पछिल्लो एक हप्तामा हिजबुल्लाहविरूद्ध इसराइल आक्रामक भएपछि संकटग्रस्त लेबननका जनताका लागि थप पीडा थपिएको छ। यो क्रम अझै बढेर इसराइल-हिजबुल्लाह युद्ध हुने भयले उनीहरू आतंकित छन्।
१९३२ देखि जनगणना नभए पनि लेबननको जनसंख्या अहिले प्यालेस्टीनी शरणार्थी सहित करीब ५० लाख भएको मानिन्छ। करीब उस्तै-उस्तै संख्यामा रहेका सुन्नी र शिया मुसलमान र इसाई मुख्य वासिन्दा हुन् भने अरू विभिन्न धर्म मान्ने अल्पसंख्यक पनि त्यहाँ बस्छन्।
इसराइलले गत मंगलबार र बुधबार लेबननमा क्रमश: पेजर र वाकी-टकी विस्फोट र भारी बमबारी गरेको थियो।
शुक्रबार बेरूतको एक घरमा मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबी मारिएको हिजबुल्लाहले जनाएको छ। इसराइलले भने हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका कैयौं कमान्डरसहित सो घटनामा करिब ४५ जना मारिएका दाबी गरेको छ। उनीहरू गत अक्टोबर ७ मा हमासले इसराइलमा गरेजस्तो हमला गर्ने योजना बनाइरहेको बेलामा मारिएका इसराइलले जनाएको छ।
गत जुलाइ ३० मा बेरूतमा एउटा आवासीय भवनमा हवाइ आक्रमण गरेर इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। अकिल पनि शुक्रजस्तै हिजबुल्लाहको सैन्य दस्ताको संस्थापक मध्ये एक हुन्। शुक्रको हत्यापछि अकिलले उनको जिम्मेवारी पूरा गरिरहेको मानिन्थ्यो।
यसरी इसराइलले लगातार प्रहार गरेपछि हिजबुल्लाहले पनि आइतबार व्यापक जबाफी आक्रमण गरेको छ।
गत अक्टोबर ७ मा हमासले इसराइलमाथि हमला गरेयता हिजबुल्लाहले इसराइलमा लगातार रकेट प्रहार गरिरहेको छ।तर आइतबारको हमला अरू बेलाको भन्दा ठूलो र तुलनात्मक रूपमा टाढासम्म पुग्ने मिसाइल थियो। तीमध्ये एउटा बाहेक अरू सबै मिसाइल आफ्नो 'मिसाइल डिफेन्स सिस्टम'ले खसालेको इसराइलले दाबी गरेको छ।
हिजबुल्लाहले आइतबार ठूलो आक्रमण गरेपछि इसराइलले सोमबार लेबननमा झन् व्यापक हमला गरेको छ। इसराइलले लेबननी सर्वसाधारणलाई हिजबुल्लाहले हतियार भण्डार गर्न प्रयोग गरेका गाउँहरूबाट अन्यत्र जान सोमबार नै उर्दी जारी गरेको छ। कुन कुन गाउँमा प्रहार गर्ने भनेर नखुलाए पनि इसराइली सेनाले दक्षिण लेबननका १९ गाउँको नक्सा प्रकाशित गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ।
त्यसपछिको भीषण बमबारीमा एकै दिन झन्डै पाँच सय जना लेबननी मारिएका छन् जसमा कैयौं सर्वसाधारण परेका छन्। यो आक्रमण सन् २००६ को इसराइल-हिजबुल्लाह युद्धयताकै सबभन्दा ठूलो मानिन्छ। इसराइली प्रहारबाट जोगिन हजारौं सर्वसाधारण हिजबुल्लाहको बलियो पकड र शिया मुसलमानको बाहुल्यता रहेको दक्षिणबाट बिस्थापित भएर बेरूततर्फ गइरहेका छन्।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा ३५ बालबालिका र ५८ जना महिलाले ज्यान गुमाएका छन्। हिजबुल्लाह सदस्यहरू कति थिए भन्ने चाहिँ खुलाएको छैन।
