सहकारी बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवकर्कको सेयर खरिद ब्रिकी गर्दा किर्ते कागजका आधारमा गरिएको निष्कर्ष निकालेको छ।
संसदीय छानबिन समितिले प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कमा गएको ८५ करोड रुपैयाँ सम्पूर्ण रूपमा सहकारीकै पैसा भएको उल्लेख छ।
'गोर्खा मिडिया नेटवर्क प्रा.लि. लगायतमा कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयरसम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने समितले 'सहकारी कानून विपरीत गोरखा मिडिया नेटवर्क प्रा.लि.मा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.,बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि, काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लि., वीरगञ्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस,' गरेको प्रतिवेदनमा उल्लेख छ।
समितिले गोर्खा मिडिया नेटवर्कको सेयर सदस्यका रुपमा जिबी राई, कुमार रम्तेल, तत्कालिन महाप्रबन्धक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सञ्चालक छविलाल जोशी पनि समेत जिम्मेवार रहेको उल्लेख गरेको छ।
'कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन', प्रतिवेदनमा भनिएको छ, 'खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।'