नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले खुमलटार भेटवार्तामा भएको कुराकानीबारे भ्रम फैलाएको जनाएको छ।
मंगलबार अध्यक्ष प्रचण्डलाई भेट्न मिश्र खुमलटार पुगेका थिए। भेटमा के-के कुराकानी भयो भन्नेबारे मिश्रले फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
उनले प्रचण्डसँग राजसंस्था पुनर्स्थापित नगर्ने हो भने मुलुक विस्फोटनको अवस्थातिर जाने धारणा राख्दा त्यसमा प्रचण्डले अर्थपूर्ण जवाफ दिएको बताए।
‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योग धन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन्,’ प्रचण्डका भनाइ भन्दै मिश्रले लेखेका थिए।
प्रचण्डको सचिवालयले भने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई मिश्रले आफ्नो स्वार्थ अनुकूलमा प्रयोग गरेर सस्तो राजनीतिक लोकप्रियतामा लागेको बताएको ।
‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ,’ प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’
सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे कोहि नेपाली पनि भ्रममा नरहेको जनाएको छ।
‘ तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?,’ वक्तव्यमा भनिएको छ।