इसराइलले सोमबार लेबननका १६०० ठाउँमा प्रहार गरेको र उसका आधुनिकसहित हजारौं मिसाइल-रकेट र रकेटलन्चरहरू नष्ट गरेको दाबी गरेको छ। इसराइलले प्रहार गरिरहँदा हिजबुल्लाहले पनि लेबननबाट हमला जारी राखेको थियो। हिजबुल्लाहले करिब १६५ मिसाइल र रकेट प्रहार गरेको र प्रायः सबै आफ्नो मिसाइल डिफेन्स सिस्टमले खसालेको इसराइलले दाबी गरेको छ। कोही पनि इसराइली मारिएको वा सिकिस्त घाइते भएको समाचार आएका छैनन्।
यो समाचार लेखिरहँदा आज पनि इसराइलले लेबननमा बमबारी गरिरहेको छ।
यो आक्रमणप्रति कतार, इजिप्ट लगायत मुस्लिम राष्ट्रले निन्दा गरेका छन्। फेरि युद्ध हुने खतरा बढेको भनेर अमेरिका लगायत पश्चिमा राष्ट्रले इसराइललाई संयम रहन आग्रह गरेका छन्।
इसराइलले किन लगातार प्रहार गरिरहेको छ भनेर बुझ्न झन्डै एक सय वर्षपछि फर्केर लेबननको इतिहास हेर्नुपर्छ।
प्रथम विश्व युद्धमा अटोमन साम्राज्यको पराजय भयो। प्रथम विश्व युद्धमा हारेका शक्ति मुख्यत: जर्मनी र अटोमनबाट जितेको भूमिलाई विजयी राष्ट्रबीच भाग लगाइयो। यसरी भाग लगाउँदा लामो समयदेखि इसाई र मुसलमान समुदाय बसेको हाल लेबनन रहेको भूमि फ्रान्सको भागमा पर्यो। सँगै जोडिएको दक्षिणतिरको प्यालेस्टाइन बेलायतको भागमा पर्यो।
फ्रान्सले सन् १९२० मा शासन चलाउन ग्रेटर लेबननको घोषणा गर्यो। तर दोस्रो विश्व युद्धमा हिटलरको नाजी जर्मनीले फ्रान्स कब्जा गरेपछि लेबननमा फ्रान्सको पकड कमजोर भयो र सन् १९४३ मा लेबनन स्वतन्त्र भयो।
द इकोनोमिस्ट पत्रिकाका अनुसार लेबनन स्वतन्त्र भएदेखि नै राजनीतिक शक्ति सुन्नी र शिया मुसलमान र इसाई समुदायबीच धर्मका अनुसार बाँडियो। कुनै पनि देशमा यसरी धर्मका आधारमा शक्ति बाँडिनु राम्रो हुँदैन।
स्वतन्त्र भएको केही वर्षमै दक्षिणको प्यालेस्टाइनमा भएको उथलपुथलले लेबननलाई झन् दुरगामी प्रभाव पार्यो।
दोस्रो विश्व युद्धमा हिटलरको नाजी जर्मनीले छानीछानी दसौं लाख यहुदीको अमानवीय र क्रुर हत्या गर्यो। यसपछि विश्व समुदायलाई यहुदीका लागि छुट्टै राज्य बनाइदिन नैतिक दबाव बढ्यो।
संयुक्त राष्ट्र संघको महासभाले सन् १९४७ नोभेम्बर २९ मा प्यालेस्टाइनमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने निर्णय गर्यो। दुवै पक्षले दाबी गरेको जेरूसलम र वरिपरिको क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गरिने भयो।
बेलायतले सन् १९४८ मे १४ मा प्यालेस्टाइनमाथिको दाबी छोडेपछि त्यसै दिन यहुदीको राज्य इसराइल घोषणा भयो। पहिल्यैदेखि त्यहाँ बसेका मात्रै नभएर संसारको कुनै पनि भागमा रहेका यहुदी त्यहाँ बस्न पाउने भए। अहिले पनि अरू देशमा रहेका यहुदीले नागरिकका रूपमा इसराइलमा बस्न पाउँछन्।
