संसदीय सुनुवाइ समितिको सोमबारको बैठक स्थगित भएको छ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको बैठक स्थगित भएको हो।
सांसदहरू बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।
यसअघि १६ जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नभएको भन्दै उनको नाम अनुमोदन भएको थिएन।
यसअघि आइतवारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो।
नाम स्वीकृत वा अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ।
सोमबारको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। दुई तिहाइका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ।
समितिको अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ।
(न्युज एजेन्सी नेपाल)