नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे मंगलबार मतदान हुँदैछ।
मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू हुने विघटित कमिटीका उपाध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले जानकारी दिए।
उमेर हदबारेको विवाद मंगलबार मतदानबाट टुंगो लगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने उनले बताए।
‘गएराति अबेरसम्म छलफल गरेर प्रतिनिधिबारेको विवाद टुंगो लगाएका छौं,’ मैनालीले सेतोपाटीसँग भने, ‘आज उमेरहदबारे र भोलि नेतृत्वमा चुनाव हुनेछ।’
गत १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा अधिकांश प्रतिनिधिहरूले विद्यार्थी संगठनमा उमेर हद लागू गर्नुपर्ने माग गरेका थिए।
त्यसैका आधारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि मतदानबाटै निर्णय गर्न निर्देशन दिएका थिए। तर सोमबार निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले सम्मेलनस्थलमै हुलदंगा गरेपछि सोमबार निर्वाचन प्रक्रिया अघि बढेन।
निर्वाचन प्रक्रिया लम्बिएसँगै सम्मेलनको अवधि पनि लम्बिने भएको छ। यसअघि मंगलबार सम्मेलन सक्ने तयारी क्रान्तिकारीको थियो।
अखिल (क्रान्तिकारी) मा २८, ३० वा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद छ।