यो पनि:
इजरायल-प्यालेस्टाइन द्वन्द्वको नालीबेली
इसराइल देश बनाउने उक्त निर्णय प्यालेस्टाइनमा बस्ने मुसलमान र वरिपरिका मुस्लिम राष्ट्रले मानेनन्। घोषणा भएकै रात प्यालेस्टाइनका मुसलमान र जोर्डन, इजिप्ट, सिरियालगायत देशले इसराइलमाथि आक्रमण गरे। इसाई समेत सत्तामा रहेको लेबननले आधिकारिक रूपमा सेना पठाएर इसराइलसँग नलडे पनि उसको समर्थन प्यालेस्टाइनलाई नै रह्यो।
झन्डै दस महिनासम्म चलेको त्यो युद्ध इसराइलले जित्यो। आफ्नो भागमा परेको जमिन मात्रै नभएर प्यालेस्टिनीका लागि छुट्टयाएको भू-भागको पनि झन्डै ६० प्रतिशत हिस्सा कब्जा गर्यो। त्यहाँका लाखौं प्यालेस्टिनी छिमेकी देशमा शरण लिन वाध्य भए। केहीले लेबननमा पनि शरण लिए।
युद्ध इसराइलले जित्यो। तैपनि छिमेकी मुस्लिम देशले इसराइलको अस्तित्व स्वीकार गरेनन् र बल प्रयोग गरेर उसलाई विनाश गर्ने प्रयास गरिरहे। त्यसपछि पनि धेरैपटक मुस्लिम देश र इसराइलको युद्ध भयो र हरेक युद्ध इसराइलले जित्यो।
विभिन्न समयका यी युद्धपछि थप प्यालेस्टिनीले लेबनन लगायत छिमेकी देशमा शरण लिए।
निर्वासनमा रहेका प्यालेस्टिनीले पनि प्रवासबाटै यहुदीलाई आफ्नो भूमिबाट धपाउने संघर्ष सुरू गरे। विशेष गरी जोर्डन र लेबननमा आधारित सो आन्दोलनको नेतृत्व ६० को दशकदेखि प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ) ले लिएको थियो। बिस्तारै त्यो आन्दोलन हिंसात्मक हुँदै गयो।
आफ्नोमा रहेका प्यालेस्टिनीले गृहयुद्ध गरेर सत्ता हत्याउन खोजेपछि जोर्डनका राजा हुसेनले सन् १९७० मा पिएलओलाई लखेटे। त्यसपछि पिएलओले इसराइलविरूद्ध गर्ने आफ्नो सारा गतिविधि लेबननबाट गर्न थाल्यो।
उसै पनि लेबननमा धर्मका आधारमा गरिएको शक्ति बाँडफाँटका कारण भएको तनावमा हतियार सहितको पिएलओ प्रवेश भएपछि झन किचलो बढ्यो। विभिन्न समयमा शरण लिन आएका प्यालेस्टिनी थपिएपछि र मुसलमान समुदायको तुलनात्मक रूपमा उच्च जन्मदरका कारण लेबनन मुसलमान बहुल भयो। थोरै संख्यामा अरू विभिन्न धर्म-समुदायका मानिस भए पनि लेबननमा मुख्यतः झन्डै उस्तै उस्तै संख्यामा रहेका शिया, सुन्नी र इसाई बसोबास गर्छन्। शिया र सुन्नी दुवै मुसलमान भएकाले लेबनन मुसलमान बहुल भयो।
त्यसो त झन्डै बराबार संख्यामा रहेका शिया र सुन्नी मुसलमानबीच पनि धेरै घनिष्ठ सम्बन्ध थिएन। अरू देशमा पनि शिया र सुन्नी समुदायले एकअर्कालाई देखी सहँदैनन्। उनीहरूबीच धेरै ठाउँमा पटक पटक हिंसात्मक द्वन्द्व भएका छन्। सुन्नी मुसलमानको बाहुल्यता रहेको साउदी अरेबिया र इजिप्टजस्ता देशको सबभन्दा शक्तिशाली शिया बहुल इरानसँग दुश्मनी छ।
