेको भने छैन।'
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले क्युआर प्रविधि सहज रहेको र सुरुआत प्रधानमन्त्री कार्यालयबाटै गर्ने तयारी भइरहेको बताए।
'प्रधानमन्त्री कार्यालयबाट सुरू गरेर मन्त्रालयहरूमा लैजाने र बिस्तारै तलसम्म पुर्याउने योजना हो। प्रधानमन्त्री कार्यालयले मोनिटरिङ गर्ने सिस्टम बनाउन लागिएको हो,' उनले भने।
रिमालले यो सिस्टम विकास गरे पनि यसमा सरकारको खासै खर्च नआउने बताए। त्यसका लागि मन्त्रालयका हालका कर्मचारीहरूले नै काम गर्नेछन्।
'यसमा सरकारको खर्च खासै हुँदैन। सेवाग्राहीलाई आफ्नो फाइल कहाँ पुग्यो भन्ने थाहा हुन्छ। हाकिमहरूले झुक्क्याउन पाउँदैनन्। म कहाँ फाइल नै आएको छैन भन्न पाउँदैनन्,' उनले भने।
उनले कुरियर सर्भिसमा जस्तै फाइल पेस गरेपछि कहाँ पुग्यो भन्ने सूचना सेवाग्राहीले पाउने बताए।
'अब फाइलमा लगातार अपडेट हुनेछन्। हामीले प्रधानमन्त्रीको सल्लाहकारका रूपमा यो सिस्टममा जान झकझक्याइरहेका छौँ। यो सिस्टमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मनिटर गर्नेछ,' उनले भने।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा एउटा पाँच तारे होटल 'लेमन ट्री प्रिमियर'को उद्घाटन कार्यक्रममा फाइल ट्र्याकिङ सिस्टमले छिटो छरितो जनताले सेवा पाउने दाबी गरेका थिए।
'हामीले सेवाको तरिका परिवर्तन गरेका छौँ। फाइल अब फटाफट सर्छ। हामीले एउटा सिस्टम डेभलप गरेका छौँ। एक ठाउँबाट सुरु भएको फाइल फाइल कहाँ बसेको छ प्रधानमन्त्री कार्यालयले थाहा पाउनेछ,' प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले फाइल ट्र्याकिङ सिस्टमको क्युआरकोड बाट प्रधानमन्त्री कार्यालयबाट फाइल अल्झेको ठाउँ थाहा पाउने बताए।
'किन फाइल अलमलियो, किन घर्रामा यति समय बस्यो भन्ने थाहा हुन्छ। भरसक फाइलहरू टेबलमाथिबाट घर्रामा छिर्न नपाउन्। घर्रामा फाइलहरूको बास नहोस्। त्यस ढङ्गले काम गरिराखेका छौँ र त्यसढंगले प्रबन्ध सुरु गरेका छौँ,' प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले विगतमा आफू सरकारमा भएका बेला डिजिटल नेपाल फ्रेम वर्क बनाएको र अहिले डिजिटल नेपाल बनाउने गरी जान लागेको बताए।
'एभ्रिथिङ डिजिटाइज। सरकारबाट तथा बैङ्कहरूबाट पाउने सेवाका लागि तपाईँहरूले घुस खुवाउनु पर्ने छैन। नजराना चढाउनुपर्ने छैन। भनसुन गर्न जानुपर्ने छैन,' प्रधानमन्त्री ओलीको भनाइ छ।