नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
उनकाअनुसार दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि भएको छ।
साथै उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय कार्यसम्पादन समितिको बैठकले गरेको हो।