लेबननमा भने इसाईविरूद्ध शिया र सुन्नी मुसलमान मिले। प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने लगायत विषयमा मुसलमान र इसाईको तनावले सन् १९७५ मा त्यहाँ गृह युद्ध नै भयो। गृह युद्धमा छिमेकी मुस्लिम देशले मुसलमानको समर्थन गरे भने इसराइलले इसाईको। गृह युद्ध चलिरहँदा पनि पिएलओले लेबननबाट इसराइलमा समय समयमा प्रहार गरिरहेकाले सन् १९७८ र फेरि सन् १९८२ मा इसराइलले लेबननमा सेना पठाएर आक्रमण गर्यो।
सन् १९८२ मा इसराइलले दक्षिणी लेबनन र राजधानी बेरूतको केही भाग कब्जा गर्यो। यसपछि इरानले लेबननका शिया युवाहरूलाई इसराइलविरूद्ध लड्न तालिम दिन थाल्यो।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिमा शाह-पहलवी वंशलाई सत्ताच्यूत गरेर शिया कट्टरपन्थीले भर्खरै शासन गर्न थालेको इरानले त्यसपछि लेबननको गृह युद्धलाई विदेशमा प्रभाव बिस्तारको रूपमा लिन थाल्यो। इरानले हतियार र तालिम दिएको शिया युवाहरूको त्यही समूह हिजबुल्लाह अर्थात अल्लाहको दल बन्यो।
लेबननमा सन् १९७५ मा सुरू भएको गृह युद्ध १५ वर्ष चलेर सन् १९९० मा सकियो। पहिलेजस्तै फेरि पनि त्यहाँ धर्मका आधारमा शक्ति बाँडफाँट गरियो। जस अनुसार राष्ट्रपति जहिले पनि इसाई, प्रधानमन्त्री सुन्नी र सभामुख शिया समुदायबाट हुने नियम बस्यो।
संसद र मन्त्रिपरिषदमा अरू स-साना धर्म-समुदायले पनि हिस्सा पाउने भए। मन्त्रिपरिषदको निर्णय भने दुई-तिहाई बहुमतले अनुमोदन हुनुपर्ने भयो।
सन् १९९० मा गृह युद्ध सकिए पनि इरानले हिजबुल्लाहलाई हतियार दिन जारी राख्यो। पिएलओले हिंसा छोडेर इसराइलसँग शान्ति सम्झौता गरेर प्यालेस्टिनी नियन्त्रित क्षेत्रमा शासन गर्न गएपछि हिजबुल्लाह लेबननको सबभन्दा शक्तिशाली समूह भयो।
यसैबीच शक्ति आर्जन गर्दै गएको हिजबुल्लाहले पटक पटक हमला गरेर दिक्क भएको इसराइलले लेबननबाट सन् २००० मा सेना फिर्ता गर्यो। अमेरिकाले सन् २००३ मा इराकमा आक्रमण गरेर सद्दाम हुसेनलाई सत्ताच्युत गरेपछि इरान सो क्षेत्रमा एकाएक सबभन्दा शक्तिशाली मुस्लिम देश बन्यो। उसले हिजबुल्लाहलाई दिने हतियार र सैन्य सहायता झन् बढायो।
यसरी हौसिएको हिजबुल्लाहले सन् २००६ मा इसराइलभित्र पसेर केही इसराइली सैनिक मार्यो र केहीलाई अपहरण गरेर लेबनन लग्यो।
त्यसपछि इसराइलले लेबननमा सेना पठाएर आक्रमण गर्यो। धेरै सर्वसाधारण मारिए भने हिजबुल्लाहले पनि ठूलो क्षति बेहोर्यो। तर इसराइलले हिजबुल्लाहलाई निमिट्यान्न पार्न सकेन।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव १७०१ का आधारमा सो युद्ध रोकियो। सो सहमति अनुसार इसराइली सेना लेबननबाट फर्किए भने इसराइली सीमाबाट करिब २९ किलोमिटर उत्तरमा रहेको लिटानी नदी कटेर दक्षिणतिर हिजबुल्लाह लडाकू आउन नपाउने भए। सो 'बफर जोन' मा संयुक्त राष्ट्र संघको शान्ति सेना र लेबननको राष्ट्रिय सेनाले मात्रै हतियार राख्न पाउने भयो।
