प्रधानमन्त्री केपी शर्मा ओलीले यति धेरै जनधनको क्षति हुने गरी वर्षा होला भन्ने नलागेको बताएका छन्।
सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री ओलीले अचानक वर्षा आइपरेको र यति धेरै क्षति होला भन्ने कल्पना पनि नगरिएको बताएका हुन्।
‘अचानक आइपर्यो, हाम्रो तयारी यसप्रकारणको परिस्थितिका लागि थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘यसप्रकारको वर्षा होला र पहिरो जाला तथा क्षति होला भन्ने थिएन। यति धेरै भौतिक र मानवीय क्षति होला भन्ने अनुमान थिएन।’
गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाले करिब १७ अर्बको क्षति भएको सरकारको अनुमान छ। बाढीपहिरोमा परेर अहिलेसम्म २१९ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री ओलीले अहिले जनता पीडामा रहेकोले उद्धार, राहत र पुनर्स्थापनामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले विपदलाई राजनीतिक रङ नदिन पनि आग्रह गरेका छन्। सरकारले तीन दिन शोक मनाउने र आधा झन्डा झुकाउने निर्णय गरेको पनि उनले बताए।
उनले उद्धारका बेला कमीकमजोरी भएका पनि हुन सक्ने बताएका छन्।
‘कमीकमजोरी पनि भयो होला तर सरकारले उद्धार पनि गरेको छ। सुरक्षाकर्मीले चार हजार जनालाई उद्धार गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँ कमीकमजोरी भएका छन् भने सच्याउनुपर्छ।’
उनले विपत्ति ठूलो आइपरेकोले विगतमा भूकम्प जाँदाजस्तै सरकारको पूर्वतयारी पनि काम नलागेको बताए।
उनले क्षति भएका संरचनाहरू निर्माण गरिने पनि बताए। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुल, सडकलगायत संरचना निर्माण गर्ने उनको भनाइ छ।