नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरूङले ललितपुरको मितेरी सहकारीको ऋण भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले तिरिदिएको स्वीकार गरेका छन्।
सेतोपाटीसँगको कुराकानीमा उनले मीनबहादुरले मितेरी सहकारीमा चेकमार्फत् रकम भुक्तानी दिएको स्वीकार गरे।
‘वकिल राखेर कागज गरेर ९१ लाख रुपैयाँ रकम ऋण लिएको हो,’ धनराजले भने, ‘कागज मीनबहादुरसँगै छ। १० प्रतिशत ब्याजमा रकम लिएको हुँ।’
व्यवसायी मीनबहादुर गुरूङ आफन्तमा दाइ नाता पर्ने भएकाले उनीसँग दश प्रतिशत ब्याजमा व्यक्तिगत ऋण लिएको धनराजले दाबी गरे। यद्यपि कसरी मीनबहादुर तपाईंको आफन्त पर्नुभयो भन्ने प्रश्नमा स्पष्ट जबाफ दिएनन्।
'गुरूङको देशभर ठूलो सञ्जाल हुन्छ,’ धनराजले भने, 'मामा चेला, फुपू चेला सबै चल्छ। मैले आफन्तसँग कागज गरेर लिएको छु।'
धनराज र उनकी श्रीमती ज्योति गुरूङले ललितपुरको मितेरी सहकारीबाट ऋण लिएका थिए। ऋण लिँदा धनराजकी श्रीमती ज्योति मितेरी सहकारीको व्यवस्थापक थिइन्। व्यवस्थापक भएकै बेला ज्योति गुरूङले ललितपुरको मितेरी सहकारीबाट ठूलो रकम अनियमितता गरेको आरोप छ। उनीमाथि सहकारीले १४ करोड ९१ लाख रुपैयाँ रकम अपचलनको आरोप लगाएको छ।
धनराज र ज्योतिको २०७६ सालमा डिभोर्स भइसकेको छ। रकम अपचलनको आरोप लागेकी ज्योति फरार छिन्।
धनराज र ज्योतिको डिभोर्स भए पनि उनीहरूले मितेरी सहकारीबाट लिएको ऋण तिर्न बाँकी थियो।
२०७६ सालमै डिभोर्स भए पनि त्यसको ५ वर्षपछि धनराजले २०८१ सालको जेठमा मितेरी सहकारीको ऋण चुक्ता गरेका थिए। त्यसअघि २०८० वैशाख २० गते धनराज गुरूङ कानुन मन्त्री भएका थिए। उनी कानुन मन्त्री भएको दुई महिनापछि मीनबहादुर गुरूङ २०८० असार १२ गते ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए। उनी २०८० भदौ २४ गते २ करोड ४६ लाख धरौटीमा रिहा भएका थिए। बालुवाटारको ललिता निवासको जग्गा अपचलनमा मुछिएका मीनबहादुर अझै पनि उक्त मुद्दा खेपिरहेका छन्। मुद्दा अदालतमा विचाराधीन छ।
धनराज गुरूङ २०८० को फागुनसम्म कानुन मन्त्री थिए। उनी मन्त्रीबाट बाहिरिएको ३ महिनापछि उनको नामको ऋण मीनबहादुरले तिरिदिएका हुन्।
‘ऋण तिर्ने बेला म मन्त्रीबाट निस्किसकेको थिएँ। मीनबहादुरले चोरेर, मागेर, अनुदान देऊ, दान देऊ भनेको होइन, बकाइदा उहाँले वकिल बोलाएर कागज गरेर सहीछाप गराएर दिनुभएको छ,’ धनराजले भने, ‘यसरी कोही मान्छेसँग ऋण नै लिन नपाउने भन्ने त हुँदैन होला नि।’
सहकारीले पत्रिकामा ऋण नतिरेको भनेर सूचना निकाल्छु भनेपछि मीनबहादुरसँग ऋण लिएको बताए। उनले आफूले मीनबहादुरलाई ‘लाभ पुर्याउने’ कुनै काम नगरेको दाबी गरे।
उनले मीनबहादुरको तर्फबाट मितेरी सहकारीमा ऋण तिरिएको तर आफूसँग गरिएको कागजमा चेक नम्बरहरू उल्लेख रहेको बताए। उनले आफूले नै मीनबहादुरलाई रकम तिर्दा चेकबाट तिरिदिन आग्रह गरेको समेत दाबी गरे।
डिभोर्स भइसकेपछि पनि श्रीमतीको ऋण किन तिरेको भन्ने प्रश्नमा ‘ऋणमा जमानी बसेका कारण’ तिर्नुपरेको उनले बताए।
उनले श्रीमती ज्योतिमाथि लागेको रकम अपचलनको दायित्व आफूलाई नआउने दाबी गरे।
‘फौजदारी कसुरको दायित्व हस्तान्तरण हुँदैन,’ उनले प्रश्न गरे, ‘धनराज गुरूङलाई कसरी हस्तान्तरण हुन्छ?’
धनराजले श्रीमतीसँग डिभोर्स भएको उल्लेख गर्दै अपचलनमा आफू संलग्न नरहेको संसदमा समेत बताएका थिए। तर सहकारीको बचत रकम अपचलनका सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिका सभापति सूर्य थापाले सेतोपाटीसँग अपचलन थाहा भएपछि धनराजले श्रीमतीसँग डिभोर्स गरेको उल्लेख गर्दै त्यसलाई 'सहकारी डिभोर्स' भनेका छन्।
धनराजले डिभोर्स २०७६ सालमा गरेको भए पनि २०७७ सालमा मितेरी सहकारीमा ऋण लिँदा श्रीमतीलाई जमानी राखेको कागजमा देखिन्छ। तर उनले यसरी जमानीमा श्रीमतीको नाम राख्ने काम सहकारीले गरेको सेतोपाटीलाई बताए।
'मैले पुरानो ऋण फाइलमा नै १२ लाख थप ऋण लिएको हुँ। माथि अक्षरूपी १२ लाख लेख्नु अरू केही लेख्नु पर्दैन भनेको थिएँ। मैले सही गरेर १२ लाख रुपैयाँ लिएको हुँ। तर डिभोर्स भइसकेको श्रीमतीको नाम सहकारीले फारम भर्दाखेरी लेखेका हुन्,' धनराजले भने, 'मैले फारम भरेर श्रीमतीको नाम लेखेको भए त उहाँहरूले डिभोर्स भएको मान्छेले कसरी तिर्छ भनेर भन्नुपर्थ्यो। उल्टै १२ लाख बुझेपछि फारम भर्दा हकवालामा पूर्व-श्रीमतीको नाम राख्न मिल्छ? त्यो उनीहरूले गरेको गल्ती हो। मेरो सही गरेको अक्षर र माथिको अक्षर हेर्दा भइहाल्छ।'
धनराजले आफू सोझो भएकाले लखेटाइमा परेको दाबी गरे। पूर्वमन्त्री एवम् सांसदले ललिता निवास जग्गा प्रकरणमा जोडिएको व्यक्तिसँग ऋण लिनु स्वार्थ्य बाझिने काम हुँदैन भन्ने प्रश्नमा धनराजले प्रतिप्रश्न गरे - 'त्यसो भए ललिता निवासमा जोडिएको मान्छे सिधै किन मन्त्री भए त? कोही न्यायाधीश पनि होलान्!'
धनराजले व्यवसायी मीनबहादुरमाथि लागेको मुद्दा उनी आफैले खेप्ने बताए।