यसरी इसराइलले सन् २००६ मा नाश गर्न नसकेपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको साख इसराइललाई लडाइमा हराएझैं बढ्यो। लेबननमा हिजबुल्लाहको सैन्य शक्ति झन् बढ्यो र लेबननको राष्ट्रिय सेनाभन्दा धेरै शक्तिशाली भयो।
सैन्य शक्तिसँगै हिजबुल्लाहले बढेको हैसियत अनुसार राजनीतिक शक्ति आर्जन गर्न अरू समुदायमाथि नयाँ सहमति थोपर्यो। जसअनुसार मन्त्रिपरिषदमा उसको एक-तिहाई सदस्य निश्चित भयो। यस कारण उसले मन्त्रिपरिषदको निर्णयमा 'भिटो' लगाउन सक्ने भयो। मन्त्रिपरिषदले उसले नचाहेको केही पनि निर्णय गर्न नसक्ने भयो।
सन् २००६ पछि इरानले हिजबुल्लाहलाई झन् आधुनिक हतियारहरू दिन थाल्यो। त्यसपछि भने इसराइल र हिजबुल्लाहले युद्ध लडेका छैनन्। दुवैले छिटपुट रूपमा एकअर्कामाथि प्रहार गरे पनि दुई शक्तिबीच अघोषित सहमति जस्तो थियो।
इसराइलसँगको युद्धमा ठूलो क्षति बेहोरेको हिजबुल्लाह फेरि युद्ध नहोस् भनेर सचेत भयो। केहि इसराइली सैनिक अपहरण गरेको बदलामा इसराइलले सेना लेबननभित्र पठाएर युद्ध नै शुरू गर्छ भन्ने थाहा भएको भए त्यसो गर्दिनथें भनेर पछि नसरल्लाहले सार्वजनिकरूपमै भनेका थिए। त्यसैले इसराइली सर्वसाधारणलाई हिजबुल्लाहले कहिले पनि निशाना बनाएन। धेरै ठूलो मात्रामा सैन्य संरचनामा समेत प्रहार गरेन। इसराइलले पनि सन् २००६ मा हिजबुल्लाहलाई सिध्याउन नसकेको र ऊसँग झन् शक्तिशाली हतियार रहेकाले युद्ध निम्त्याउने गरी आक्रमण गरेन।
यसबीच लेबननमा विभिन्न समुदायको खिचातानीका कारण आर्थिक संकट चर्किँदै गयो। सन् २०२० अगस्ट ४ मा बेरूतको बन्दरगाहमा भएको विस्फोटले आर्थिक संकट झन् चर्कियो। लामो समयदेखि बन्दरगाहमा भण्डार गरेर करिब २७५० टन एमोनियम नाइट्रेट राखेको ठाउँमा आगलागी भएर विस्फोट हुँदा २१८ जनाको मृत्यु भयो। बेरूतका धेरै पूर्वाधार र संरचनामा क्षति पुग्यो।
कतिले हिजबुल्लाहले बम बनाउन एमोनियम नाइट्रेट भण्डार गरेर राखेको आरोप लगाएका छन्। तर हिजबुल्लाह लगायत सत्तामा रहेकाले आफ्नो लापरवाही देखिने भएकाले राम्ररी छानबिन हुन दिएका छैनन्।
लेबननको अर्थतन्त्र धराशायी भए पनि इसराइल र हिजबुल्लाहको अघोषित सहमति गत अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गर्दासम्म कायम थियो।
हमासले त्यत्रो ठूलो हमला गर्न लागेको योजना इसराइलले थाहा नपाउनुमा कतिले उसको सम्पूर्ण ध्यान हिजबुल्लाहमाथि हुनुलाई पनि मान्छन्। इरानको सहयोगमा आफै हतियार बनाउन सक्षम हिजबुल्लाहसँग त्यतिन्जेल आधुनिक र धेरै राम्रो निशाना लाग्ने मिसाइल भइसकेको मानिन्छ। ऊसँग करिब डेढ लाख रकेट र मिसाइल भएको मानिन्छ।
