नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नै कमजोरीका कारण सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री गुमाएको बताएका छन्।
सोमबार आफ्नो जन्म दिनको सन्दर्भमा फेसबुक लाइभमार्फत् उनले संघीय सरकारमा सहभागी हुनसमेत भुल भएको बताएका छन्।
उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको त्यही कारण मुख्यमन्त्री गुमेको बताएका हुन्।
‘धेरैले भने– सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्यो; तपाईंहरूका कमजोरीका कारण पाउनुभएन। हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौं। के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन? दुई भागमा पार्टीलाई विभाजन गर्ने; के रेशम र रञ्जिताको मात्रै अभिलासा थियो? होइन! होइन हामी केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टीको अभिष्टिच्छा, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौं,’ उनले भने।
उनले आफ्नो निजी चाहना सरकारमा सहभागी हुने नभएको बताएका छन्।
‘महाधिवेशनबाट निर्वाचित अध्यक्षमात्र होइन, यो पार्टीलाई वीजारोपण गर्नेदेखि हुर्काउनेसम्मको दायित्व, आर्थिक, सामाजिक, नैतिक, भौतिक सबै प्रकारको बोझ मैले बेहोरेको छु। मेरो निजी चाहना सरकारमा सहभागी हुने थिएन। सरकारमा सहभागी हुने म्यान्डेट नै हामीलाई जनताले दिएका छैनन्। यो हामी कुनै पनि जनप्रतिनिधिले भुल्नु हुँदैन। सरकारमा जाने हामीसँग मत पनि छैन। सरकारमा सहभागी हुने जनताको मनको म्यान्डेट पनि छैन,’ उनले भने।
तर पार्टीका जनप्रतिनिधिहरूको व्यग्र चाहनालाई कहिलेकाहीँ बाध्यतावश स्वीकार गर्नुपरेको उनले बताए।
‘मैले हाम्रो जनप्रतिनिधिहरूको चाहनालाई स्वीकार गर्दै अन्ततः हामी सुदूरपश्चिम लगायत संघको सरकारमा सहभागी भयौं। कत्ति गर्यौं, गर्न सकेनौं; प्रदेश सरकारमा हामीले कत्ति गर्न खोज्यौं, गर्यौं पनि,’ उनले भने।
संघको सरकारमा भने असफल नै रहेको उनको स्वीकारोक्ति थियो।
‘हामीले स्वर्गद्वारी गुठीलाई न्यायोचित गरिकाले न्याय दिन सकेनौं। मुक्त कमैयालाई लालपुर्जा वितरण गर्न सकेनौं। तर के यो हामीबाट मात्रै सम्भव थियो त? थिएन। पटकपटक राज्य सञ्चालक समक्ष मैले मेरो तर्फबाट असन्तुष्टि व्यक्त गरेकै हो। अब भूमि आयोगको अध्यक्ष माओवादीको, गुठी संस्थानको प्रशासकीय अधिकृत एमालेको, सबै प्रकारको घेराबन्दीमा परेपछि हामीले काम गर्न नसकेकै हो,’ उनले भने।
दोस्रो संस्करणमा पार्टी सरकारमा सहभागी हुनुहुँदैन भन्दा ठूलो तरंग पैदा भएको उनले बताए। नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ रिसाएको खबर छताछुल्ल भएको पनि उनले बताए।
‘म मेरो मुद्दामा घोडाले टाप लगाएजत्तिको खडा थिएँ। राज्य सञ्चालनका कतिपय विषय रञ्जितालाई थाहा होला, रञ्जिता अन्जान छिन्। तर धेरै कुरा बुझेकी पनि छिन्। हो, त्यतिबेला सरकारमा सहभागी हुनु भुल थियो। त्यो हामीले अहिले स्वीकार ग¥यौं,’ उनले भने।