हिजबुल्लाहको तुलनामा हमास धेरै कमजोर भएकाले पनि इसराइलले हमासमाथि धेरै ध्यान नपुर्याएको मानिन्छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पछिल्लो समय यहुदी र प्यालेस्टिनीका लागि दुई छुट्टाछुट्टै राज्य बनाउने गरी इसराइल र पिएलओबीच सन् १९९३ र १९९५ मा भएको शान्ति सम्झौता भाँड्न पनि हमासको प्रयोग गरे। इसराइलको अस्तित्व नै स्वीकार नगर्ने आतंककारी समूह हमासले कट्टरपन्थी इसराइलीजस्तै दुई छुट्टाछुट्टै राज्य बनाउने सम्झौता अस्वीकार गरेको थियो। सो सम्झौतामा संलग्न पिएलओकै हिस्सा फताहले नेतृत्व गरेको प्यालेस्टिनी अथोरिटीले अहिले वेस्ट बैंकको प्रशासन चलाउँछ। गजामा शासन गर्ने इसराइलको अस्तित्व नै अस्वीकार गर्ने हमास र फताहबीचको कलहमा हमास बलियो भए दुई राज्यको योजना त्यत्तिकै तुहिने भएकाले नेतन्याहु हमासलाई बलियो बनाउन लागेका थिए।
तुलनात्मक रूपमा कमजोर हमासबाट इसराइललाई ठूलो खतरा नभएको ठानेर उनले घाँटीमा तरवार जसरी आधुनिक हतियारले सुसस्जित हिजबुल्लाहमा ध्यान केन्द्रित गरेका थिए।
गजामा हमास र लेबननमा हिजबुल्लाहसँग अहिले लडिरहेको इसराइलसँगको मुख्य झगडिया इरान हो।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानले इसराइल र अमेरिका विरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ।
यहाँनेर हामीले क बुझ्नुपर्छ भने हिजबुल्लाह शिया समुदायको समूह हो भने प्यालेस्टिनीहरू मुख्यतः सुन्नी हुन्। एकआपसमै लड्ने शिया र सुन्नी समूह इसराइलसँगको साझा शत्रुताका कारणले मात्रै सहकार्य गर्छन्। शिया बहुल देश भए पनि इसराइलसँग लड्न हतियार दिने भएकाले मात्रै सुन्नी हमासले इरानसँग सहकार्य गरेको हो।
सहकार्य गरे पनि हिजबुल्लाहले जस्तो इरानले भनेको हरेक कुरा हमासले मान्दैन। त्यसैले हमासले इरानलाई पूर्वजानकारी नदिइ अक्टोबर ७ मा इसराइलमाथि हमला गरेको मानिन्छ। त्यति बेला हमासका गजा प्रमुख याह्या सिन्वर र सैन्य कमान्डर मोहम्मद देइफले शीर्ष नेता इस्माइल हनियेलाई समेत जानकारी नदिइ सो हमला गरेको मानिन्छ। इसराइलले देइफ र हनियेको हत्या गरिसकेको छ। हनियेपछि हाल सिन्वर नै हमास प्रमुख हुन्।
आफूले इसराइलमा हमला गरेपछि लेबननबाट हिजबुल्लाह, यमनबाट हुथी र इराकमा विभिन्न समूहले पनि एकै पटक इसराइलमाथि आक्रमण गर्नेछन् भन्ने सिन्वरले आकलन गरेका हुन सक्छन्।
तर हिजबुल्लाहले सिन्वरले सोचेजस्तो साथ दिएन। हुथी समूह त अलिक पर छ र धेरै शक्तिशाली पनि छैन। हिजबुल्लाहसँग भने विश्वकै सबभन्दा शक्तिशाली गैरराष्ट्र सेना छ। हमासको समर्थनमा अक्टोबर ७ को भोलिपल्टैदेखि हिजबुल्लाहले रकेट प्रहार गर्न थाले पनि त्यसअघिको अघोषित सहमति पालना गर्यो। इसराइलले गजामा युद्ध नरोकिउन्जेल इसराइलमा लगातार प्रहार गरिरहने भने पनि शक्तिशाली र राम्रो निशाना भएका मिसाइल प्रयोग गरेन। सर्वसाधारणलाई निशाना पनि लगाएन। इसराइलले पनि छिटपुट हिजबुल्लाहका लडाकु मारे पनि अघोषित सहमति पालना गर्यो।
जुलाइ २७ मा हिजबुल्लाहको रकेट हमलामा 'भूलवश' इसराइलको गोलन हाइट्समा १२ केटाकेटीको ज्यान गएपछि मात्रै बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो।
शुक्रको हत्याको बदला लिन अगस्ट २५ मा हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको थियो। इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको भन्दै पहिलो चरणको बदला सफलतापूर्वक सकिएको हिजबुल्लाहले बताएको थियो।
उता इसराइलले हिजबुल्लाहले शुक्रको हत्याको बदला लिँदैछ भन्ने थाहा पाएर त्यो दिन बिहानै हिजबुल्लाहले भन्दा अगाडि नै लेबननमा हमला गरेको थियो। करिब सय लडाकू विमानले लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा आफूले हमला गरेको इसराइलले बताएको थियो। त्यति बेलासम्म पनि इसराइल हिजबुल्लाहसँगको तनाव थप बढाउन चाहँदैन थियो भन्ने मानिन्छ।
ढिलो चाँडो त्यत्रो हतियार भएको हिजबुल्लाहसँग लड्नैपर्ने भए पनि इसराइली सैनिक नेतृत्व अहिले हिजबुल्लाहसँग लड्न चाहँदैन थियो। गजामा पनि युद्धविराम गरेर थकाइ मार्ने र नयाँ योजना बनाउने उनीहरूको योजना भएको मानिन्छ।
अमेरिका लगायत पश्चिमा राष्ट्र र विभिन्न मुस्लिम राष्ट्रको मध्यस्थतामा इसराइल-हमासको युद्धविराम गराउन धेरै प्रयास भए। तर इसराइली प्रधानमन्त्री नेतन्याहु र सिन्वरका कारण युद्धविराम हुन सकेको छैन।
कट्टरपन्थीको समर्थनमा सत्तामा रहेका नेतन्याहुलाई युद्ध विराम भए प्रधानमन्त्रीको पद जाने र त्यसपछि भ्रष्टाचारको मुद्दामा जेल नै जाने खतरा छ। उता युद्ध विराम भए पनि अक्टोबर ७ को हमलाका लागि इसराइलले आफूलाई ढिलो-चाँडो मार्छ भन्ने सिन्वरले बुझेका छन्। सिन्वरले युद्ध विरामपछि पनि अहिलेको जस्तै सुरूङमै लुकेर बस्नुपर्ने हुन्छ। युद्ध चलिरहे इसराइलले झन् धेरै प्यालेस्टिनी सर्वसाधारणको हत्या गर्नेछ र अन्तर्राष्ट्रिय समुदायमा झन् एक्लिँदै जानेछ भन्ने पनि सिन्वरले बुझेका छन्। प्यालेस्टिनी सर्वसाधारणको ज्यानको उनलाई माया लाग्ने भए इसराइलले कस्तो जबाफ दिन्छ भनेर राम्ररी बुझेका उनले अक्टोबर ७ मा हमला नै गर्ने थिएनन्।
यसरी अहिले जारी गजा युद्धका मुख्य कर्ता नेतन्याहु र सिन्वर दुवैलाई युद्ध चलिरहँदा नै फाइदा छ।
हिजबुल्लाहसँग भने नेतन्याहुले सुलह गर्न खोजेको मानिन्छ। तर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले गजामा युद्ध बिराम नभइन्जेल रकेट आक्रमण जारी राख्ने बताएकाले इसराइल अहिले आक्रामक भएको मानिन्छ। यस अर्थमा सिन्वरको ढिपीका कारण हिजबुल्लाहले यत्रो वितण्डा भोग्नुपरेको हो।
अक्टोबर ७ पछि सारा शक्तिसहित इसराइलमाथि जाई नलागेको बदला सिन्वरले हिजबुल्लाहसँग अहिले युद्ध बिराम नगरेर लिइरहेको पनि मान्न सकिन्छ। अब नसरल्लाहसँग इसराइलको प्रहारबाट थप क्षति बेहोर्ने कि गजामा युद्ध बिराम नभए पनि इसराइलसँग सुलह गर्ने भन्ने विकल्प छ।
इसराइलले भने निरन्तर हिजबुल्लाहमाथि प्रहार गरिरहेको छ। मंगलबार हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए। इसराइली प्रधानमन्त्री नेतन्याहुले समेत हिजबुल्लाहको लगातारको हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित भएका इसराइली नागरिकलाई घर फर्किने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका छन्।
पेजर र वाकी-टकी विस्फोट गराएपछि हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस भएको छ। सञ्चार प्रणाली प्रयोग गर्न खतरा महसुस गरेर शुक्रबार बेरूतको एक घरमा बैठक गरिरहँदा मिसाइल आक्रमणमा परेर हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबी मारिएका थिए। इसराइलले हिजबुल्लाहभित्र व्यापक घुसपैठ गरेकाले बैठकहरू पनि सुरक्षित हुने छैनन्।
अकिल मारिएपछि सोमबारै हिजबुल्लाहको सबभन्दा ठूला सैन्य कमान्डर अलि कराकीमाथि पनि इसराइलले हमला गरेको थियो। सुरूमा लेबननी सञ्चार माध्यमले कराकी मारिएको जनाए पनि हिजबुल्लाहले पछि उनी जीवित र सुरक्षित रहेको बताएको थियो।
सोमबारको हमलामा इसराइलले धेरै आधुनिक मिसाइल, रकेट र रकेटलन्चर ध्वस्त पारेको दाबी गरेको छ। अझै पनि हतियार भण्डार गरेको ठाउँमा प्रहार गरिरहेको छ।
यस्तोमा सञ्चार प्रणाली र वरिष्ठ कमान्डरबिना चाहेर पनि हिजबुल्लाहले इसराइललाई धेरै कडा जबाफ दिन सक्दैन। आधुनिक र शक्तिशाली मिसाइल महँगा हुने भएकाले धेरै प्रयोग गर्न इरानले अनुमति पनि दिने छैन। हिजबुल्लाहले धेरै शक्तिशाली मिसाइल प्रहार गरेर अप्ठ्यारो पारे इसराइलले सोझै इरानमाथि पनि प्रहार गर्ने खतरा रहन्छ। इरानले उसै पनि आफूभन्दा बलियो इसराइलसँग युद्ध सुरू गर्न चाहँदैन। युद्ध सुरू गरे पनि अमेरिका इसराइलको पक्षमा आउँछ भन्ने इरानलाई थाहा छ। यसरी सुलह नगरे हिजबुल्लाहले लगातार क्षति बेहोरिरहनुपर्नेछ।
उता आर्थिक समस्याका कारण हिजबुल्लाहसँग समेत रिसाएका लेबननका सर्वसाधारणले भने गजाको सुरूङभित्र लुकेर बसेका हमास प्रमुख सिन्वरका कारण पीडा भोगिरहनुपर्नेछ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)